
News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २४ गते जेनजी आन्दोलनमा घाइते अम्बादत्त भट्टसहित करिब २५ जना घाइते जेनजीहरू सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए।
- घाइते जेनजीहरूले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र जिल्ला प्रशासन अधिकारीविरुद्ध आपराधिक मुद्धा दर्ता गरी न्यायिक कारबाही गर्नुपर्ने माग राखेका छन्।
- घाइते जेनजीहरूले पाँच दिनभित्र माग पुरा नभए आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् र अहिलेसम्म प्रधानमन्त्री भेट्न पाएका छैनन्।
२ कात्तिक, काठमाडौं । घाइते जेनजीहरू आइतबार दिउँसो एक बजे सिंहदरबार छिर्ने तरखरमा थिए । करिब २५ जनाको समूह भित्र जाने पास कुर्दै थियो । कतिपय भने अगाडि नै नाम आएकाले छिर्न भ्याइहाले । कतिपय बाहिर अड्किए । केही सदस्य त्यहीँ थपिँदै थिए ।
सिंहदरबार गेटमा भेटिएका थिए- अम्बादत्त भट्ट । बैतडीका उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका रहेछन् । उनकाअनुसार बानेश्वरमा भदौ २३ गते राज्यतर्फबाट चलेको गोलीको घाइतेको लागि आवश्यक रगत उपलब्ध गराउने क्रममा उनी घाइते बने। ‘त्यो दिन जताजतै रगत अभाव भइरहेको भन्ने सुनेँ । अनि बानेश्वरमा संकलन भइरहेको रहेछ। त्यहीबेला रगत दिन लाग्दा ममाथि लाठ्ठीचार्ज भयो । टाउको फुट्यो,’ उनले भने ।
आन्दोलनका यी घाइते आइतबार दिउँसो सिंहदरबार गेटमै भेटिए । उनीसँगै अन्य पाँचजना सदस्य पनि थिए । एकजना बोलेपछि अरु नबोल्ने भन्दै पन्छिए । भट्टले नै ती पाँचजनाको प्रतिनिधित्व गर्दै भने, ‘आज प्रधानमन्त्रीलाई भेटेर कुरा गर्ने हो। हामीलाई अब प्रत्यक्ष कार्यकारी चाहियो । नौ वर्षमा दशवटा सरकार झेल्नुभन्दा एउटा कार्यकारी निर्वाचित आएपछि स्थायित्व हुन्छ। देशले गति लिन्छ।’
यसरी अन्तरिम सरकारले पाएको म्यान्डेटभन्दा फरक किसिमको मुद्धा बोकेर सिंहदरबार छिर्न खोजेका भट्ट आफ्ना माग पुरा नभए नछाड्ने ‘मुड’मा देखिन्छन् । ‘यसै भएन, उसै भएन । यो सरकारले सुनेन भने फेरि आन्दोलन गर्ने हो’ भन्दै आफ्नो आक्रोश पोख्छन् ।
भित्रबाट पास आएपछि ती पाका उमेरका घाइते सिंहदरबारभित्र प्रवेश गर्छन् । उनीसँगै भित्र छिर्दा गेटभन्दा केही अगाडि जम्मा भएर बसिरहेका थिए, अरु जेनजी घाइते । सबै पालैपालो भित्र छिर्दै त्यहाँ भेला भइरहेका थिए । उनीहरुको तयारी थियो, प्रधानमन्त्रीसामू आफ्ना कुरा राख्ने ।
