+
+
Shares

नियमित महाधिवेशनको मितिमा कांग्रेसमा जुटेन सहमति

द्रुत गतिमा सकिने गरी कार्यतालिका बनाएर मंसिर भित्रै महाधिवशेन गर्न सकिने महामन्त्री सहित संस्थापनइतरका नेताहरुको जोड छ भने संस्थापन पक्षले चुनावको तयारीले महाधिवशेन मंसिरमा हुन नसक्ने तर्क गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते २१:०३

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवशेनको मितिमा मतैक्यता हुन नसकेपछि केन्द्रीय समितिको बैठक सारिएको छ ।

सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको अवधि यही मंसिरमा सकिने भएको हुँदा त्यसै महिनामा नियमित महाधिवशेन गर्नुपर्नेमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको जोड थियो । नेता डा. शेखर कोइराला र उनी निकटका नेताहरूले पनि तल्लो तहका अधिवेशन छिटो सकिनेगरी कार्यतालिका बनाएर नियमित महाधिवशेन गर्न सकिने धारणा राखेका थिए ।

बुधबार र विहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक र शुक्रबारदेखि कार्यसम्पादन समितिको बैठकमा नियमित महाधिवशेनको मितिमा सहमति जुट्न सकेन । सभापति देउवा पक्षका नेताहरुले फागुनको चुनावको तयारीमा लाग्नुपर्ने भएको हुँदा मंसिरमा महाधिवेशन गर्न नसकिने विचार राखेका थिए । बैठक पछि प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवशेन होस् भन्ने चाहेको तर विधि प्रक्रिया पुरा गरेर छिट्टै गर्न सकिन्न कि भन्ने धारणाहरु आएको बताए । महाधिवेशनको मितिमा सहमति जुट्न नसकेपछि बैठकको अध्यक्षता गरेका उपसभापति पूर्णबहादुर खड्काले दुईदिन केन्द्रीय समितिको बैठक सार्न प्रस्ताव गरेका थिए ।

महाधिवशेनको मितिका लागि आन्तरिक छलफल थप गर्नुपरेको हुँदा केन्द्रीय समितिको बैठकको मिति सारिएको महतले जानकारी गराए । महतका अनुसार २८ असोजका लागि केन्द्रीय समितिको बैठक सारिएको छ । केन्द्रीय समितिमा पेश गर्ने एजेण्डामा सहमति जुटाउन दुई दिन औपचारिक र अनौपचारिक छलफल हुने महतले बताए ।

नियमित महाधिवशेनको मितिमा सहमति जुट्न नसकेपछि शीर्ष तहका नेताहरुले सभापति देउवासँग छलफल गर्ने भएका छन् । सभापति देउवासँग छलफल गरी केन्द्रीय समितिमा पेश गर्ने एजेण्डामा निर्क्यौल गरिने भएको छ । बैठक मूलत: महाधिवशेन कहिले गर्ने विषयमा केन्द्रित रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए ।

पाण्डेले भने, ‘नियमित महाधिवेशन मंसिर मसान्त भित्र सकिने गरी कार्यतालिका बनाऔं भन्ने हाम्रो मत छ । फागुन २१ को चुनावको तयारीमा लाग्नु पर्ने हुँदा त्यो समयमा महाधिवशेन कसरी सकिन्छ र ? भन्ने अर्को थरीको विचार छ ।’

नियमित महाधिवेशन मंसिरभित्रै गर्न सकिने आधार महामन्त्री थापाले बैठकमा प्रस्तुत गरेका थिए । संस्थापन पक्षका नेताहरू मंसिरको मिति तोक्न तयार नभएपछि उपसभापति र महामन्त्रीले थप छलफल गरेर एजेण्डा तय गर्न जिम्मेवारी दिइएको छ ।

देउवा नेतृत्वको समितिको नियमित अवधि यही मंसिरमा सकिँदैछ । महामन्त्री थापाले वर्तमान समितिको अवधि थप्ने गरी प्रस्ताव पेश नगर्ने हिजो बताएका थिए । यही मंसिरमा नियमित महाधिवेशन गर्न नसकिने भए विशेष महाधिवेशनमा जानुपर्ने उनको तर्क छ । विशेष महाधिवशेनका लागि महामन्त्री थापा र शर्माको अग्रसरतामा हस्ताक्षर संकलन भइरहेको छ । महामन्त्री निकट नेताहरुको दाबी अनुसार ५० प्रतिशत प्रतिनिधिले विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गरिसकेका छन् । विशेष महाधिवेशनका लागि विधान अनुसार ४० प्रतिशत महाधिवशेन प्रतिनिधिले हस्ताक्षर गरी माग गर्नुपर्दछ ।

नेता अर्जुनरसिंह केसीले जिल्ला कार्यालयहरू जलेको हुँदा नियमित महाधिवशेनका लागि जटिलता भए विशेषमा जानुपर्ने विचार राखेका छन् । बैठकमा आफ्नो धारणा बारे केसीले भने,‘नियमित अधिवेशन नै पहिलो प्राथमिकता हो । त्यो हुन नसके पुरानै महाधिवेशन प्रतिनिधिबाट विशेष अधिवेशन गरौं,’ केसीले भने,‘मूल कुरा चाहिँ के भने यथास्थितिमा यही पद्धति यही विचार र यही नेतृत्व लिएर हामी जनताकहाँ जान सक्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?