२० मंसिर, बुटवल । लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न स्थानीय युवाहरुको संस्था रेस्पोन्स टिम लुम्बिनीले माग गरेको छ ।
योजना प्रमुख भट्टले कोषका ठेक्कामा आर्थिक चलखेल गरेको, विकास कोषको मुख्य कार्यालयमा अति न्यून कार्यदिन उपस्थित भएको लगायतका आरोप लगाउँदै उनलाई निलम्बन र छानबिन गर्न माग उनीहरूले माग गरेका हुन् ।
शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी गुरुयोजनाका सबै परियोजनाको स्वतन्त्र अडिट गर्नुपर्र्ने, सरकारी सुविधा दुरुपयोगबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्नुपर्ने र पदको दुरुपयोग रोक्न नसक्ने जिम्मेवार पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गरेको छ ।
पछिल्लो पटक ३ करोड ५६ लाख रुपैयाँको दियो बत्तीको ठेक्कामा टेण्डरमा योजना प्रमुख भट्टले आफू निकटका ठेकेदारलाई टेण्डर दिलाउन प्रयास गरेको रेस्पोन्स टिमको आरोप छ ।
टेण्डरको फर्म बुझाउने समय दिउंसोको १२ बजेसम्म मात्र भएको र त्यतिन्जेल तीन वटा फर्मले बुझाइसकेको अवस्थामा १२ बजेपछि पनि भट्टले आफू निकटका ठेकेदारलाई आवेदन हाल्न दिन प्रयास गरेको तर स्थानीयले रोकेको अध्यक्ष जसमेर खानले बताए ।
‘योजना प्रमुखले आफू नजिकको ठेकेदारलाई आफ्नो कार्यकक्षमा राखेर टेण्डर हाल्ने समय सकिएपछि पनि हाल्न लगाउने प्रयास गरेको स्थानीयले प्रत्यक्ष देखेका छन्’, खानले भने, ‘छानबिन गर्ने र कार्यालयको सिसिटिभी फुटेज हेर्ने हो भने मिलेमतो गरेको पुष्टि हुन्छ ।’
लुम्बिनी विकास कोषमा निर्माण सम्बन्धी काम गरेका एक ठेकेदारले आफूले करोडौं भुक्तानी पाउन बाँकी भएको बताए ।
‘यहाँ घुस नबुझाएसम्म नियमसंगत तरिकाले ठेक्का पाउन सकिन्न यो सत्य हो,’ उनको दाबी छ ।
लुम्बिनी विकास कोषकै हाजिरी तथ्यांक अनुसार योजना प्रमुख भट्ट गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन हुंदा ८२ दिन मात्र कार्यालयमा हाजिर भएकी छन् ।
गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन थियो । भट्ट अधिकांश समय काजमा भन्दै काठमाडौं बस्ने गरेकी र ३० दिन घर विदा लिएको हाजिरी तथ्यांकमा देखिन्छ ।
खानले योजना प्रमुख भट्टले कोषलाई व्यक्तिगत स्वार्थ, ठेक्कापट्टा र कमिसनको अड्डा बनाएको आरोप लगाउंदै यस्ता गतिविधि सह्य नभएको बताए ।
योजना प्रमुख भट्ट विभिन्न टेन्डर प्रक्रियामा प्रत्यक्ष सहभागी भएर पदको दुरुपयोग गरेको, राजनीतिक संरक्षणको आडमा मनपरी निर्णय लिएको र सार्वजनिक खरिद ऐनको मर्म बिर्सेर सार्वजनिक स्रोतमा हात हाल्ने काम गरेको उनले आरोप लगाए ।
लुम्बिनी विकास कोष जस्तो अन्तर्राष्ट्रिय महत्वको संस्थाको योजना प्रमुख पदको जिम्मेवारी लिएको व्यक्ति कार्यालयमा नगण्य दिन मात्र उपस्थित हुादा गुरुयोजनाको काममा प्रत्यक्ष असर गरेको उनको गुनासो छ ।
‘योजनाप्रमुख भट्टमाथि विभिन्न योजनामा आर्थिक चलखेल गरेको आरोप लागेकाले उनलाई निलम्बन गरेर छानवीन हुनुपर्छ’, अध्यक्ष खानले भने, ‘जेन जी युवाको मागलाई बेवास्ता गरिए चरणवद्ध आन्दोलनमा जान बाध्य हुनेछौं ।’
निर्णय प्रक्रियामा अपारदर्शिता देखिँदै आएको भन्दै अध्यक्ष खानले मनलागी परियोजना सञ्चालन गर्ने, राष्ट्रिय गौरव आयोजनाको नाममा विभिन्न नदीबाट नदीजन्य पदार्थ निकाल्न कमिसन लिएर अनुमति पत्र दिने गरेको आरोप लगाए ।
लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राईले स्थानीय युवाको टिमबाट योजना प्रमुखको निलम्बन र छानबिनको माग गर्दै ज्ञापनपत्र आएको स्वीकार गर्दै यसबारे सम्बन्धित माथिल्लो निकायमा जानकारी गराएको बताए ।
योजना प्रमुख भट्टले भने आफूले योजनाहरूको टेण्डरमा विगतमा हुंदै आएको कमिसनको चलखेल बन्द गराएपछि विकास कोषकै माथिल्लो तहका कर्मचारीले स्थानीयलाई उचालेर आफ्नो बदनाम गराउन खोजेको बताइन् ।
उनले आफू कोषकै कामका लागि काजमा खटिएको दाबी गर्दै यो वर्ष सुत्केरी समेत भएकाले धेरै दिन विदा बसेको बताइन् ।
गोर्खाकी भट्टलाई माओवादी केन्द्रको कोटामा योजना प्रमुख नियुक्त गरिएको थियो । उनको कार्यकाल अझै तीन वर्ष बाँकी छ ।
प्रतिक्रिया 4