
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी अगुवाहरूसँग आर्थिक विकास र समृद्धिका लागि सहकार्यको प्रस्ताव गरेका छन्।
- प्रचण्डले भ्रष्टाचार अन्त्य गर्दै सुशासन स्थापना गर्न रोडम्याप बनाउने प्रस्ताव राखेका छन्।
- उहाँले आगामी माघ २१ गतेको निर्वाचनलाई संविधान र लोकतन्त्र जोगाउने सबैभन्दा सहज विकल्प भनेका छन्।
१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी अगुवाहरूसँग सहकार्यको प्रस्ताव गरेका छन् ।
माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
‘आउनुहोस् आर्थिक विकास र समृद्धिको निम्ति बसेर सल्लाह गरौं,’ प्रचण्डको प्रस्ताव छ, ‘एउटा रोडम्याप बनाऔं ।’
सँगै बसेर बनाउने रोडम्यापमार्फत भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना गर्दै आर्थिक विकास र समृद्धितर्फ अगाडि बढ्न सकिने र त्यसका लागि आफू र आफू नेतृत्वको पार्टी तयार रहेको प्रचण्डले बताएका हुन् ।
प्रचण्डले जेनजी युवाहरूका माग जायज रहेको पनि बताए । आन्दोलन हुँदै गर्दा सरकारलाई खबरदारी गरेको स्मरण गरे ।
‘तपाईंहरूको पक्षमा सबैभन्दा पहिले बोल्ने पार्टी माओवादी हो,’ प्रचण्डले भने, ‘२३ गते साँझ दमनको विरोध गर्ने र तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग गर्ने पहिलो पार्टी माओवादी हो ।’
भ्रष्टाचार न्यूनीकरण र सुशसनका लागि काम गर्दै आएको र सरकारमा नरहँदा निरन्तर खबरदारी गर्दै आएको पनि उनले बताए ।
अब देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
‘हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौं । संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी माघ २१ गते तोकिएको निर्वाचन हो’ उनले भने, यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ ।’
प्रतिक्रिया 4