
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले २ अर्ब रुपैयाँ अग्रिम भुक्तानी दिएका छन्।
- बीमा प्राधिकरणले दाबीको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न निर्देशन दिएको थियो।
- हालसम्म २३ अर्ब १९ करोड रुपैयाँ बराबर दाबी परेको छ र १५ बीमा कम्पनीले अग्रिम भुक्तानी गरेका छन्।
३० असोज, काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले २ अर्ब रुपैयाँ अग्रिम भुक्तानी दिएका छन् ।
बीमा प्राधिकरणले जेनजी आन्दोलको क्षतिमा बिमितलाइ दाबीको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न निर्देशन दिएपछि बिमकहरूले उक्त रकम भुक्तानी दिएका हुन् ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा आगजनी, तोडफोडका कारण भएको क्षतिमा दाबी परेको रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको थियो ।
सरकारको निर्देशनपछि प्राधिकरणले पनि बीमा कम्पनीलाई क्षति पुगेका बिमितलाई सहज गराउन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानी दिन भन्यो । सोही अनुसार बीमा कम्पनीले आवश्यक मूल्यांकन गरी १ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी दिएका हुन् ।
तर, प्राधिकरणका अनुसार हालसम्म उक्त आन्दोलनमा आफ्नो सम्पत्तिमा क्षति पुगेको भन्दै बिमितले २३ अर्ब १९ करोड ३ लाख रुपैयाँ बराबर दाबी गरेका छन् ।
प्रधिकरणका अनुसार उक्त अग्रिम दाबी भुक्तानी १५ बीमा कम्पनीले मात्र गरेका छन् । सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १ सय ६६ बिमितले दाबी भुक्तानी माग गरेका छन् ।
त्यसमध्ये राष्ट्रिय बीमा कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २८ असोजसम्म कुनै पनि दाबीको अग्रिम भुक्तानी गरेका छैनन् ।
तर, सबैभन्दा धेरै माग दाबी परेको सिद्धार्थ इन्स्योरेन्सले ७८ करोड ८ लाख रुपैयाँ अग्रिम भुक्तानी दिएको प्राधिकरणले जनाएको छ । कम्पनीमा ५ अर्ब ४८ करोड रुपैयाँ बराबर माग दाबी परेको छ । त्यसैगरी द ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड बराबर दाबी पर्दा अग्रिम भुक्तानी भने ७१ लाख मात्रै गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार जेनजी आन्दोलनमा क्षति भएका सम्पत्तिमध्ये बीमा भएका ६ सय ७३ सम्पत्ति बीमा, २ हजार २ सय ५६ मोटर बीमा, इन्जिनियरिङ तथा ठेकेदार बीमा १ सय ८२ , परिवहन बीमा १२ र अन्य बीमा ४० गरी कुल ३ हजार १ सय ६३ माग दाबी परेको हो ।
माग दाबी परेको रकम अनुसार सबैभन्दा धेरै सम्पत्ति बीमाको छ । यो शीर्षकमा १९ अर्ब ७१ लाख बराबर माग दाबी परेको प्राधिकरणले जनाएको छ । उक्त आन्दोलनमा बागमती प्रदेशबाट माग दाबी धेरै परेको छ । बागमतीबाट कुल १७ अर्ब ५० करोड रुपैयाँ बराबर माग दाबी परेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4