+
+
Shares

मोडल आँचल नाथ मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनमा ५ जनाविरुद्ध मुद्दा दर्ता

दैलेखको भगवती नगरपालिका-१ घर भएका २६ वर्षीय सन्जु विक, रुकुम चौरजहारी गाउँपालिका-६ घर भएकी अनु भनिने उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरु भनिने सरस्वती भण्डारी, कैलालीको गौरीगंगा गाउँपालिका-१ कि २२ वर्षीया राजेश बुढा र सोही ठाउँकी २२ वर्षीया लक्ष्मी बुढाविरुद्ध मुद्दा दर्ता भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १२:२९
मृतक आँचल नाथ (कल्पनाकुमारी नाथ) ।

३ कात्तिक, काठमाडौं । मोडल तथा टिकटकर आँचल नाथ भनिने कल्पनाकुमारी नाथ मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

मुद्दा दर्ता गरिएका प्रतिवादीहरुमा दैलेखको भगवती नगरपालिका-१ घर भएका २६ वर्षीय सन्जु विक, रुकुम चौरजहारी गाउँपालिका-६ घर भएकी अनु भनिने उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरु भनिने सरस्वती भण्डारी, कैलालीको गौरीगंगा गाउँपालिका-१ कि २२ वर्षीय राजेश बुढा र सोही ठाउँकी २२ वर्षीया लक्ष्मी बुढा छन् ।

उनीहरूमध्ये सञ्जु मात्रै पक्राउ परेका छन्  । बाँकी चार जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा पाँच वर्षसम्म कैदको मागदाबी गरिएको छ ।

२१ वर्षीया नाथ पछिल्लो दुई वर्षदेखि भक्तपुरको थिमिमा डेरा लिएर बस्दै आएकी थिइन् । अहिले प्रतिवादी बनाइएका व्यक्तिहरुसँग उनको टिकटकमार्फत नै चिनजान भएको थियो ।

टिकटक लाइभमै विवाद भएको त्यसपछि ज्यान मार्नेसम्मको धम्की आएको दाबी गरिएको छ । विवाद भएपछि ९ असोजसमा सञ्जु विकलाई बोलाएर छलफल गर्दा उल्टै ज्यान मार्नेसम्मको धम्की आएको दाबी नाथका काकाले गरेका थिए । सोहीअनुसार उनले प्रहरीमा जाहेरी पनि दिएका थिए ।

धम्की आएको भनिएकै दिन नाथ जलेको अवस्थामा कोठामा भेटिएकी थिइन् । उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । दुई दिनपछि ११ गते उनको मृत्यु भएको थियो ।

अनुसन्धानका क्रममा नाथ आफैंले पेट्रोल छर्केर आगो लगाएको खुलेपछि प्रहरीले धम्की दिनेहरुविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा चलाउनु पर्ने राय दिएको थियो । सोही अनुसार अहिले उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?