
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सभापति शेरबहादुर देउवा बेठिक भए ठिक चाहीँ को हो ? भन्दै पार्टी बैठकमा प्रश्न गरेका छन् ।
शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनी विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति खनिए ।
बैठक स्रोतका अनुसार, उनले महामन्त्रीहरूलाई प्रश्न तेर्स्याएका थिए ।
‘कांग्रेसभित्र ४ वर्षमा के परिवर्तन गर्न सक्नुभएको छ ?,’ राठौरले प्रश्न गर्दै भनेका थिए, ‘देश जलेको बेलामा तपाईंहरूले के गर्न सक्नुभयो ?’
उनले गिरिजाबाबुले माओवादीसँग सम्झौता गरेको बेलादेखिएको इतिहास स्मरण गर्दै सधैं कांग्रेसले नै निर्वाचन गराइरहेको पनि बताए ।
‘पार्टीसँग त्यत्रो पीडा हुँदा पनि गिरिजाबाबुले माओवादीसँग सम्झौता गर्नुभयो । सबै निर्वाचनहरू कांग्रेसको सरकारभन्दा अरुले गराएको पनि छैन,’ उनले प्रश्न गरेका थिए, ‘कांग्रेसमा शेरबहादुर देउवा गलत हो भने ठिक को ?’
साथै, उनले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनी लगायतका विध्वसंको जिम्मेवारी जेनजीहरूले नै गर्नुपर्ने पनि बताएका थिए ।
प्रतिक्रिया 4