
२७ असोज, जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरू ८ सुत्रीय मागसहित कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका हुन् ।
धनुषा जिल्लाका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले संयुक्त रूपमा आज पत्रकार सम्मेलन गरि आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उल्लेख गरेका छन् ।
नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग उनीहरूको छ ।
यस्तै स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क उपचारको व्यवस्था, निजी अस्पतालमा बिदा तथा भत्ता सुविधा, हरेक वर्ष १० प्रतिशत तलब वृद्धि र निजी तथा सरकारी अस्पतालमा समान विज्ञापन प्रणालीको माग गरेका छन् ।
मन्त्रालयबाट पटक-पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको उनीहरुको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो गरेका छन् ।
मागहरु पूरा नभए कार्तिक १६ गते आइतबारदेखि मधेश प्रदेशभरका स्वास्थ्यकर्मीहरूले अस्पताल खाली गरी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने स्वास्थ्यकर्मी नरेश अधिकारीले चेतावनी दिए ।
आन्दोलनका क्रममा बिरामी सेवामा समस्या आएमा यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया 4