
२३ असोज, काठमाडौं । जेनजी आदिवासी समूहले आन्दोलनमा सहभागी युवामाथि आतंककारी भनेर लगाइएका आरोप र अपमानप्रति आपत्ति जनाएको छ ।
जेनजी इन्डिजिनियस (आदिवासी) समूहका संयोजक संग्रामसिंह किरातीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो विद्रोहले उठाएका अजेन्डा, मान्यता र मर्ममाथि श्रृंखलाबद्ध प्रहार भइरहेको छ। यो अत्यन्त निन्दनीय प्रवृत्ति हो ।’
किरातीका अनुसार २३ भदौमा भएको विद्रोह ‘जेनजी चेतनाको विद्रोह’ हो, जसमा सबै वर्ग, क्षेत्र, लिङ्ग र समुदायका युवाहरूको सहभागिता रहेको थियो ।
विद्रोहमा करिब ६० प्रतिशत आदिवासी जनजाति समुदायका युवाहरू सहभागी भएको विज्ञप्तिमा दाबी गरिएको छ ।
समूहले सरकारी र संस्थागत तहमा सहादत परिवारको संरक्षण, सुविधा र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न माग गरेको छ ।
साथै, हाल ‘जेनजी’ नाममा भइरहेको समुदाय केन्द्रित प्रायोजित अभियानप्रति पनि आपत्ति जनाइएको छ ।
अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईमाथि केन्द्रित अभियानलाई ‘समुदायविरोधी’ ठहर गर्दै त्यसलाई रोक्न सरकारसँग आग्रह गरिएको छ ।
‘संविधान र व्यवस्थाको विरुद्ध उभिनेहरूले वास्तविक ‘जेनजी’को प्रतिनिधित्व गर्न सक्दैनन्। भ्रष्टाचार र राजनीतिकरणको विरोध संस्थागत तहमा हुनुपर्छ, समुदायमाथि केन्द्रित हुनु गलत हो,’ जेनजी इन्डिजिनियसको विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनको उद्देश्य सुशासन, सामाजिक न्याय र समानताको सुनिश्चितता हो। किरातीले अन्त्यमा सबैलाई आफ्नो स्वाभिमान र पहिचानलाई कायम राख्दै जिम्मेवार ढंगले आन्दोलनमा सहभागी हुन जेनजी इन्डिजिनियसका संयोजक किरातीको अपील छ ।
विज्ञप्तिमा सहादत परिवारलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । जेनजी युवाहरूको आह्वानमा गत २३ र २४ भदौमा काठमाडौंसहित देशका विभिन्न शहरमा प्रदर्शन भएको थियो ।
२३ भदौको आन्दोलनमा सुरक्षाकर्मीले दमन गरेपछि २४ भदौको प्रदर्शन उग्र बनेको थियो । सिंहदरबारसहितका मुख्य सरकारी संरचनामा आगजनी तोडफोड भएको थियो ।
प्रदर्शनमा प्रहरीको गोली लागेर, निजी तथा व्यापारिक प्रतिष्ठानमा भएको आगजनीमा परेर र भाग्न खोजेका कैदीबन्दी समेत मूडभेडमा पर्दा ७६ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया 4