
२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा उभिएको छ ।
यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरित गर्दा नै चुनावको पक्षमा उभिने निर्णय भएको हो ।
तथापि, अझै चुनाव हुने वा नहुने भन्ने अन्योल राजनीतिकदलहरू र आम नागरिकमा समेत छ । यो विषयमा सोमबार बसको माओवादी केन्द्रको सचिवालय बैठकमा समेत भयो ।
दिउँसो १ बजे बस्ने भनिएको बैठक ढिलो गरी पौने दुई बजेतिर सुरु भएको थियो । साढे तीन बजेसम्म करिब पौने दुई घण्टा चलको बैठकमा मुख्यत: चार वटा विषयमा छलफल भएको थियो ।
पहिलो : वर्षापछिको विपद् र व्यवस्थापनमा पार्टीको भूमिका ।
दोस्रो : पार्टीको विशेष महाधिवेशन ।
तेस्रो : आगामी फागुन २१ गतेको चुनावको तयारी ।
चौथो : पार्टी एकता ।
बैठकको सुरुमा प्रदेश अध्यक्षहरूले गत शनिबार अविरल वर्षासँगै आएको बढी र पहिरोबारे ब्रिफिङ गरेका थिए । पार्टीका नेता/कार्यकर्ता विपद् व्यवस्थापनमा सक्रिय रहेको बताए । प्रदेश अध्यक्षहरूले समसामयिक विषयमा समेत प्रष्टता आवश्यक रहेको बताए ।
त्यसपछि प्रचण्डले सम्बोधन गरे । चार वटै विषयमा प्रचण्डले सिलसिलेबार ब्रिफिङ गरे । विपद् व्यवस्थापनका लागि पार्टीका सबैस्तरका पार्टी कार्यालयमा हेल्प डेस्क नै राखेर काम गर्ने गरी निर्देशन भइसकेको उल्लेख गर्दै प्रचण्डले सोही अनुसार जानुपर्नेमा जोड दिए ।
पार्टीको विशेष महाधिवेशनका सन्दर्भमा आफूले एउटा खाका केन्द्रीय समितिमा नै प्रस्तुत गरेको बताएका प्रचण्डले महाधिवेशनमा छनोट भएर आउने प्रतिनिधिहरूका सन्दर्भमा थप छलफल गरेर अर्को बैठकमा ठोस निर्णय लिने बताए । यो सँगै सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनको मिति तोक्न सकेन । आगामी मंसिरको चौथो सातासम्म विशेष महाधिवेशन गर्ने निर्णय भइसकेको छ । तर, कति गते भन्ने तय भएको छैन ।
बरु अध्यक्ष प्रचण्डले अन्य पार्टीहरूसँग एकताको विषय र आगामी फागुन २१ गतेका लागि तय भएको चुनावको सन्दर्भमा अलिक लामै ब्रिफिङ गरेका छन् ।
माओवादी नेता देवेन्द्र दाहालका अनुसार प्रचण्डले नेकपा एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि सकारात्मक वार्ता भइराखेको बताएका छन् । यो विषयमा केही न केही रिजल्ट आउने भन्दै प्रचण्डले यसकारण पनि महाधिवेशनको मिति तोक्ने विषयमा केही दिन गृहकार्य आवश्यक रहेको तर्क गरेका छन् ।
नेताहरूका अनुसार सोमबार सचिवालय बैठकमा प्रचण्डले धेरै समय आगामी फागुन २१ गतेका लागि तय भएको चुनावको विषयमा धारणा राखे । माओवादीको काँधमा मुलुकलाई चुनावमा लैजाने वातावरण बनाउने जिम्मेवारी आएको प्रचण्डको ब्रिफिङ छ ।
बैठकपछि पनि प्रचण्डले यही भनेका थिए ।
‘घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो’ प्रचण्डले पत्रकारहरूसँग भने, ‘हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ ।’
प्रचण्डका अनुसार चुनावमा सहभागी हुने बारे अरू दलहरूसँग पनि संवाद भइरहेको छ, ‘अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ ।,’
