
२९ असोज, काठमाडौं । बुधबार सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक राखे । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा विघटित प्रतिनधिसभामा रहेका ६ वटा दलका नेताहरू सहभागी भए । जहाँ संसद् पुनर्स्थापनाको पक्षमा एमाले स्पष्ट देखियो भने बाँकीले चुनावी वातावरण खोजे ।
नेकपा एमालेका नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक रहेको बताए । ‘यो (२७ भदौको वघटन गर्ने निर्णय) प्रतिगमन हो,’ उनले भने ।
८ दलले विज्ञप्ति निकालेर असंवैधानिक हो भनिसकेका स्मरण गर्दै उनले त्यसका लागि धन्यवाद दिए । अब पनि संवैधानिक मार्गबाटै निकास निकाल्नुपर्ने बताए ।
‘संसद् पुनर्स्थापना हुनुपर्छ । संसद्लाई जीवित राख्नुपर्छ । सरकारले चुनावको तयारी गरेको छैन,’ उनले भने, ‘वैधानिक संस्थालाई जीवन्त राख्नुपर्छ । यसको न्यायिक परीक्षण हुनैपर्छ । यसमा राजनीतिक दलहरूले दबाब सिर्जना गर्नुपर्छ । सभामुखले भूमिका खेल्नुपर्छ ।’
संसद् पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले दबाब सिर्जना गर्नुपर्ने भनेर एमालेले साथ खोजिरहँदा अन्य दलले भने त्यसमा प्रष्ट मत दिएनन् ।
कांग्रेसका नेता श्यामकुमार घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधनिक रहेको बताए । संवैधानिक मार्गबाट निकास खोज्न सकेको भए राम्रो हुने उनको भनाइ थियो ।
उनले अगाडि भनेका छन्, ‘अबको निकास भनेको संसद् पुनर्स्थापना वा चुनाव हो । सरकारले चुनावको वातावरण बनाइरहेको छैन । सरकारले शान्ति सुरक्षा कायम गर्दै चुनावको वातावरण बनाउँछ भने फ्रेस म्यान्डेडमा जान कांग्रेसलाई आपत्ति छैन् । भयरहित चुनाव हुन्छ भने कांग्रेस भाग्दैन् ।’
माओवादी केन्द्रले संविधानको किताब हेरेर अहिलेको निकास ननिस्कने बताएका छन् । नेता हितराज पाण्डेले जेनजी आन्दोलन इतिहासकै दुर्लभ घटना भएको बताए ।
उनले अगाडि भने, ‘हाम्रा कमजोरी के कसो छन् समीक्षा गरौं ।’ निकासका लागि परिस्थिति हेर्नुपर्ने उनको आग्रह छ ।
‘संविधानको किताब हेर्दा यो सरकार गठन र विघटनलाई असंवैधानिक देखिन सक्छ । तर, अहिलेको परिस्थिति ख्याल गर्नुपर्छ’ उनले भने, ‘अहिलेको परिस्थितिमा निकास भनेको चुनाव नै हो । सरकारले चुनावको वातावरण बनाउनुपर्छ ।’
नेकपा एकीकृत समाजवादीले पनि चुनावकै पक्षमा आफ्नो मत प्रकट गरेको छ । नेता राजेन्द्र पाण्डेले ८ दलले यसअघि नै आफ्ना कुरा राखेको स्मरण गरे । जसमा २२९ जना सांसद रहेको उल्लेख गर्दै उनले थपे, ‘यो अदालतमा पनि पुगेकै होला । यसकारण दलहरू विघटन विरुद्ध छन भन्ने सन्देश् गएकै छ ।’
तथापि, सरकारले चुनावको वातावरण बनाउनुपर्ने उनले बताए । ‘चुनावको वातावरण बन्छ भने चुनावमै जाने हो,’ उनले भने ।
उनका अनुसार सरकारको तीन वटा म्यान्डेड छ । जेनजीसँग वार्ता, शान्ति सुरक्षा र चुनाव । यसमा सरकार केन्द्रित हुनुपर्ने उनको आग्रह छ ।
जनता समाजपादी पार्टी नेपालकी नेता रेखा यादवले पार्टीले चुनावमा जाने निर्णय गरिसकेको बताइन् । उनका अनुसार जसपा नेपालले ३ असोजमा यस्तो निर्णय लिएको हो । अर्को साता फेरि छलफल हुँदैछ । त्यहाँ संसद् पुनर्स्थापनाबारे छलफल हुने उनले बताइन् ।
राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जेनजीको माग पूरा गर्न संविधान संशोधन हुनुपर्ने बताए । यदि संविधान संशोधन हुने वातावरण बन्छ भने एउटा कुरा नत्र संसद् पुनर्स्थापनाको कुरा गर्न आवश्यक नरहेको सुझाव दिए ।
सबैको कुरा सुनेपछि सभामुख घिमिरेले आफ्नो फरक धारणा नरहेको बताए ।
‘मेरो अहिले अर्को कुनै धारणा छैन । तर, लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि मैले के गर्नुपर्छ गर्छु । यहाँहरूसँग पछि थप छलफल गर्छु र एउटा निष्कर्षमा पुग्छु,’ सभामुख घिमिरेले भनेका छन् ।
00000
प्रतिक्रिया 4