+
+
Shares

तम्घास-सिमलटारी सडक मर्मत सुरु

कालोपत्र सडक भत्किएर जीर्ण बनेको तम्घास-सिमलटारी सडकखण्ड मर्मत गर्न थालिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १३:०८

३० असोज, गुल्मी । कालोपत्र सडक भत्किएर जीर्ण बनेको तम्घास-सिमलटारी सडकखण्ड मर्मत गर्न थालिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–छल्दी सडकखण्ड भत्किएपछि यात्रा जोखिमपूर्ण बन्दै गएको थियो ।

कालोपत्र सडक भत्किएर खाल्डाखुल्डी बनेपछि सवारी आवागमनमा समस्या उत्पन्न भएको थियो । स्थानीयवासीको जन गुनासो धेरै आएपछि सडक मर्मतमा प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइराला, सडक कार्यालयका इन्जिनियर सहितको टोलीले स्थलगत अनुगमन समेत गरेका थिए ।

अनुगमन पश्चात सडक मर्मतमा ताकेता गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । हाल सडकमा खाल्डा पुरिँदै, ढुंगामाटोले सतह सम्याउने र आवश्यक स्थानमा पर्खाल निर्माणको काम भइरहेको छ ।

भत्किएका ठाउँमा मर्मत गरेर पुन: कालोपत्र गरिने मदन भण्डारी अयोजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जियिर हुमानाथ पौडेलले बताए ।    

तम्घासदेखि सिमलटारीसम्मको २९ किलोमिटर क्षेत्रमा भत्कीएको ठाउँमा मर्मत गर्न ८१ लाख ४३ हजारको लागतमा एमएच पोर्टिनस्टार सप्लायर्स तम्घासले मर्मतको काम गरिरहेको कार्यालयले जनाएको छ ।

अबको एक महिनाभित्र मर्मतको काम सम्पन्न हुने पौडेलले बताए । राजमार्गका विभिन्न ठाउँमा कतै खाल्डा र कतै पानीका पोखरी जस्तै बन्ने गरेको थियो ।

सडक खण्डको तम्घासदेखि सिमलटारीसम्म कालोपत्र गरिएको हो ।

६ वर्ष पहिले कालोपत्र भएको तम्घास–सिमलटारी सडकखण्ड जीर्ण बन्दै गएको छ । बिरामीहरू लिएर रातको समय हिँड्दा निकै जोखिम बढदै गएको सवारी चालकको भनाइ छ ।

स्थानीयवासीले वर्षौंपछि सडक मर्मत सुरु भएपछि राहतको अनुभूति व्यक्त गरेका छन् । सडक जीर्ण हुँदा विगत केही वर्षदेखि सवारी साधन सञ्चालनमा कठिनाइ हुँदै आएको थियो ।

मर्मत पूरा भएपछि तम्घास, सिमलटारी, छल्दी र आसपासका बस्तीका बासिन्दाले सहज यात्रा गर्ने विश्वास लिइएको छ । राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?