तर, त्यहाँ भेला भएकाहरुसँग अनौपचारिक कुरा गर्दा उनीहरुमा त्यहाँ गएर के कुरा गर्ने स्पष्टता थिएन । घाइतेहरु एकमत सुनिएनन् । बरु आ–आफ्ना सुरमा विभिन्न मागहरु सुनाउँदै थिए ।
‘हाम्रो अंगभंग भएको छ, कसले सुनिदिन्छ हामीलाई ? जेनजीले बनाएको भनेको यो सरकारले त सुनेन,’ वैशाखी टेक्दै हिँडिरहेका एकजना बोले । औपचारिक कुरा गर्न खोज्दा भने उनले मानेनन् । मिडियामा आफूहरु अहिले नै नबोल्ने, जे बोल्नुपर्छ भित्र गएर (प्रधानमन्त्री कार्यालय) बोल्ने उनीहरुको भनाइ थियो ।
ती घाइतेहरु भेला भएकै ठाउँमा गृह मन्त्रालयका हेल्प डेक्समा रहेका जुनल गदालसहित दुईजना आइपुगे । हेल्प डेक्समा रहेका उनीहरुले जेनजीहरुसँग समन्वय गरिरहेका थिए । ‘जेनजी घाइतेहरुका कुरा त असरल्ल सुनिन्छ त ! कसरी व्यवस्थापन गर्नुहुन्छ ?,’ अनलाइनखबरको प्रश्नमा जुनलले भने, ‘के गर्नु यस्तै छ । तर, हामीले फेरि यहाँ कसैले छुटाउनु पनि भएन । धेरैजना हुनुहुन्छ, व्यवस्थापन गर्नैपर्यो ।’
यसरी ती घाइतेलाई प्रधानमन्त्रीसँग भेटाउन समन्वय गरिरहेका जुनललगायत हेल्प डेस्कमा कार्यरतलाई नै घाइतेले विभिन्न प्रश्न गर्न थाले । यतिसम्म कि, अहिले बनेको अन्तरिम सरकार आफ्नो नरहेको बताए । ‘हामी जेनजीले बनाएको हैन यो सरकार’ भन्दै उनीहरु आक्रोशित बने ।
उत्तेजित घाइते जेनजीलाई सम्झाइबुझाइ गर्दैथिए हेल्प डेस्कका जुनलसहितको टिम । तर, केही घाइते उनीहरुसँगै खनिए । ‘तपाईंहरु को हो ?’ भन्ने प्रश्न आउन थालेपछि आफू जेनजीसँग समन्वय गर्न बनेको हेल्प डेक्समा कार्यरत व्यक्ति रहेको जवाफ उनीहरुले फर्काए । आक्रोशमा रहेका जेनजी किन रोकिन्थे ? थप प्रश्न गर्न थाले – तपाईंहरुलाई कसले नियुक्ति गर्यो ?
जेनजी आन्दोलनको पृष्ठभूमिको जगमा बनेको सरकारका एउटा प्रतिनिधिको हिसाबले पनि ‘जेनजीले नियुक्त गरे’ भन्न उनीहरु बाध्य थिए । ती घाइतेलाई यस्तो जवाफले चित्त बुझेन । बरु आफूहरु वास्तविक जेनजी भएकाले यो सरकार आफूले नबनाएको र यसरी कसैले नियुक्त गर्न नतोकेको जवाफ उनीहरुले दिए ।
‘को जेनजीले नियुक्ति गर्यो ?,’ वरपर रहेकाप्रति औँला देखाउँदै कोही एकजना बोले, ‘तपाईंले हो ? तपाईंले हो ? (घाउ देखाउँदै…) यी हामी घाइते जेनजी त यहीँ छौँ । कसैले नियुक्ति गर्न भनेका पनि हैनौँ ।’
त्यसबीचमै अर्का एकजना बोल्छन् – हो भन्या ! हामीले यो सरकार बनाएकै होइन । यहाँ घुसपैठ भयो ।
