
३० असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्काले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अभिभावक बनेर बस्न सक्नुपर्ने बताएकी छिन् ।
हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले ओली अभिभावक बन्दा पार्टीलाई पुनर्जीवन दिन समेत महत्त्वपूर्ण अर्थ राख्ने जिकिर गरिन् ।
‘अहिले मुलुकमा जे भइरहेको छ, जो विकल्प हुँ भन्दै आएका छन्, ती कुनै विकल्प हैनन् । उनीहरू षड्यन्त्रका पात्र मात्रै हुन्,’ उनले भनेकी छिन्, ‘एमाले नै नेता पार्टी हो र पार्टीलाई बलियो बनाउन सकिन्छ । अब कमरेड अध्यक्ष पार्टीको अभिभावक बनेर बस्नुपर्छ ।’
जनतामा पार्टीको लोकतान्त्रिक छवि कमजोर हुँदै गएको बताउँदै उनले फौजदारी अभियोगबाहेक अन्य विषयमा कोही पनि व्यक्तिको पार्टी सदस्यता समाप्त पार्न नहुने बताइन् ।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण समेत खुला गर्नुपर्ने बताइन् ।
‘फौजदारी अभोयोग बाहेक अन्य विषयमा व्यक्तिको पार्टी सदस्यता समाप्त गर्नु कसैका लागि पनि राम्रो नजीर हैन,’ उनले आफ्ना कुरा राख्ने क्रममा भनिन्, ‘पूर्व उपाध्यक्ष विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण खुला गरिनुपर्छ ।’
अरुलाई मात्रै दोष देखाएर सही निष्कर्षमा पुग्न नसकिने उनको भनाइ थियो ।
उनले पाँच पुस्ताको नेतृत्व एउटै पुस्ताले गर्नु सम्भव नभएको र उक्त कार्य न्यायपूर्ण नभएको पनि बताइन् ।
‘प्रत्येक पुस्ताले देश र पार्टीको नेतृत्व गर्न पाउने अवसरलाई चिनियाँ कम्युनिष्ट पार्टीले कसरी व्यवस्थापन गरेको छ, पार्टी सदस्यमा बहुमत युवाहरूको व्यवस्थालाई कसरी कार्यान्वयन गरेको छ, एकपटक हेर्ने कि ?’
प्रतिक्रिया 4