
२१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोय प्रमुखहरूसँग बुधबार ब्रिफिङ लिने भएकी छन् ।
परराष्ट्र मन्त्रालयको समेत विभागीय जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पद सम्हालेपछि पहिलोपटक ब्रिफिङ र सरकारको प्राथमिकताबारे निर्देशन दिन लागेकी हुन् ।
‘हाम्रा सबै राजदूत र नियोग प्रमुखहरूसँग भर्चुअल संवादको कार्यक्रम तय भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले अनलाइनखबरसँग भने ।
नयाँ सरकार बनेपछि राजदूतहरूसँग संयुक्त रूपमा कुराकानी हुन लागेको हो । अपराह्न भर्चुअल संवाद हुनेछ ।
परराष्ट्र मन्त्रालयले नेपाल स्थित विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ ।
तर ब्रिफिङको समय चाहिँ टुंगो भइसकेको छैन । नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने विगतको चलन छ ।
प्रतिक्रिया 4