+
+
Shares

गाजा युद्धविराम सुदृढ पार्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पुगे इजरायल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते २०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी उपराष्ट्रपति जेडी भान्सले नाजुक गाजा युद्धविराम सुदृढ पार्न इजरायलको जेरुसेलममा शीर्ष नेताहरूसँग छलफल गरेका छन्।
  • इजरायलले हमासले दुई सैनिकको हत्या र बन्धकहरूको शव फिर्ता नगरेर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ।
  • ट्रम्पले हमासले युद्धविराम उल्लङ्घन गरेमा नष्ट गरिने चेतावनी दिएका छन् र युद्धविरामलाई दीर्घकालीन स्थायित्व दिन अमेरिकी प्रयास जारी छ।

४ कात्तिक, जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले युद्धविराम उल्लङ्घन गरेमा त्यसलाई ‘नष्ट’ गर्ने चेतावनी दिएलगत्तै अमेरिकी उपराष्ट्रपति जेडी भान्स नाजुक गाजा युद्धविराम सम्झौतालाई सुदृढ पार्न मङ्गलबार इजरायल पुगेका छन् ।

राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुशनर पहिले नै तेल अभिवमा उपस्थित थिए । त्यहाँ उनीहरूले हमासद्वारा दुई वर्ष कैदपछि रिहा गरिएका इजरायली बन्धकहरूलाई भेटे ।

‘इजरायलमा स्वागत छ, उपराष्ट्रपति भान्स’, इजरायलको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा भान्स र उनकी पत्नीको आगमनको फोटोसहित लेखेको छ, ‘सँगै, प्रतिज्ञाको भूमिको जनताले बाँकी रहेका १५ जना बन्धकको रिहाइसहित शान्त र उज्यालो भविष्य सुनिश्चित गर्न सक्छन् ।’

भान्सले इजरायलमा विशेष दूत विटकफ, कुशनर र युद्धविरामको निगरानी गरिरहेका अमेरिकी सैन्य अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार उनी बुधबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहितका शीर्ष नेताहरूसँग पनि छलफल गर्नेछन् ।

इजरायलले आइतबार हमासले दुई सैनिकको हत्या गरेको र बन्धकहरूको शव हस्तान्तरण रोक्दै युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको थियो । त्यसपछि इजरायलले गाजामा आक्रमणको लहर जारी राख्दै आफूले ‘नयाँ प्रवर्तन नीति’ लागू गरेको जनाएको थियो ।

संयुक्त राज्य अमेरिका अहिले ट्रम्पद्वारा मध्यस्थता गरिएको उक्त युद्धविराम सम्झौतालाई दीर्घकालीन स्थायित्व दिन थप प्रयासरत छ ।

‘यो स्थिति लगातार उतारचढावमा छ । एकातिर राष्ट्रपति ट्रम्प इजरायललाई चाहेको कदम चाल्न अनुमति दिइरहनुभएको छ, तर अर्कातिर उहाँ अन्ततः युद्धविराम कायम रहोस् भन्ने पक्षमा हुनुहुन्छ’, अन्तर्राष्ट्रिय सङ्कट समूह (आइसिजी) की इजरायलका वरिष्ठ विश्लेषक मैराव जोन्जिनले भने, ‘प्रधानमन्त्री नेतान्याहुले दुवै दृष्टिकोण अपनाइरहनुभएको छ-शान्तिको पक्षमा बोल्दै, तर एकै समयमा गाजामा बमबारी जारी राख्दै सहायता वितरणमा सर्त लगाउने प्रयास पनि गर्दै ।’

ट्रम्पले पत्रकारहरूसँग भने, ‘म विश्वास गर्छु कि सम्झौता अझै कायम छ । हमासका लडाकूहरूले यसलाई उल्लङ्घन गरे के हुन्छ भनेर बुझिरहेका छन्—उनीहरू समाप्त हुनेछन्, र उनीहरूलाई त्यो थाहा छ ।’

