
३० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन १ सय ३४ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका छन् ।
बुधबारबाट शुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए । दुई दिनमा कुल १ सय ८४ जना केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनका अनुसार केन्द्रीय समितिका ३ सय ६७ जना केन्द्रिय सदस्यहरू रहेकोमा १ सय ८४ जना केन्द्रिय सदस्यहरूले धारणा राखिसकेका छन् । उनीहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीले राख्नुभएको राजनीतिक प्रतिवेदनमाथि आफ्ना राय राखेका हुन् ।
प्रश्तुत रायहरूमा संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुन:स्थापना गर्नुपर्ने, पुन:स्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर उनीहरूको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पुर्याउनुपर्ने विषय उठेको उनले बताए ।
अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एकमात्र सहज बाटो संसद पुन:स्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताए ।
सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको उनले बताए ।
सरकारले राजनीतिक दलहरूलाई निषेध गर्ने, राजनीतिक दलका नेताहरूमाथि झमेला लगाउने, धाकधम्की दिने र सीमा निर्धारण गर्ने जस्ता कामले निर्वाचनको वातावरण नबनेको उनको भनाइ छ ।
प्रतिक्रिया 4