+
+
Shares

माओवादी निकट जेनजीको संगठन ४० जिल्लामा, ५ वर्ष प्रचण्डको विकल्प नखोज्ने

चीनमा जस्तो कम्युनिस्ट पार्टी बनाउने अठोट

अति गुटबन्दीका कारण पार्टी कमजोर भएको टुलुटुलु हेर्न नसकेपछि माओवादीलाई चाइनाको जस्तै कम्युनिस्ट पार्टी बनाउने अठोटका साथ सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेर अभियान सुरु गरेको उनी सुनाउँछिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्र निकट जेनजीहरूले स्मृति तिमिल्सिनाको संयोजकत्वमा \'जेनजेड रेड फोर्स\' गठन गरेका छन्।
  • रेड फोर्सले ४ दिनमा ४० जिल्लामा विस्तार भइसकेको र २९ असोजमा आधिकारिक घोषणापत्र जारी गरिनेछ।
  • तिमिल्सिनाले पार्टीलाई चाइनाको जस्तै कम्युनिस्ट पार्टी बनाउन युवाहरूलाई लाग्न आह्वान गरेकी छन्।

२७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जेनजीहरूले ‘जेनजेड रेड फोर्स’ गठन गरेका छन् ।

शनिबार अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति तिमिल्सिनाको संयोजकत्वमा गठन भएको रेड फोर्स ४ दिनमै ४० जिल्लामा विस्तार भइसकेको छ ।

संयोजक तिमिल्सिनाले अनलाइनखबरसँग भनिन्, ‘शनिबार गठन भएको फोर्सको प्रभाव देशभरि नै परिसकेको छ । ४ दिनमा ४० वटा जिल्लामा संयोजक तोक्ने काम भइसकेको छ । बाँकी जिल्लामा पनि छिट्टै गठन गर्छौं ।’

यो अभियान उनले नै सुरुवात गरेकी हुन् । जसको संयोजक पनि आफैं छिन् । तिमिल्सिनाले भनिन्, ‘अरू कसैले आँट गर्न सकेनन् । मैले नै यो अभियान सुरु गरेँ । अहिले यो अभियानमा हजारौं जेनजी जोडिएका छन् ।’

२९ असोजमा पत्रकार सम्मेलन गरी रेड फोर्सको आधिकारिक घोषणापत्र जारी गरिने उनले जानकारी दिइन् ।

गठन किन ?

अति गुटबन्दीका कारण पार्टी कमजोर भएको आफूले टुलुटुलु हेर्न नसकेपछि माओवादीलाई चाइनाको जस्तै कम्युनिस्ट पार्टी बनाउने अठोटका साथ सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेर अभियान सुरु गरेको उनी सुनाउँछन् ।

उनी भन्छिन्, ‘चरम गुटबन्दीले पार्टी कमजोर हुँदै गएको देखेँ । पार्टीलाई पहिलाको जस्तै अवस्थामा पर्काउन सकिन्छ, चाइनाको जस्तै कम्युनिस्ट पार्टी बनाउन सकिन्छ, यसका लागि युवाहरू लाग्नुपर्छ भन्ने हुटहुटी आयो । त्यही हुटहुटीका कारण फेसबुकमा साथ दिन आह्वान गरेँ । पोस्ट लेखेको केही घण्टामै सयौं कल आए ।’

त्यति मात्रै होइन, भोलिपल्ट बिहान उठ्दा फेसबुकमा २१ हजारबाट २५ हजार फलोवर्स पुगेको उनी सुनाउँछिन् ।

देशभित्रबाट मात्रै होइन, विभिन्न मुलुकमा रहेका जेनजीबाट पार्टी सुधारमा लाग्न आफूलाई सुझाव आएको उनको भनाइ छ ।

आफूले सुरु गरेको अभियानमा माओवादी निकट युवा लगायत अन्य युवाहरू पनि जोडिन आउने क्रम अझै जारी रहेको उनी सुनाउँछन् ।

तिमिल्सिनाले अगाडि भनिन्, ‘पार्टीमा चरम व्यक्तिवादी हावी भयो । संगठन जेसुकै होस्, तर व्यक्तिलाई जसरी पनि भगवान बनाउने काम भयो । त्यस्ता व्यक्तिविरुद्ध बोल्न खोज्यो भने उसको राजनीति नै समाप्त पार्ने प्रयास भयो ।’

माओवादी लडाकुहरू पनि पार्टीको नेतृत्व लिन सक्ने, पार्टी हाँक्न सक्ने, पार्टीलाई ठूलो बनाउन सक्ने क्षमतावान थिए । तर उनीहरूमाथि चरम अन्याय भयो । पार्टी छाड्न बाध्य पारियो ।

