
२२ असोज, पर्वत । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली-मिलनचोक- बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको जमानत जफत भएको छ ।
सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगरेपछि जमानत जफत गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।
१८ महिनाभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ जेठ १८ गते सम्झौता भएको सडक विसं २०७९ फागुन १७ गते सम्पन्न गर्नुपर्ने भएपनि निर्माण व्यावसायिले सडक चक्ल्याउने बाहेक अन्य काम गरेको थिएन । पटक पटक म्याद थप गरी विसं २०८१ चैत २९ गतेसम्मको समय दिँदापनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको अर्यालले बताए ।
कूल रु ११ करोड २२ लाख ६६ हजारको लागतमा निर्माण हुने झण्डै छ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो भने वित्तीय प्रगति समेत ३५ प्रतिशत भएको थियो ।
सडक निर्माण सुरु गरेर निर्माण व्यवसायी नै सम्पर्कबिहीन भएपछि उक्त सडक झनै अस्तव्यस्त बनेको छ ।
प्रतिक्रिया 4