
१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय विस्तार भएको छ । पार्टी विधानको धारा २६ मा भएको व्यवस्था अनुसार सभापति रवि लामिछानेले सचिवालयमा ४ जना सदस्य मनोनीत गरेका हुन् ।
सभापतिको मनोनीत गरेको उक्त निर्णय शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल समितिको बैठकमा प्रस्तुत भएको छ ।
थप हुने सदस्यहरूमा सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाल छन् । उनीहरू चार जना नै गत निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।
रास्वपाको विधानमा २५ जनासम्मको पार्टी सचिवालय गठन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर सचिवालय विस्तार गरिएको रास्वपा स्रोतले जानकारी दिएको छ ।
‘पार्टी सचिवालयको गठन पार्टी सभापतिले आफूसहित निर्वाचित पदाधिकारीहरू, कोषाध्यक्ष, प्रवक्ता र बाँकी सदस्यहरू केन्द्रीय समितिबाट सभापतिले मनोनीत गरी २५ जनासम्मको पार्टी सचिवालय गठन गरी केन्द्रीय समितिमा जानकारी दिनुपर्नेछ,’ विधानमा भनिएको छ ।
यसअघि रास्वपामा १० जना सचिवालय सदस्य थिए । अब भने १४ जनाको सचिवालय बनेको छ ।
आवश्यकता अनुसार, सभापतिले अन्य सदस्यहरू पनि सचिवालयमा थप्नसक्ने रास्वपाका एक नेताले बताए ।
प्रतिक्रिया 4