यस्ता भनाभन र अलमल त्यहाँ निकैबेर देखिन्छ । जसलाई माग सुनाउनुपर्ने हो, त्यहाँ जानेतर्फभन्दा असम्बन्धित मान्छेलाई उनको जिम्मेवारीभन्दा पर रहेका मागहरु सुनाएर भनाभन गरिरहेको दृश्य त्यहाँ देखियो । करिब आधा घण्टा ती घाइते शहीद त्यहीँ अलमलिन्छन् ।
घाइते जेनजीहरुको यस्तो तरिकाले हेल्प डेस्कका व्यक्ति अक्क न बक्क बने । तर, जिम्मेवारीका कारण पनि महोल शान्त बनाएर कुरा बुझाउनु नै थियो । उनीहरुले त्यसै गरे ।
अन्तत: भित्र छिरेका घाइतेका नाम र अनुहार रुजु गरेर पुनः सम्हालिएर प्रधानमन्त्री कार्यालयतर्फ लाग्यो त्यो समूह ।
यो समूहमा नेतृत्व यो हो भन्ने स्पष्ट थिएन । उनीहरुकाअनुसार त्यहाँ उपस्थित सबै घाइते यसको नेतृत्वकर्ता हुन् । यद्यपि, त्यहाँ भएकामध्ये सुरेन्द्रजंग थापा अलि हर्ताकर्ता जसरी प्रस्तुत भइरहेका थिए । आजका माग के-के हुन् भन्ने अनलाइनखबरको प्रश्नमा थापाको जवाफ थियो – ‘असली जेनजी सबै अस्पतालको शैयामा हुँदा यहाँ सरकारमै घुसपैठ भयो । अब घाइतेहरु एकजुट हुने हो । हाम्रा माग सम्बोधन गराएरै छाड्ने हो ।’
सम्बोधन हुनुपर्ने मागहरुचाहिँ के-के हुन् त ? प्रतिप्रश्नमा उनको जवाफ थियो, ‘अब घाइतेहरुको सेवासुविधादेखि संविधान नयाँ बनाउनेसम्मका कुरा छन् । अहिले त्यहाँ गएर सल्लाह गर्छौँ, अनि भनौँला ।’
त्यही लहरोमा भेटिएका थिए, अशोक राई, जो २४ भदौको आन्दोलनमा घाइते भएका थिए । उनका खुट्टामा ब्यान्डेज देख्न सकिन्थ्यो । ‘मेरो मागचाहिँ अब हाम्रो जीवनरक्षा हुनुपर्यो । खै, यत्रो दिन भइसक्यो, यो सरकारले हामीलाई हेरेन । यो सरकार हाम्रो हो जस्तो नै लागेन । हाम्रै सरकार भए, आफ्नै सिंहदरबार छिर्न यत्रो सोर्सफोर्स लगाउनुपर्छ ?,’ राईको प्रश्न थियो ।
यसरी हल्लखल्ल गर्दै हिंडेका घाइते जेनजी केहीबेरमा प्रधानमन्त्री कार्यालय अगाडि पुगे । हिँड्न नसक्ने, वा वैशाखीको साहारामा रहेका कतिलाई हेल्प डेक्सका कर्मचारीले स्कुटरमा ओसारे । र, कार्यालयबाहिर प्रधानमन्त्री कुरेर बसे ।
प्रधानमन्त्री आउन समय लाग्ने देखिएपछि घाइते जेनजीलाई आफूहरुले तयारी नगरेको हेक्का हुन्छ । समूहमा रहेका रुबिन खड्का भन्छन्, ‘अब हामी भित्र जाँदा आफूआफैँ बाझिएर बस्नु हुँदैन । एउटै खालका कुरा गर्नुपर्छ । लफडा गर्नुहुँदैन । सबै शान्त हुनुपर्छ है ।’
त्यसपछि अर्काले भने– अब भित्र के–कस्तो कुरा गर्ने हो गर्न चाहिँ ?