हमासले दक्षिणी गाजाको रफाह सहरमा आइतबार बिहान भएको हिंसाबारे कुनै जानकारी नभएको दाबी गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ४५ जना प्यालेस्टिनी नागरिक मारिएका थिए । उक्त घटनापछि इजरायलले तीव्र हवाई आक्रमण गरेर प्रतिक्रिया दिएको थियो ।

यसबीच, इजिप्टका गुप्तचर प्रमुख हसन रसद पनि मङ्गलबार इजरायलमा रहेका छन् । उनले अमेरिकी दूत विटकफसँग भेटवार्ता गरेका इजिप्टका राज्यसम्बद्ध मिडियाले जनाएको छ ।

अमेरिकाको प्रमुख युद्धविराम साझेदार कतारले भने इजरायलमाथि ११ दिनदेखि जारी युद्धविरामको ‘लगातार उल्लङ्घन’ गरेको आरोप लगाएको छ ।

अमिर शेख तमिम बिन हमद अल थानीले सांसदहरूलाई सम्बोधन गर्दै भने, ‘हामी प्यालेस्टाइनमा भइरहेका सबै इजरायली उल्लङ्घनहरूको घोर निन्दा गर्दछौँ, विशेषतः गाजा पट्टीलाई मानव जीवनका लागि अनुपयुक्त क्षेत्रमा रूपान्तरण गर्ने गतिविधिहरूको ।’

इजिप्ट र कतारसँग वार्ताका लागि कायरोमा रहेका हमासका गाजा प्रमुख खलील अल–हय्याले युद्धविराम कायम रहने विश्वास व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन् । ‘हामीले अमेरिकी राष्ट्रपति र अन्य मध्यस्थकर्ताबाट पाएको सन्देशले हामीलाई गाजामा युद्ध अन्त्य भएकोमा आश्वस्त बनाएको छ’, उनले भने ।

‘बाँकी रहेका १५ जना बन्धकको शव फिर्ता गर्न हमास गम्भीर रहेको बताउँदै ‘तर गाजामा भएको व्यापक विनाशले खोजी प्रयासहरूमा ठूलो बाधा पुर्‍याइरहेको छ,’ उनले भने ।

दुवै पक्षले सप्ताहन्तको हिंसाका बाबजुद युद्धविरामका प्रति प्रतिबद्धता व्यक्त गरेका छन् । इजरायलले सोमबार मृतक बन्धकको शव फिर्ता गरिएको पुष्टि गर्दै फिर्ता गरिने २८ मध्ये १३ वटा शव प्राप्त भइसकेको जनाएको छ ।

प्रधानमन्त्री नेतान्याहुको कार्यालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी कुनै सम्झौता गर्ने छैनौँ । सबै मृतक बन्धकहरू- अन्तिम बन्धकसम्म-फिर्ता नआएसम्म कुनै प्रयास छोडिने छैन ।’

आफ्नै सरकारका कट्टरपन्थी घटकहरूको युद्ध पुनः सुरु गर्ने दबाबमा रहनुभएका प्रधानमन्त्री नेतान्याहुले उपराष्ट्रपति भान्ससँग सुरक्षा चुनौतीहरू र आगामी कूटनीतिक सम्भावनाहरूबारे गम्भीर छलफल गर्ने बताएका छन् ।

अक्टोबर १० देखि लागू भएको युद्धविरामले गाजाको भविष्यका लागि दीर्घकालीन रोडम्याप प्रस्ताव गरेको भए पनि यसको कार्यान्वयन चुनौतीपूर्ण बनेको छ ।

ट्रम्पद्वारा तयार पारिएको २० बुँदे योजना अनुसार इजरायली सेनाहरूले तथाकथित ‘पहेँलो रेखा’ बाहिर सिमित क्षेत्रहरूमा मात्र नियन्त्रण कायम गरेका छन्, जसले गाजाको लगभग आधा भूभाग समेट्छ तर प्रमुख शहरहरूलाई होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?