हजारौं माओवादी कार्यकर्ता पार्टी सुदृढ बनाउन आफ्नो खुन-पसिना बगाए पनि उनीहरू पार्टी बाहिर बस्न बाध्य भएको उनको भनाइ छ ।

०००

देश र पार्टीका लागि योगदान पुर्‍याएका व्यक्तिहरूलाई पार्टीमा फर्काउन रेड फोर्सले भूमिका खेल्ने उनले बताइन् ।

‘माओवादी लडाकुहरूले देश र पार्टीका लागि रगत बगाएका छन् । उनीहरूको सपना के थियो ? यो पार्टीलाई एक नम्बर पार्टी बनाउने । देशलाई स्विट्जरल्यान्ड जस्तो बनाउने । अब यो सपना पूरा गर्न माओवादीका पूर्व जनमुक्ति सेनाका छोराछोरी एक ठाउँमा आएर अब पार्टी बनाउनुको विकल्प छैन । नत्र हाम्रो अस्तित्व नै सकिन्छ,’ उनले भनिन् ।

अझै ५ वर्ष प्रचण्डकै नेतृत्व

 रेड फोर्सको नेतृत्व लिएकी तिमिल्सिना पार्टीभित्र अझै ५ वर्ष अध्यक्ष प्रचण्डको विकल्प नभएको बताउँछिन् ।

उनी भन्छिन्, ‘अबको पाँच वर्ष प्रचण्डलाई नै नेतृत्व दिनुपर्ने सुझाव देशैभरिबाट आएका छन् ।

पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्मका शुभचिन्तकहरूले पार्टीभित्र प्रचण्डको विकल्प खोज्नु हुँदैन भन्ने सुझाव छ । त्यसैले अझै ५ वर्ष प्रचण्डकै नेतृत्व रहन्छ ।’

अबको एक कार्यकाल प्रचण्डलाई दिइसकेपछि मात्रै जेएनजीबाट पार्टीको नेतृत्व लिनुपर्ने सुझाव आएको तिमिल्सिना बताउँछिन् ।
रेड फोर्सले माओवादी केन्द्रविरुद्ध फैलाएको भ्रम चिर्ने उनी बताउँछिन् । १७ हजार मानिस मारेको भनेर माओवादीविरुद्ध फैलाइएको भ्रम रेड फोर्सले चिर्ने उनी बताउँछिन् ।

‘माओवादीले १७ हजार मानिस मारेको भनेर भ्रम फैलाइएको छ । यो गलत हो । १३-१४ हजार माओवादी योद्धालाई राज्य पक्षले मारिसकेपछि त्यसको प्रतिवादमा अन्य मानिस मरेका हुन् । १७ हजार मानिस माओवादीले मारेको हैन,’ तिमिल्सिना भन्छिन् ।

पार्टी छाडेर गएका जति पनि पूर्वजनमुक्ति सेना, शहीद परिवार छन्, उनीहरू सबैलाई फेरि पार्टीमा ल्याउन रेड फोर्सले भूमिका खेल्ने उनी बताउँछिन् ।

माओवादी पार्टीलाई फेरि एक नम्बर पार्टी बनाउनका लागि रेड फोर्सले भोक-निन्द्रा, प्यास केही नभनी काम गर्ने उनी बताउँछिन् ।

तिमिल्सिनाको नजरमा पार्टीलाई व्यक्तिवादी बनाउनेहरू को-को हुन् ?

संयोजक तिमिल्सिना पार्टीभित्र व्यक्तिवादी हावी भएको बताउँछिन् । उनले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको पटक-पटक दोहोर्‍याएकी छन् ।

पार्टीभित्र कसले व्यक्तिवादी प्रवृत्ति चलाइरहेको छ भन्ने प्रश्नमा तिमिल्सिना भन्छिन्- जनार्दन शर्मा, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत लगायतका नेताहरूले आ-आफ्नो गुट बनाएर पार्टीलाई भित्रभित्रै खोक्रो पारेका छन् ।

उनीहरूले गर्दा नै पार्टी कमजोर भएको उनको आरोप छ । विप्लव, वैद्य लगायतका नेताहरू पनि चरम व्यक्तिवादी भएको उनको आरोप छ ।

उनीहरूमा रहेको व्यक्तिवादी प्रवृत्तिकै कारण अहिले पार्टी कमजोर भएको उनको तर्क छ । तिमिल्सिनका आमा-बुबा पनि माओवादी लडाकु हुन् । उनी स्वयं माओवादी क्याम्पमा हुर्केकी हुन् ।

तिमिल्सिना भन्छिन्, ‘जनमुक्ति सेनाको रगत पसिनाले बनेको पार्टी हो माओवादी । उनीहरूको सपना र पार्टीभन्दा ठूलो अरू केही छैन । मेरो देश र पार्टीका लागि यो अभियान सुरु गरेकी हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?