कसैले भिडबाट जवाफ दियो – एकजनाले ब्रिफिङ गर्नुपर्यो । भित्र जाँदा हामी एक भएनौँ भने बर्बाद हुन्छ ।
त्यसपछि रुबिन खड्काले आफूहरुले गत असोज ५ गते प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा के–कति प्रगति भयो भनेर सोध्ने तयारी रहेको बताए । उनकाअनुसार त्यसबेला बुझाइएको ज्ञापनपत्रमा घाइते र शहीद परिवारको उचित सम्बोधनको माग राखिएको थियो ।
अन्य संवैधानिक विषयमा पनि त्यसमा समेटिएका थिए, जसलाई लिएर अल्टिमेटम दिने र पुनः आफ्ना मागबारे स्मरण गराउने योजना उनले सुनाए ।
यदि प्र्रधानमन्त्रीले आफ्ना मागमा राखिएका विषयमा के–कति प्रगति भए भन्ने जानकारी नदिए सूचनाको हकसम्म प्रयोग गर्ने योजना त्यहाँ बुनिन्छन् ।
‘हामीले मागेका कुरा पाएनौँ, के–कति काम यसबीचमा सरकारले गर्यो भन्ने कुरा सहजै नपाए सूचनाको हक प्रयोग गर्नुपर्छ,’ रुबिनले भने ।
त्यसपछि अर्का एकजना बोल्छन्, र आफूहरुको मागबारे भिडलाई सुनाउँछन् । उनकाअनुसार यो समूहको मुख्यगरी पाँचवटा माग राखिएको छ । यसअघि नै बुझाइएको ज्ञापनपत्रमा उल्लेख भएको घाइते परिवारको उचित सम्बोधनबाहेक अन्य पाँच माग ती घाइतेले सुनाए ।
भदौ २३ र २४ को गोलीप्रहारको तत्काल न्यायीक कारबाही गर्नुपर्छ । यसको लागि सरकारले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र जिल्ला प्रशासन अधिकारीविरुद्ध आपराधिक मुद्धा दर्ता र अन्तरिम पक्राउ गरिनुपर्ने उनीहरुको माग छ ।
त्यस्तै, ‘संवैधानिक सुधार तथा जनमत संग्रह’ सम्बन्धित माग पनि उनीहरुको छ । यसमा अहिलेको सरकारले तत्काल अन्तरिम संविधान जारी गरेर जनमत संग्रह आयोजना गर्नुपर्ने उनीहरुको तर्क छ । प्रधानमन्त्रीले अन्तरिम संविधानको मस्यौदा तयार गरि जनमत संग्रहको लागि आवश्यक प्रशासनिक तथा वित्तीय व्यवस्था मिलाउनुपर्ने उनीको भनाई छ ।
यसबाहेक जेनजी आन्दोलनको संरक्षण र कानूनी सुरक्षा गरि आन्दोलनलाई वैधानिकता प्रदान गर्ने, भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता तथा सम्पत्ति छानबिन हुनुपर्ने र संवैधानिक अंगमा स्वच्छ नियुक्ति र विदेशी हस्तक्षेप रोक्नुनपर्ने माग प्रधानमन्त्रीसामू राख्ने पनि उनीहरुको योजना थियो ।
यस्ता माग पुरा गर्न उनीहरुले सरकारलाई पाँच दिनको समय दिएका छन् । त्यसभित्र माग पुरा नभए आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्ने योजना उनीहरुको थियो ।
तर, यो रिपोर्ट तयार गर्ने समयसम्म ती घाइते शहीदले प्रधानमन्त्रीलाई भेट्न पाएका छन् । जेनजी घाइते सुरेन्द्रजंगकाअनुसार उनीहरुलाई अहिले प्रधानमन्त्री कार्यालयको ‘वेटिङ रुम’मा राखिएको छ ।
‘हामीले अहिलेसम्म प्रधानमन्त्री भेट्न पाएका छैनौँ । दिउँसोसम्म आउँछु भन्नुभएको थियो, तर किन आउनुभएन बुझेको छैन । तर, हामी छोड्दैनौँ । आउनुभएन भने यहीँ धर्ना दिन्छौँ,’ उनले भने ।
प्रतिक्रिया 4