
२३ असोज, बुटवल । लुम्बिनी विकास कोषमा वरिष्ठ अधिकृत ज्ञानिन राईलाई कायममुकायम सदस्य सचिव तोकिएको छ ।
कोषका सदस्य सचिव सानुराजा शाक्यको पाँच वर्षे कार्यकाल २१ असोजमा सकिएसँगै उक्त पद रिक्त थियो । शाक्य नेकपा एमालेको कोटाबाट सदस्यसचिव नियुक्त भएका थिए ।
उनको कार्यकाल सकिएसँगै कोषका वरिष्ठ अधिकृत एवं १०औं तहका वरिष्ठ निर्देशक राईलाई कायममुकायम सदस्य सचिव तोकिएको हो ।
कोष पदाधिकारी विनियमावली, २०५८ को विनियम २९(५) मा सदस्य–सचिव बिदामा बसेको वा अन्य कुनै कारणबाट अनुपस्थित रहेका बेला रिक्त रहेको अवस्थामा वरिष्ठतम् अधिकृतलाई कायममुकायम दिई कार्य सञ्चालन गर्ने व्यवस्था छ । सोही अनुसार राई कामु सदस्य सचिव भएको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।
१५ मंसिर २०७६ मा कोष बोर्ड बैठकले वरिष्ठतम कर्मचारीलाई सदस्य–सचिवको अनुपस्थितिमा कामु सदस्य–सचिव बनाउने प्रावधान संशोधन गर्न पठाएकामा संस्कृति मन्त्रालयको २७ पुस २०७६ को मन्त्रीस्तरीय निर्णयले उक्त संशोधन गरेको थियो ।
सोही संशोधनका आधारमा २०७६ माघमा पनि राई ८ महिना कामु सदस्य सचिव भएर काम गरिसकेका छन् । राईले बुधबारबाटै कोषमा कामु सदस्य सचिवका रूपमा काम सुरु गरिसकेको जानकारी दिए ।
लुम्बिनीलाई युनेस्कोको खतराको सूचिमा पर्नबाट जोगाउन र तिलौराकोटराई विश्व सम्पदा सूचिमा सूचीकृत गराउने प्रकृयामा राईले नेतृत्वदायी भूमिका खेलेका थिए ।
लुम्बिनी खतराको सूचीमा पर्नबाट जोगिए पनि भारतको असहयोगका कारण तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेको थिएन ।
प्रतिक्रिया 4