
१ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ ।
धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा आज कुबेरको विशेष पूजाआराधना गरिएको हो । केहीले आज कुबेरको पूजा गरे पनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाको दिन गर्दछन् ।
भाण्ड त्रयोदशीसमेत भनिने आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुनचाँदीका गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको बजारमा घुइँचो लागेको छ ।
आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले पनि चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानदेखि ग्राहकको भीड लागेको थियो । तिहार लाग्नु एक साताअघिदेखि नै भाँडाको बिक्री बढेको भाँडा व्यवसायी देवप्रसाद बानियाँले जानकारी दिए ।
भाँडा पसलमा एक साताअघिदेखि तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रूपमा साजसज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म पनि जारी रहन्छ । :
प्रतिक्रिया 4