भित्र बैठकमा पनि प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले सहितका दलहरूलाई चुनावमा जाने वातावरण बनाउन भूमिका खेल्नुको विकल्प नरहेको बताएका छन् ।
कांग्रेस र एमालेका नेताहरू प्रतिनिधि सभा पुर्नस्थापनाको माग लिएर सर्वोच्च अदालत जानेबारे छलफलमा छन् । दलहरू आफैँ जाने कि, सभामुखलाई अगाडि लगाउने कि अन्य व्यक्तिमार्फत संसद् पुर्नस्थापनाको माग लिएर सर्वोच्च अदालत जानेबारे भइरहेको छलफलबारे आफू जानकार रहेको प्रचण्ड ब्रिफिङ गरेका छन् ।
‘दलहरू आफैँ नगएर कसैलाई मुद्दा हाल्न लगाउनेसम्मको कुरा त केही भन्ने कुरा भएन । तर, दलहरू नै पुर्नस्थापनाको लागि जोड गर्ने वातावरण बन्यो भने त्यसले मुलुकको दीर्घकालीन हित नगर्न सक्छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सचिालय सदस्यले भने ।
उनका अनुसार हर हालतमा तोकिएकै समयमा चुनाव हुनुपर्ने र त्यस्तो वातावरण बनाउने सिंगो पार्टी लाग्नुपर्ने प्रचण्डको आग्रह छ ।
माओवादी नेता अग्निप्रसाद सापकोटाले पनि प्रचण्डले समाजवादी चुनाव, मोर्चा विस्तार र केही पार्टीसँग एकताबारे ब्रिफिङ गरेको जानकारी दिए । सापकोटाका अनुसार यही असोज २३ गते फेरि सचिवालयको बैठक बस्छ । त्यहाँ पनि समाजवादी मोर्चालाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ ।
सापकोटाका अनुसार निर्वाचनमा जाने कुरामा सबै राजनीतिक दलहरू सहमत हुनुपर्ने र यसका लागि पार्टीले वातावरण बनाउने सन्दर्भमा भूमिका खेल्नुपर्ने प्रचण्डको ब्रिफिङ छ ।
सापकोटाले भनेका छन्, ‘निर्वाचन बारे नेपाली कांग्रेस, नेकपा एमालेको केन्द्रीय समितिको बैठबाट पनि ती दलहरूले आफ्नो धारणा स्पष्ट राख्नेछन् ।,’ दुवै दलले धारणा सार्वजनिक गर्नु अगाडि चुनावको पक्षमा उभिने वातावरण बनाउनुपर्ने प्रचण्डको ब्रिफिङ छ ।
नेता देवेन्द्र पौडेल पनि प्रचण्डले निर्वाचनलाई सफल पार्न संसदमा भएका सबै राजनीतिक दलहरुसँग छलफल आवश्यक रहेको प्रचण्डको ब्रिफिङ रहेको बताएका छन् ।
तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड रहेको उल्लेख गर्दै पौडेलले प्रचण्डको भनाइ उद्धृत गर्दै अनलाइनखबरसँग भनेका छन्, ‘चुनावको विकल्प भनेको प्रतिनिधि सभा विघटन हो । त्यतातिर लागियो र चुनाव भएन भने मुलुक झन् अस्थिर हुन्छ ।’
अर्का नेताका अनुसार नेपालमा नियन्त्रित अस्थिरता चाहनेहरूबाट मुलुकलाई बचाउन पनि तोकिएकै समयमा चुनाव हुनुपर्ने प्रचण्डको ब्रिफिङ छ ।
उनका अनुसार प्रचण्डले भनेका छन्, ‘एक कोणबाट संविधान समातेर नै सरकार बनेको छ । तोकिएको समयमा चुनाव भएन भने यो सरकार सफल/असफल भन्ने तिर कोर्स जान सक्छ । त्यस्तोमा चलखेल गर्नेहरू थप बलिया हुन्छन् र नियन्त्रित अस्थिरता चाहनेले फेरि जित्ने र मुलुकले थप दु:ख पाउने अवस्था बन्न सक्छ ।’
ती नेताको भनाइमा आगामी चुनाव समयमा नहुँदा आउन सक्ने अवस्थाबारे लामै ब्रिफिङ गरेका प्रचण्डले संसद् पुर्नस्थापनातिर लागे झन अस्थिरता हुने निष्कर्ष सुनाएर सोही अनुसारको भूमिका खेल्ने नै पार्टीको वर्तमान नीति रहेको प्रष्ट सन्देश दिएका छन् ।
प्रतिक्रिया 4