+
+
Shares

काभ्रेका चार स्थानीय तहमा सडक र विद्युत् सेवा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते ८:४१

२१ असोज, काभ्रेपलाञ्चोक । गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

ती गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा आजवजावतमा कठिनाइ भएको छ ।

जिल्लाको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने सडक पहिरोले अवरुद्ध भएका छन् । केही गाउँपालिकाले भने सोमबारदेखि आवश्यक उपकरणसहित सडक खुलाउन थालेका छन् ।

बाढीपहिरोले अति विकट महाभारत पर्वत श्रृङ्खलापारी (डाँडापारी) का दुई गाउँपालिका जाने सडक पूर्णरुपमा बन्द छन् । विशेषगरी त्यस क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारत जाने सडक खुल्न हप्ता दिन जति लाग्नसक्ने स्थानीय जनप्रतिनिधिहरुले जनाएका छन् ।

महाभारतमा सडक, विद्युत् र सञ्चार–सम्पर्कबाट विच्छेद भएको छ । सडक अवरुद्ध भएका कारण महाभारत जाने कुनै वैकल्पिक सडक नभएको अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार गाउँपालिका कार्यालय जाने मुख्य सडकसहित विभिन्न वडामा जाने सबै सडक विभिन्न ठाउँमा अवरुद्ध भएको छ । ‘यी सबै क्षतिग्रस्त सडक बनाउन हप्ता दिनभन्दा बढी लाग्न सक्छ, विद्युत् सेवा पनि अवरुद्ध भएकाले दुवै सेवालाई कसरी सुरु गर्ने भन्ने तत्कालै योजना बनाइरहेका छौं’, जिम्बाले भने । उनका अनुसार मुख्य बिपी राजमार्गसँग जोडिएका चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाडाँखर्क र पिप्ले–भीमखोरी खण्डका सडक सबै अवरुद्ध छन् ।

यस्तै डाँडापारी अवस्थित गाउँपालिका खानीखोला जाने सबै सडक अवरुद्ध भएकाले मर्मत गरी खुलाउन केही समय लाग्ने अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार सोमबारदेखि सडक खुलाउन मेसिन प्रयोग भइसकेको छ । ‘सडक अवरुद्ध भएकाले इन्धन व्यवस्थापनमा समस्या भएको छ, हामी प्रयास गर्दैछौं’, थिङले भने । एक–दुई दिनमै विद्युत् सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति खटाएको उनले जानकारी दिए ।

रोशीको सडकअन्तर्गत बिपी विभिन्न स्थानमा अस्थायी डाइभर्सन कटान गरेपछि विभिन्न वडा जाने सडक अवरुद्ध छ । चौकीडाँडा र घुमाउनेमा सडक बनेपछि मात्र गाउँपालिका केन्द्र सडक सञ्जालसँग जोडिने अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार रोशीमा विद्युत् सेवा आंशिक रुपमा अबवरुद्ध भएकाले तत्काल पूर्णरुपमा सेवा नियमित गर्ने प्रयास भइरहेको छ ।

यसैगरी बेथानचोकमा अबरुद्ध सडक खुलाउन आइतबारदेखि जनप्रतिनिधिहरु सक्रिय भएका छन् । अबरुद्ध मुख्य सडकलाई खुलाउन प्राथमिकता दिइएको जनाइएको छ । गाउँपालिका कार्यालयबाट अन्य वडा जोडिने सडकलाई खुलाउन आवश्यक मेसिनहरु प्रयोग भइरहेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए । जिल्लामा बाढीपहिरोले दुईको मृत्यु भएको छ भने पूर्वाधारका क्षेत्रलगायत निजी भौतिक संरचनामा निकै ठूलो क्षति भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?