
२४ असोज, काठमाडौं । शीतल निवासमा बिहीबार भएको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग किन राष्ट्रपति कहाँ बैठक गर्नुपर्ने अवस्था आयो भन्दै जवाफ मागेका छन् ।
सरकार बनेको एक महिनासम्म दलहरूसँग कुनै संवाद नगरी चुनावी कार्यक्रमहरू समेत बाहिर आएपछि चिढीएका दलहरूले बिहीबारको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
चुनावका लागि मुख्य सरोकारवाला दलहरू नै भएकाले दललाई बाइपास गर्ने खालका गतिविधि सरकारबाटै भएको आशंका गर्दै उनीहरूले प्रधानमन्त्रीको जवाफ मागेका थिए ।
दलका अधिकांश नेताहरूले राजनीतिक छलफल राष्ट्रपति कहाँ गर्ने अवस्थाबारेको जवाफ मागेपछि प्रधानमन्त्री कार्कीले आफूहरूकै आग्रहमा राष्ट्रपतिबाट बैठक राखिएको बताइन् ।
‘हाम्रै आग्रहमा राष्ट्रपतिज्यूले बैठक राख्नु भएको हो । सबैसँग अब सिंहदरबारमा छलफल हुन्छ’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
दलहरूसँग सरकार टाढिने र झन् दुरी बढाउने काम गरिरहेको भन्ने प्रश्न उठेपछि उनले पहिले बैठक सिधै आफूहरूले बोलाउँदा आन्दोनलकारी शक्तिहरू चिढीने जोखिम रहेको कुरा गरेकी थिइन् ।
पहिलो बैठक दल र जेनजी दुवैलाई राष्ट्रपतिको समन्वयमा गराउने र त्यसपछि सरकारले नै सिधा संवाद गर्ने जानकारी दिइन् ।
प्रतिक्रिया 4