+
+
Shares

 म हट्ने नहट्ने फेसबुकले होइन कमिटीले भन्नुपर्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १३:११

२९ असोज, काठमाडौं । नेकपा‍ एमाले अध्यक्ष केपी शर्मा  ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गरेका छन् ।

मंगलबार केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले आफू बस्ने कि हट्ने  केन्द्रीय कमिटी वा महाधिवेशनले  निर्णय गर्ने बताए ।

‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने  फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उनले भने ,’यो कमिटीले भन्छ भने  यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’

आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वाभावको भएको बताउँदै ओ‌लीले पार्टीका कतिपय नेताहरू लोकप्रियताको पछि लागेको टिप्पणी गरे ।

एमालेलाई मन नपराउने विरोधीहरूले च्यासलको पार्टी कार्यालय र नेताहरूको घर जलाएको उनको आरोप छ ।

केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सम्बोधनको अंश :

पार्टीभित्र पनि केही सुरवीरहरूलाई एउटा लहर चलेको देख्छु, लहड चलेको देख्छु- अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिक स्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुसी पारिदिन्छ, देश अलपत्र पार्छ भन्ने पनि व्याख्या गरेको सुन्छु । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन । यो कमिटीले भन्ने हो ।

यो कमिटीले हट्नुपर्छ भन्छ भने एकदम खुसी साथ, अँध्यारो मुख लगाउन घर जले पनि जानेको छैन । केही भए पनि जानेको छैन । मारिने अवस्था सिर्जना हुँदा पनि अँध्यारो मुख लगाउन जानेको छैन । फेरि पनि कमरेडहरूको आदेशमा यो आदेश दिने ठाउँ हो । यसको आदेशमा जुनसुकै कुरा पनि गर्न तयार छु । तर यो कमिटीमा बसेर यो कमिटीको कोही सदस्यले बाहिर गएर अखबारबाजी गरेर लोकप्रियतावादको पछि कुदेर ….।

के लोकप्रियतावाद हुनु कतिपय साथीहरूले मलाई भन्नुहुन्छ- तपाईंलाई त बोकेर जानै सकिंदैन । किन बोक्नुपर्‍यो म आफैं हिंड्छु । किन बोक्नुपर्‍यो । हिंड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नु पर्दैन । प्रश्न के हो- कसैलाई मन पर्दैन होला । नबोक्नु । प्रश्न के हो- केन्द्रीय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ । व्यक्तिगत इच्छा पूरा गर्न म हिंडेको होइन । यो देशको इच्छा पूरा गर्न कामको अगुवाइ यो पार्टीले गर्छ । पार्टीले जे भन्छ त्यही गर्छु । हट्ने पनि प्रक्रिया हुन्छ ।

विरोधीहरूलाई त घर र पार्टी कार्यालयमा आगो लगाउन मन लागेको थियो । एमाले मन नपराएर त हो नि हाम्रो केन्द्रीय कार्यालय जलाएको ? हाम्रा कार्यालयहरू जलाएको । हाम्रा नेताहरूको घर जलाएको ? आई लभ यु भनेर त होइन होला । त्यसैलाई देखाएर तपाईंको घर जलाइदिए तपाईं त अनपपुलर हुनुभयो । अलोकप्रिय हुनुभयो ? के भएर अलोकप्रिय ? भ्रष्टाचार गरेका छौं ? अनैतिकता गरेका छौं ? नराम्रो व्यवहार गरेका छौं ? आचरण खराब गरेका छौं ? भिजन छैन कि ? काम गर्न सक्रियता छैन कि ? के छैन र हामी बदनाम भयौं ? विरोधीहरूले एक ढंगले भन्ने हो भने देशभरीका युवाहरूले केपी बा भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भएर अनेक नक्कल गर्ने पनि कोसिस गरे । अनेक कोसिस गरे । केही गर्दा नभएपछि कहिले चरित्र हत्या गरेका छन् ।

कहिले विदेशमा यति पैसा लुकाएको छ भनेको छ । फलानो देशको टेलिकममा लगानी गरेको छ भनेको छ । कहिले पशुपतिनाथमा पित्तल चढायो भनेको छ । पशुपतिनाथको जलहरी उप्काएर जाँचेको होइन, सुन हो कि पित्तल हो ? तौलिएको होइन, तराजु बोकेर ? लाज शरम छैन ।

एक वचन तपाईंमाथि यस्तो आरोप लगायौं, जाँच्यौं सबै गर्‍यौं होइन रहेछ है । झुटो आरोप लगाइएको छ । नैतिकता हुन्छ नि मान्छेको । त्यो पनि छैन । अचम्म लाग्छ ।

अझै भन्छन् केही केही तत्वहरूले केपी ओली सप्रेको छैन भनेर । बिग्रेको भए पो सप्रिनु । बिग्रिएको भए पनि सप्रिनु । बिग्रिएकाहरू नै सप्रिनु पर्‍यो नि । अरुका ३र आगो लगाउँदै हिंडेका सप्रिनु पर्‍यो नि । सिंहदरबार जलाउनेहरू सच्चिनुपर्‍यो नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?