
News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुर जिल्ला प्रशासन कार्यालयले १८ असोजदेखि हेटौंडा-काठमाडौं जोड्ने छोटोमार्गमा राति सवारी आवागमन अनिश्चितकालीन रोक लगाएको छ।
- राति ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी रोक लगाइएको छ भने अत्यावश्यक सेवाका सवारीलाई भने सञ्चालनमा रोक लगाइएको छैन।
- फाखेल-चखेल-चन्द्रागिरी र कुलेखानी-चित्लाङ-थानकोट वैकल्पिक सडक खण्डहरू पहिरो जोखिममा रहेका छन् र कान्तिलोकपथ सडक अवरुद्ध छ।
२०असोज, हेटौंडा। हेटौडा र काठमाडौं जोड्ने छोटोमार्गमा राति सवारी चलाउन अनिश्चितकालीन रोक लगाइएको छ ।
निरन्तर वर्षा भएपछि विपद जोखिमका कारण १८असोजमा हेटौंडाडा-काठमाडौं जोड्ने सबै सडकमा सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सोमबार छोटोमार्गबाट मात्रै राति सवारी आवागमनमा रोक लगाएको हो।
प्रशासनले १७ र १८ गतेको वर्षाका कारण सुधार हुँदै गएको मौसम र सडकसमेतको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि आज साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाउने निर्णय गरेको प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिए ।
अत्यावश्यक सेवाका सवारीसाधनलाई भने सञ्चालनमा रोक लगाईएको छैन। हेटौंडाडा-काठमाडौं जोड्ने छोटोमार्गअन्तर्गत भैंसे-कुलेखानी-फाखेल-दक्षिणकाली-बल्खु र भैंसे-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-बल्खु खण्ड पर्दछन्। यो सडक खण्डबाट काठमाडौं पुग्न अन्य वैकल्पिक मार्गहरू पनि रहेका छन् ।
यस्तै फाखेल-चखेल-चन्द्रागिरी-मातातिर्थ-संतुङ्गल खण्ड र कुलेखानी-चित्लाङ-थानकोटको गणेशमान मार्ग छोटो मार्ग हुँदै पुग्न सकिने वैकल्पिक सडक खण्डहरू हुन । यी सबै सडक पहिरोको उच्च जोखिममा रहेका छन्। बागमती प्रदेश सरकारले छोटोमार्ग स्तरीकरण गरेपनि पहिरोको जोखिम भने यथावत नै रहेको छ ।
यसैगरी, छोटोमार्गबाहेक हेटौंडाडा र काठमाडौंलाई जोड्न मुख्य दुई वटा सडकहरू पनि छन्। देशकै पुरानो हेटौंडाडा-नोबिसे खण्डको त्रिभुवन राजपथ, ललितपुरको सातदोबाटो जोडिने कान्तिलोकपथ सडक हुन्।
वर्षाका कारण सामान्य अवरोध हटाएपछि त्रिभुवनराजपथ सुचारू रहेको छ भने कान्तिलोकपथ बकैया गाउँपालिका-११ सिमात घुम्तीमा पहिरो जाँदा अवरुद्ध रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। सिमात घुम्तीको पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।
त्रिभुवन राजपथ बाहेकका सडकबाट हेटौंडाडा-काठमाडौं आवतजावतमा दैनिक १ हजारभन्दा माथि साना सवारीसाधन सञ्चालन हुने गरेका छन् । मधेश प्रदेशको बारा, पर्सा, रौतहट र सर्लाहीसम्मका यात्रुहरू नियमित छोटोमार्ग हुँदै आवतजावत गरिरहेका छन्।
प्रतिक्रिया 4