+
+
Shares

सिंचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिंचाइ आयोजनाका ६ ठेक्का तोडिंदै

सिंचाइ विभागअन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते ७:४१
बबई सिँचाइ आयोजनाको नहर । तस्वीर : फाइल ।

३० असोज, काठमाडौं । सरकारले सिंचाइतर्फका रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।

यही प्रक्रिया अन्तर्गत बबई सिंचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोड्न बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।

आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८मा ठेक्का सम्झौता गरेको थियो । ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

आयोजनाले पटक–पटक सूचना प्रकाशन गर्दासमेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै जासो नदिएको जनाएको छ । ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।

पेस गरिएका प्रमाण नियमसङ्गत भरपर्दो वा चित्तबुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ ।

सिंचाइ विभागअन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।

बर्दिया जिल्लाको समग्र विकासमा अपरिहार्य मानिएको बबई सिंचाइ आयोजनाको निर्माण कार्य आर्थिक वर्ष. ०४५।०४६ देखि नेपाल सरकारको आफ्नै श्रोतबाट प्राथमिकतामा राखी शुरु भएको थियो ।

यसको उद्देश्य बर्दियाको ३६ हजार हेक्टर जग्गा (पूर्वमा करिव २१ हजार हेक्टर र पश्चिममा १५ हजार हेक्टर) मा सिंचाइ सुविधा पुर्‍याउनु हो ।

त्यसका लागि हाल १८ अर्ब ९६ करोड ३० लाख ४४ हजारको गुरुयोजना २०७८।०१।२१ मा स्विकृत भई आ.व. ०८२।८३ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनामा आ. ब. ०७९।८० सम्म रु. १२ अरव २८ करोड ९४ लाख खर्च भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?