News Summary
Generated by OK AI. Editorially reviewed.- मिथिला हस्पिटालिटीले जनकपुरमा २ अर्ब रुपैयाँ लगानी गरी २०८६ वैशाखमा पाँचतारे होटल सञ्चालनमा ल्याउने योजना बनाएको छ।
- होटलमा १२४ कोठा, ८ विलासी सुइट, ३७२ बेड, र क्यासिनो सहित रेस्टुरेन्ट, स्पा, हेल्थ क्लब, टेनिस कोर्ट लगायत सुविधा रहनेछन्।
- परियोजनाको भूमि पूजा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ र १५० जनाले रोजगारी पाउनेछन्।
२१ वैशाख, काठमाडौं । आतिथ्य सत्कार कम्पनी मिथिला हस्पिटालिटीले बृहत लगानी सहित जनकपुरमा पाँचतारे होटल खोल्ने भएको छ ।
चितवनमा रोयल ट्युलिप रिसोर्ट सञ्चालनमा ल्याएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष रामेश्वर साहले जनकपुरमा लगानी विस्तार गरी पाँचतारे होटल खोल्न लागेको जानकारी दिएका छन् ।
आफ्नै नेतृत्वमा रहेको मिथिला हस्पिटालिटी अन्तर्गत जनकपुरमा पहिलो पाँचतारे होटल निर्माण गर्ने परियोजना अघि बढाएको उनले बताए ।
चितवनको रोयल ट्युलिप रिसोर्ट सञ्चालनमा आएको ८ महिना अवधिमै साहले नयाँ परियोजना घोषणा गरेका हुन् । उक्त परियोजनाको भूमिपूजा गरिएको उनले बताए ।
जनकपुर आन्तरिक तथा वाह्य पर्यटकका लागि एक आकर्षक गन्तव्यका रूपमा परिचित सहर हो । धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा होटल व्यवसाय फस्टाउँदो क्रममा रहे पनि अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको आवास सुविधामा रहेको अभाव चिर्न अत्याधुनिक सुविधासम्पन्न पाँचतारे होटल खोल्न लागिएको उनको भनाइ छ ।
होटलको भूमि पूजा (शिलान्यास) सोमबार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा गरियो । कार्यक्रममा प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल, प्रतिनिधिसभा सदस्य मनिष झा, एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जनकपुर उपमहानगरपालिका प्रमुख मनोज साह लगायत उपस्थित थिए ।
लगानीकर्ता साहका अनुसार परियोजनामा २ अर्ब रुपैयाँ बराबर लगानी हुनेछ । निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गरी २०८६ वैशाखमा होटललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य छ ।
करिब २ लाख वर्गफिट (साढे २ बिघाभन्दा बढी) जग्गामा निर्माण हुने यस होटलको कुल निर्मित क्षेत्रफल १ लाख २० हजार वर्गफिट रहने छ । होटलमा ८ बिलासी सुइटसहित जम्मा १ सय २४ कोठा हुनेछन् । ३ सय ७२ बेड व्यवस्था गरिने छ ।
जनकपुरमा बन्न लागेको होटलमा साहसहित पूर्वबैंकर ज्ञानेन्द्रप्रसाद ढुंगाना, व्यवसायी काजी लामा, सुदीपकुमार चौधरी, उदयकान्त झा समेतको लगानी छ ।
होटलमा उच्चस्तरीय रेस्टुरेन्ट र लाइभ किचेनदेखि क्याफे लाउन्ज, लाइभ म्युजिक सहित सांगीतिक बार र रुफटप पुलबारसम्मका खाद्य तथा पेय सेवा उपलब्ध हुनेछ ।
क्यासिनो समेत राख्ने योजना रहेको होटलमा व्यावसायिक र सामाजिक कार्यक्रमका लागि सभा तथा ब्यांक्वेट हल र व्यापार केन्द्र राखिने छ । स्वास्थ्य र मनोरञ्जनका लागि बहुकार्यात्मक पौडी पोखरी, सुविधासम्पन्न स्पा र हेल्थ क्लब तथा टेनिस कोर्टको व्यवस्था हुने भएको छ ।
यसका साथै एम्फीथिएटर र कार्यक्रम हल, ईभी चार्जिङ स्टेशन र बालबालिकाको खेल्ने छुट्टै स्थान जस्ता आधुनिक सुविधाहरूले यस होटललाई एक विशिष्ट पहिचान दिने शाहले बताएका छन् । होटल सञ्चालनमा आएपश्चात् प्रत्यक्ष रूपमा १ सय ५० जनाले रोजगारी पाउने भएका छन् ।
प्रतिक्रिया 4