
News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षामन्त्री महावीर पुनले नास्टमा समस्या र समाधानका उपाय खोजेका छन्।
- मन्त्री पुनले नास्टको ४३ वर्षे इतिहासमा भएका कामको मूल्यांकन गर्न र नवप्रवर्द्धनमा जोड दिन आग्रह गरे।
- मन्त्री पुनले नास्टको नयाँ इनोभेसन क्याफेको उद्घाटन गरेका छन्।
२२ असोज, काठमाडौं । बुधबार बिहान ११ बजे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठान (नास्ट) पुगे । विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्दै आएका पुन नास्टमा रहेको समस्या र समाधानको उपाय पनि खोज्न पुगेका थिए ।
‘समस्या के छ ? समाधानसहित लेखेर दिनुहोस् भन्नु भयो,’ नास्टका उपकुलपति दिलीप सुब्बाले भने, ‘मन्त्रीज्यूले प्रविधि र नवप्रवर्द्धनमा जोड दिनुभएको छ ।’
मन्त्री पुनले नास्टसँग समस्या र समाधानको उपाय पनि मागेका छन् । नास्टबाट कतिपय काम नभएको जनगुनासो आउने गरेको मन्त्री पुनले सुनाएका थिए ।
‘नास्ट सुरु भएको धेरै वर्ष भयो । काम भएन भन्ने कम्प्लेन आउँछ । यो विज्ञान प्रविधिको विकासका लागि भनेर खोलेको संस्था हो । ४३ वर्ष पुग्न लाग्यो । यो अवधिमा धेरै राम्रो काम भएको छ । तर, कुनै गर्न सकिने काम भएको छैन । आफैं मूल्यांकन गर्नुहोला,’ मन्त्री पुनले भने ।
अवलोकनका लागि पुगेका मन्त्री पुनलाई उपकुलपति दिलीप सुब्बाले स्वागत गरेका थिए । मन्त्री पुनले प्रविधि प्रयोगशाला लगायतको अवलोकन गरेका छन् ।
‘ल्याबको भिजिट गर्नुभयो । अनुसन्धानको काम हेर्नुभयो,’ उपकुलपति सुब्बाले भने ।
मन्त्री पुनले नास्टले बनाएको इनोभेसन क्याफेको पनि उद्घाटन गरेका छन् ।
उपकुलपति सुब्बाका अनुसार उक्त इनोभेसन क्याफे बाँस र खरबाट बनाइएको छ ।
‘भर्खर निर्माण भएको इनोभेसन क्याफे हो । युवा वैज्ञानिकले क्याफेमा बसेर नवप्रवर्द्धनबारे विमर्श गर्न सक्छन् । चिया पिउँदै नयाँ आइडियाबारे छलफल गर्ने क्याफे हो,’ उपकुलपति सुब्बाले भने, ‘मन्त्रीज्यू आउनु भएको अवसरमा आज क्याफेको सुरुवा गरेका छौँ ।’
उक्त क्याफेमा एक पटकमा तीन वटा ग्रुप बसेर छलफल गर्न सकिने छ । मन्त्री पुनको साथमा विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी पनि गएका थिए ।
प्रतिक्रिया 4