
काठमाडौं । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ ।
क्राज्नाहोर्काइलाई प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने उनका ‘प्रभावशाली र दूरदर्शी रचना’ का लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिले जनाएको छ।
उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हंगेरीको एउटा सानो सहरमा मध्यमवर्गीय परिवारमा भएको थियो । नोबेल पुरस्कार पाउने उनी हंगेरीका दोस्रा साहित्यकार हुन्। सन् २००२ मा इम्रे केर्टेस पनि उक्त पुरस्कारबाट सम्मानित भएका थिए ।
उनका कैयौँ कृति हङ्गेरियाली भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन् 0र उनका कृतिहरू अंग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिस भाषामा पनि छापिएका छन्।
यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ। अब शान्ति र अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुन बाँकी छ। पुरस्कार आगामी डिसेम्बरमा वितरण हुने छ।
नोबेल पुरस्कारबाट सम्मानित भएपछि लेखकले स्विडेनी प्रसारक स्भेरिजेस रेडियोसँग भने, ‘म धेरै खुसी र शान्त छु । पुरस्कार पाएको समाचारले मलाई घबराहट महसुस भएको छ।’

उनले भने, ‘नोबेल पुरस्कार विजेताका रूपमा यो मेरो पहिलो दिन हो ।’
पुरस्कार समितिले १९८५ मा प्रकाशित क्रास्ज्नाहोर्काईको पहिलो उपन्यास, ‘सटाटान्गो’ ले उनलाई हंगेरीमा प्रख्यात बनाएको र यो त्यहाँ उनको सबैभन्दा प्रसिद्ध कृति बनेको जनाएको छ।
नोबेल एकेडेमीले उक्त कृतिलाई ‘साहित्यिक सनसनी’ भनेको छ।
एकेडेमीले भनेको छ, ‘क्रास्ज्नाहोर्काई काफ्कादेखि थोमस बर्नहार्डसम्म फैलिएको मध्य युरोपेली परम्परामा एक महान महाकाव्य लेखक हुनुहुन्छ । उहाँको सिर्जनामा बेतुकवाद र विचित्र ज्यादतीको विशेषता पाइन्छ। ‘
प्रतिक्रिया 4