
१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका १५ औँ महाधिवशेनबारे बहस चलिरहेका बेला पार्टीमा आवद्ध ४० वर्ष मुनिका ४० युवाले छलफल सुरु गरेका छन् ।
४० वर्ष मुनिका ४० युवाको ‘पार्टी सुधार अभियान’ मा नेविसंघ, नेपाल तरुण दल, नेपाल महिला सघ, नेपाल प्रेस युनियनका प्रतिनिधिमूलक युवाले छलफल सुरु गरेका हुन् ।
उनीहरूले पार्टीका हरेक तहमा ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व ४० प्रतिशत बनाउनका लागि नेतृत्वलाई दवाव दिन छलफल सुरू गरेका हुन् ।
पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत ४० प्रतिशत टिकट दिने वैधानिक व्यवस्थाका लागि नेतृत्वको ध्यानाकर्षण गराउँदै दबाब दिने तयारी गरेका छन् ।
४० वर्ष मुनीका युवाले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले बाटो नबिराओस् र पार्टीको आमुल सुधार र रुपान्तरणका लागि निर्णय गरेर आगामी बाटो तय गर्नका लागि दबाब दिने तयारी गरिएको नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले बताए ।
युवाका नाममा सीमित व्यक्ति पटक–पटक आमनिर्वाचनमा उम्मेदवार बन्ने, सीमित व्यक्तिले मात्रै पार्टी र सरकारमा लाभका पद लिने प्रवृत्तिको अन्त्य गर्न सांसद ३ पटक, मन्त्री २ पटक र प्रधानमन्त्री १ पटक मात्र बन्न पाउने वैधानिक व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ ।
पार्टी र सरकार सञ्चालन फरक–फरक व्यक्तिले गर्ने गरी वैधानिक व्यवस्था गरिनुपर्ने मुद्दा पनि अघि सारिने भट्टले बताए । जेनजी, नवयुवा पुस्तालाई पार्टीले विशेष प्राथमिकताका साथ क्रियाशील सदस्यता दिने गरी केन्द्रीय समिति बैठकबाट निर्णय गर्नका लागि दवाव दिने उनीहरूको योजना छ ।
प्रतिक्रिया 4