+
+
Shares

वीरगञ्ज महानगरको फोहोर व्यवस्थापन गर्न ४ करोडको प्रशोधन प्लान्ट निर्माण गर्ने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १७:०९

२७ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन प्रशोधन प्लान्ट निर्माण गर्ने भएको छ ।

करिब चार करोड रुपैयाँको लगानीमा प्लान्ट निर्माण गर्न वीरगञ्ज महानगरपालिकाले जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या नेपाल प्रालिसँग सोमबार सम्झौता गरेको छ ।

सम्झौता अनुसार, महानगरको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण गरिनेछ ।

निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगञ्ज महानगरपालिकालाई हस्तान्तरण गरिने छ।

सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् प्रतिक्रिया दिँदै वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई फोहोरमुक्त र हरित शहर बनाउने दीर्घकालीन लक्ष्यलाई यो परियोजनाले सघाउने विश्वास व्यक्त गरे ।

यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ युगको सुरुवात हुने भन्दै उनले अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्नेतर्फ महानगर अघि बढेको बताए ।

महानगरले विगतदेखि नै फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ । हाल शहरका सडक, चोक र सार्वजनिक स्थलहरू सफा राख्न सफल भएको छ। यही अभियानलाई थप सशक्त बनाउन डम्पिङ साइटमा निर्माण हुन लागेको नयाँ फोहोर प्रशोधन प्लान्टले शहरभरिबाट संकलित फोहोरबाट प्लास्टिक छुट्याएर पुनःप्रयोगमा ल्याउने र जैविक फोहोरबाट मल उत्पादन गर्ने व्यवस्था मिलाइनेछ ।

महानगरका अनुसार, यो सम्झौताले फोहोर व्यवस्थापन प्रणालीमा ऐतिहासिक फड्को मार्ने, प्लास्टिकजन्य फोहोर नियन्त्रणमा सुधार ल्याउने र वातावरण संरक्षणमा स्थायी योगदान पुर्‍याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?