
१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन केपी शर्मा ओलीले पठाएको पत्र आफूले पढेको दाबी गरेका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
सुशीला कार्की केपी ओलीकै सिफारिसमा प्रधानमन्त्री भएको दाबी यसअघि पनि प्रचण्डले गर्दै आएका थिए । सोही विषय आज पनि दोहोर्याउँदै उनले भनेका छन्, ‘हामीले उहाँले पठाएको चिठी हेरेका छौं ।’
प्रचण्डका अनुसार ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुशीलालाई प्रधानमन्त्री बनाउन पत्र पठाएका थिए ।
यसअघि यही असोज २४ गते सम्पादकहरूसँगको भेटमा पनि प्रचण्डले ओलीकै लिखित सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री भएको दाबी गरेका थिए ।
शनिबार सार्वजनिक कार्यक्रममा प्रचण्डले फेरि उस्तै दाबी दोहोर्याएका हुन् । भदौ २३ र २४ गते जेनजीले आन्दोलन गरेका थिए । त्यसक्रममा ओली प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए ।
काम चलाउ प्रधानमन्त्री भएपछि ओलीले नै निकासका लागि भनेर सुशीलालाई प्रधानमन्त्री बनाउने भनेर सिफारिस गरेको दाबी प्रचण्डले गरेका हुन् ।
सुशीला कार्की गत भदौ २७ गते प्रधनमन्त्री नियुक्त भएकी थिइन् । त्यसबेला राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा समेत तत्कालीन प्रधानमन्त्रीको सिफारिसको विषय उल्लेख छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘मुलुकमा उत्पन्न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दे युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकङ्क्षा अनुसार राजनीतिक दल तथा सरोकारवालाहरू सँगको परामर्शसमेतका आधारमा’ कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ ।
यहीँनेर तत्कालीन प्रधानमन्त्रीको सिफारिसको विषय समावेश छ ।
जहाँ भनिएको छ, ‘नेपालको संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ (छ) महिनाभित्र प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी श्री सुशिला कार्की मोरङलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’
राष्ट्रपति कार्यालयले नै राष्ट्राध्यक्षको हैसियतले तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिस र सम्मतिको आधारमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भनिएता पनि त्यस्तो सिफारिसपत्र सार्वजनिक भएको छैन ।
प्रचण्डले भने उक्त ओलीको पत्र आफूहरूले हेरेको दाबी गरेका हुन् ।
प्रतिक्रिया 4