+
+
Shares

जनकपुरको शल्यक्रियापश्चात महिलाको मृत्यु घटना मिलापत्रमा टुंगियो  

मृतक परिवार आर्थिक रूपमा कमजोर हुनु, कानुनी प्रक्रिया झन्झटिलो हुनु तथा प्रहरी प्रशासनसमेत अस्पतालकै पक्षमा देखिएको कारण अन्तत: मिलापत्र गर्न बाध्य भएको एक आफन्तले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते २१:४४

१८ वैशाख, जनकपुरधाम । जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ ।

वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ क्षतिपूर्तिस्वरूप दिएर घटना मिलापत्र गरिएको हो ।

प्रहरी प्रशासनले अस्पताललाई नै संरक्षण गरेको आरोप लगाउँदै आफन्तजनले बाध्य भएर मिल्नु परेको बताएका छन् । मृतक परिवारको पक्षबाट भूमिका खेलेका बलवा नगरपालिका–१ का वडाध्यक्ष पप्पु ठाकुरले पनि घटना मिलापत्र भएको पुष्टि गरेका छन् ।

शल्यक्रियापछि अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तजनले अस्पतालमा तोडफोड गरेका थिए । मृतकका ससुरा दयाराम पासवानका अनुसार ‘प्वाल पारेर’ (ल्याप्रोस्कोपिक) शल्यक्रिया गर्ने सर्तमा अस्पतालमा भर्ना गरिए पनि चिकित्सकले चिरेर शल्यक्रिया गर्दा मृत्यु भएको दाबी थियो ।

परिवारजनले घटनाको छानबिन गरी लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाही तथा क्षतिपूर्ति दिन माग गरेका थिए । दिनभर अस्पताल परिसर तनावग्रस्त बनेको थियो ।

तर, मृतक परिवार आर्थिक रूपमा कमजोर हुनु, कानुनी प्रक्रिया झन्झटिलो हुनु तथा प्रहरी प्रशासनसमेत अस्पतालकै पक्षमा देखिएको कारण अन्तत: मिलापत्र गर्न बाध्य भएको एक आफन्तले बताए ।

यता धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले मृतक परिवार र अस्पतालबीच सहमति भएपछि घटना टुंगिएको बताए । तोडफोडपछि प्रहरीले अस्पतालमा सुरक्षा मात्र दिएको उनको भनाइ छ ।

‘हामीले मृतक परिवारलाई जाहेरी दिन आग्रह गरेका थियौं,’ उनले भने, ‘तर उहाँहरूले दिनु भएन । अस्पतालमा तोडफोड भएपछि शान्तिसुरक्षा कायम गर्नु हाम्रो दायित्व हो, त्यति मात्र गरेका हौं ।’

मृतकका ससुरा दयाराम पासवानका अनुसार गाउँकै स्वास्थ्यकर्मी राम पुकारको सल्लाहमा बुहारीलाई गत वैशाख ७ गते चेक जाँचको लागि यो अस्पतालमा ल्याइएको थियो । त्यसपछि चिकित्सक सर्जन अमरेश कर्णको सल्लाहकार बमोजिम १६ गते भर्ना गरी पित्त थैलीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सर्जन डा. कर्णको टोलीले गरेको थियो ।

ससुरा दयारामका अनुसार एक लाख २५ हजार रुपैयाँमा अस्पतालले ल्याप्रोस्कोपी विधिबाट पेटमा प्वाल गरी पत्थरी झिक्ने कुरा भएको थियो । तर चिकित्सकले पेट चिरेर शल्यक्रिया गरेर पत्तथैलीको शल्यक्रिया गर्दा मृत्यु भएको उनको आरोप छ ।

यता शल्यक्रियामा संलग्न चिकित्सक कर्णले युटेरसमा १३.७ एमएमको पत्थरी र किडनीमा सानो पत्थरी बिरामीलाई भएको पत्ता चलेपछि परिवारजन र बिरामीको सहमतिमै पित्त थैलीको मात्र चिरुवा अप्रेसन गरेको बताए ।

शल्यक्रिया पश्चात बिरामी समान्य अवस्थामा फर्केर अचानक रक्त संचार कम भएर मृत्यु भएकोमा आफू पनि चकित भएको उनको भनाइ छ । कुनै लापरबाही नभएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?