
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १७ र १८ असोजको अविरल वर्षाका कारण अवरुद्ध हेटौंडा-काठमाडौं सडक २४ घण्टाभित्रै खुलाएको छ।
- मन्त्रालयको क्विक रेस्पोन्स टिमले फाखेल र सिस्नेरी खण्डमा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार विकास निर्देशक नवीनकुमार सिंहले जानकारी दिए।
- मन्त्री डा. दिनेशचन्द्र देवकोटाले भने, 'दशैं मनाएर फर्कने यात्रुहरूलाई कुनै असुविधा नहोस् भनेर हामीले द्रुत गतिमा काम गर्यौं ।'
२० असोज, हेटौंडा। १७ र १८ असोजको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले अवरुद्ध हेटौंडा-काठमाडौं जोड्ने सडक खुलाउन बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सक्रियता देखाएको छ ।
मन्त्रालयको विपद् प्रतिकार्य टोली ‘क्विक रेस्पोन्स टिम’ को पहलमा फाखेल र सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाई यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।
१७ असोज साँझदेखि सुरु भएको वर्षाका कारण विपद्को उच्च जोखिममा मकवानपुर परेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मकवानपुरले १८ असोजमा अत्यावश्यक बाहेकका सवारी साधनलाई तीन दिनसम्म काठमाडौं प्रवेशमा रोक लगाउने सूचना जारी गरेका थिए ।
प्रशासनले त्रिभुवन राजपथ, कान्ति लोकपथ तथा फाखेल र सिस्नेरीका वैकल्पिक मार्गहरूमा सवारी सञ्चालनमा रोक लगाएको थियो ।
प्रशासनले जोखिमयुक्त सडक बन्द गरेको केही घण्टामै शनिबार दिउँसो १ बजे इन्द्रसरोवर गाउँपालिका-४ स्थित महालक्ष्मी खोलामा लेदो पहिरोले फाखेल-काठमाडौं सडकखण्ड अवरुद्ध बनायो ।
त्यस्तै, शनिबार दिउँसो साढे ३ बजे इन्द्रसरोवर-३ सिस्नेरी बजारस्थित खोलामा आएको बाढीले सडक कटान गरेपछि सिस्नेरी हुँदै काठमाडौं जाने बाटो बन्द भएको थियो । गत वर्ष १२ असोजको बाढीले सिस्नेरी बजारको तल्लोतर्फको बस्ती र सडक बगाएको थियो । त्यहाँ अस्थायी सडक बनाइएको थियो ।
बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि हेटौंडा र काठमाडौंको सम्पर्क टुट्न पुगेकाले बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले अवरोध हटाएर तत्काल सडक खुलाउन निर्देशन दिएका थिए ।
मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीनकुमार सिंह नेतृत्वको ‘क्विक रेस्पोन्स टिम’ ले स्थानीय प्रशासनसँग समन्वय गरी तत्कालै सक्रियता देखाउँदै फाखेल सडकखण्ड ३ घण्टाभित्रै अर्थात् साँझ ४ बजे, पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको थियो ।
सिस्नेरी खण्डमा भने वर्षा रोकिएलगत्तै स्काभेटरसहित सुरक्षाकर्मीको टोली परिचालन गरी उक्त अवरोध आज बिहानदेखि पूर्ण रूपमा हटाइएको छ र सडक सञ्चालनमा आएको यातायात निर्देशनालयका निर्देशक सिंहले जानकारी दिए ।
निर्देशक सिंहका अनुसार सवारी आवागमनमा रोक लगाएको भए पनि केही आकस्मिक अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने १०३ नागरिक तथा पर्यटकहरू सवार १५ वटा सवारी साधनलाई ठाउँठाउँमा पहिरो पन्छाउँदै १८ असोज राति महालक्ष्मी खोलाको पहिरो कटाएर काठमाडौं पठाइएको थियो । १९ गते बिहानै पनि अत्यावश्यक भनी पहिचान भएका सवारी साधनहरूलाई नियन्त्रित रूपमा सडक प्रयोग गर्न दिइएको थियो ।
मन्त्री डा. दिनेशचन्द्र देवकोटाले सडक सुचारु भएपछि प्रतिक्रिया दिँदै भने, ‘दशैं मनाएर फर्कने यात्रुहरूलाई कुनै असुविधा नहोस् भनेर हामीले द्रुत गतिमा काम गर्यौं । अहिले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकेका छौं ।’
आगामी दिनमा पनि सम्भावित अवरोधहरूलाई तत्काल सम्बोधन गर्न चार प्रमुख स्थानमा उपकरणसहितको टोलीलाई ‘स्ट्यान्डबाई’ राखेको उनले बताए ।
चार स्थानमा उपकरणसहितको टोली तैनाथ
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार बाढी पहिरोका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै चार स्थानमा जेसीबी, स्काभेटर लगायतका उपकरणसहित टोली ‘स्ट्यान्डबाई’ राखिएको थियो । पूर्वतयारी राम्रो हुँदा सडक अवरोध हटाउन सम्भव भएको सचिव मरहठ्ठाले जानकारी दिए ।
उनले भने, ‘सिस्नेरी क्षेत्रमा खसेको पहिरो र चार विभिन्न स्थानमा कल्भर्टहरू जाम भएर यातायात प्रभावित बनेको थियो । हिजोबाट सुरु गरिएको अवरोध हटाउने कार्य आज बिहानसम्ममा सम्पन्न भएको छ ।’
उनका अनुसार सम्भावित थप अवरोधलाई ध्यानमा राख्दै कुलेखानी-फाखेल, कुलेखानी-सिस्नेरी-दक्षिणकाली, मातातीर्थ र भैंसे-भीमफेदी खण्ड गरी चार रणनीतिक स्थानमा आवश्यक उपकरणसहितको ‘क्विक रेस्पोन्स टिम’ लाई ‘स्ट्यान्डबाई’ राखिएको छ । कुनै पनि स्थानमा नयाँ पहिरो वा अवरोध सिर्जना भएमा तत्कालै परिचालन हुनेगरी तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।
विशेषगरी हेटौंडा-कुलेखानी-फाखेल र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने प्रमुख वैकल्पिक मार्ग हुन् । यी सडकको मर्मत सम्भार तथा स्तरोन्नतिमा बागमती प्रदेश सरकारले वार्षिक रूपमा लगानी गर्दै आएको छ । सडक सञ्चालनमा आएसँगै दशैंमा काठमाडौं जाने सवारीको चाप बढेको छ ।
काठमाडौं प्रवेश गर्ने देशकै पुरानो त्रिभुवन राजमार्ग र कुलेखानी-फाखेल-दक्षिणकाली-बल्खु खण्ड पूर्ण रूपमा सञ्चालनमा छ । उता कान्ति लोकपथमा वर्षाले अवरोध नगरे आजै साँझबाट सञ्चालनमा आउने बताइएको छ । तर स्थानीय प्रशासनले आजैदेखि अर्को सूचना जारी नभएसम्मका लागि बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ ।
प्रतिक्रिया 4