+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

महेश्वर दाहाल बागी उठ्दा नेकपा सिन्धुलीमा हलचल

२०७० र २०७४ सालमा सिन्धुलीबाट प्रतिनिधिसभामा उम्मेदवार बनेर मन्त्रीसमेत भइसकेका हरिबोल गजुरेलले आफ्नै पार्टीविरुद्ध उभिएका महेश्वर दाहालको प्रस्तावक बनेर उम्मेदवारी दर्ता गराएका छन् ।

कपिल कोइराला कपिल कोइराला
२०८२ माघ ८ गते १२:२२

८ माघ, काभ्रेपलाञ्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादले सिन्धुलीको राजनीति तरंगित बनेको छ । लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका नेता हरिबोल गजुरेलले पार्टी निर्णयविरुद्ध उभिँदै सिन्धुली-२ मा बागी उम्मेदवार खडा गरेपछि राजनीतिक माहोल थप तातेको हो।

२०७० र २०७४ सालमा सिन्धुलीबाट प्रतिनिधिसभामा उम्मेदवार बनेर मन्त्रीसमेत भइसकेका गजुरेलले यसपटक आफ्नै पार्टीविरुद्ध उभिएका प्रेस सेन्टरका पूर्वअध्यक्षसमेत रहेका महेश्वर दाहालको प्रस्तावक बनेर उम्मेदवारी दर्ता गराएका छन् । दाहालको समर्थकका रूपमा जिल्ला संयोजक पानीराज बम्जन रहेका छन् ।

विशेषगरी नेकपाका उम्मेदवारको क्षेत्र अदलबदलले विवाद चर्किएको हो । क्षेत्र नम्बर १ बाट सिफारिस भएका दाहाललाई क्षेत्र नम्बर २ बाट टिकट दिइनु नै विद्रोहको कारण बनेको गजुरेलको भनाइ छ ।

‘यो कदम कुनै व्यक्तिगत आकांक्षाभन्दा पनि अस्तित्वको लडाइँ हो । अगाडि जाँदा चट्टान छ, पछाडि पहिरो छ,’ उनी भन्छन्, ‘कि पहिरो पन्छाएर हिँड्नुपर्‍यो कि चट्टान फोडेर । केन्द्रले विधि मिचेर टिकट दिएपछि हामी बागी उठाउन बाध्य भयौँ,’ गजुरेलले भने ।

गजुरेल मात्र होइन, जिल्ला इन्चार्ज बसन्त माझी पनि पार्टीको निर्णयप्रति असन्तुष्ट देखिन्छन् । ‘समस्या व्यक्ति होइन, विधिको हो । निकास पार्टीले निकाल्यो भने हामीलाई केही छैन,’ माझी भन्छन्, ‘तर विधिको विकास हुनुपर्‍यो, सर्वोच्च निकायबाट न्याय हुनुपर्‍यो । हाम्रो माग यति मात्रै हो ।’

उम्मेदवारी दर्तापछि महेश्वर दाहाल प्रस्तावक र समर्थकसँग ।

बागी उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका महेश्वर दाहाल भने आफूले पार्टीकै निर्णय पालना गरेको दाबी गर्छन् । ‘लोकतन्त्र स्वतन्त्रताका लागि हो,’ उनी भन्छन्, ‘म निष्ठा, आदर्श र मूल्यका लागि जेलसमेत गएको व्यक्ति हुँ । तर पार्टी केन्द्रले निरङ्कुशता लाद्न खोजे जस्तो देखियो ।’

दाहाल जिल्ला कार्यदलले सिफारिस गरेअनुसार नै आफू उम्मेदवार बनेको दाबी गर्छन् । ‘जिल्ला कार्यदलले सिफारिस गरेर उम्मेदवारी दिएको हुँ । यसलाई विद्रोह भनिन्छ कि भनिँदैन, आफैँ बुझ्नुस्,’ उनी भन्छन् ।

उता, पार्टीका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) भने केन्द्रले जिल्लाको सिफारिसअनुसार नै टिकट दिएको बताउँछन् । विगतमा आफ्नो एकल सिफारिस भएर टिकट नपाउँदा पार्टीलाई सहयोग गरेको स्मरण गर्दै उनले यसपटकको बागी उम्मेदवारीलाई व्यक्तिगत असन्तुष्टिको परिणाम भनेका छन् ।

‘२०७० र २०७४ मा आफ्नो एकल सिफारिस हुँदा हरिबोल गजुरेलले टिकट ल्याउनु भो, मैले पार्टीको निर्णय भनेर सहयोग गरें । आफू हुँदा ठिक आफू नहुँदा बेठिक भन्ने त नहोला नि,’ लेखनाथले भने ।

२०७९ मा टिकट पाउँदा पनि गजुरेलको सहयोग नपाएको र यो पटक पनि सुरुमै बागी उठाएको लेखनाथको आरोप छ । ‘आफू चुनाव नउठ्ने भन्ने अनि आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा गर्ने कुरा संस्थागत होइन । सम्भवत: भोलिसम्म फिर्ता लिनुहुन्छ भन्ने अपेक्षा छ,’ लेखनाथ भन्छन्, ‘व्यक्ति केही होइन, मलाई पनि पार्टीले विश्वास गरेर टिकट दिएको हो । पार्टीभन्दा माथि छु भनेर कोही लाग्छ भने के भनौं र ।’

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?