+
+
Shares

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

आयोगको उक्त जाहेरी आफ्नो कार्यक्षेत्रमा नपरेको भन्दै प्रहरीमै फिर्ता गरेको आयोगका प्रवक्ता तथा सदस्य विज्ञानराज शर्माले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १८:११

२३ असोज, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फर्किएको छ ।

जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीहरूविरुद्धको जाहेरी प्रहरीमै फिर्ता गरिदिएको हो ।

आयोगको उक्त जाहेरी आफ्नो कार्यक्षेत्रमा नपरेको भन्दै प्रहरीमै फिर्ता गरेको आयोगका प्रवक्ता तथा सदस्य विज्ञानराज शर्माले बताए । ‘जाहेरीमाथिको अनुसन्धान आयोगको कार्यक्षेत्रमा नपर्ने भएपछि फिर्ता गरेका हौं,’ शर्माले अनलाइनखबरसँग भने ।

बिहीबार आयोगले एक विज्ञप्ती समेत जारी गरेको छ । ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन’, विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘फौजदारी कसुरमा जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । यस्तो कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने भएकाले प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’

यसअघि जेन–जी आन्दोलनमा मृत्यु भएका परिवारले जिल्ला प्रहरी परिसर कामठाडौंमा उजुरी दिँदै ओली र लेखकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका थिए ।

त्यसपछि प्रहरीले उक्त जाहेरी लिएर दर्ता नगरी आयोगमा पठाएको थियो । अहिले फेरि आयोगले जाहेरी प्रहरी कार्यालयमै फिर्ता गरिएपछि अन्योल सिर्जना भएको छ ।

जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु भएको थियो भने जम्मा ७६ जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?