९ कात्तिक, काठमाडौं । गत भदौ २४ गतेको जेन–जी आन्दोलनको करिब डेढ महिनापछि सूचना जारी गर्दै ह्यात रिजेन्सीले अनिश्चितकालका लागि होटल बन्दको घोषणा गर्यो । २ कात्तिकमा विज्ञप्ती निकाल्दै होटलका मानव संशाधन निर्देशक मोहम्मद युसुफ यामिनले अर्को सूचना जारी नहुँदासम्मका लागि होटल बन्द रहेको जानकारी गराए ।
अन्तर्राष्ट्रिय ब्राण्डको यो पाँचतारे होटल बन्द हुनुमा भौतिक क्षति मात्रै कारण छैन यो मानवीय क्षतिसँग पनि प्रत्यक्ष जोडिएको छ ।
होटललगायत अन्य पक्षले समेत अहिलेसम्म सार्वजनिक रुपमा जेनजी आन्दोलनमा ह्यात रिजेन्सीमा भएको मानवीय क्षतिबारे बताएका छैनन् । तर अनलाइनखबरले खोजी गर्ने क्रममा जेनजी आन्दोलनका क्रममा ह्यात होटलमा एक भारतीय पर्यटकको मृत्यु भएको खुलेको छ ।
जेनजी आन्दोलनमा मृत्यु भएकाको सूचीमा एक भारतीय नागरिक पनि छन् । ती भारतीय नागरिक ह्यात रिजेन्सीका पाहुना हुन् । मृतक भारतीय पर्यटक ५७ वर्षीया महिला राजेश सिंह गोला रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पुष्टि गरे ।
२४ भदौको आन्दोलनको क्रममा सय–डेढ सय जनाको समूह बौद्धस्थित ह्यात रिजेन्सीमा गएर तोडफोड तथा आगजनी गरेको थियो । होटलमा आगजनी सुरु भएपछि ती भारतीय पर्यटकले झ्यालबाट हामफालेकी थिइन् । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
‘उहाँ ह्यातमा बस्नु भएको रहेछ । जेनजी आन्दोलनका क्रममा होटलमा आगजनी गर्न थालेपछि भाग्दा लडेर गम्भीर घाइते हुनुभएछ । पछि उहाँको डेथ (मृत्यु) भयो,’ घिमिरेले अनलाइनखबरसँग भने ।
पाँचतारे होटलमा बसेका पाहुनाको समेत सुरक्षा नभएको भन्दै होटल व्यवस्थापनसँग सुरक्षाको विषयलाई लिएर प्रश्न उठेको थियो । पाँचतारे होटलमा बसेका आफ्ना नागरिकको मृत्यु भएपछि काठमाडौंस्थित भारतीय दूतावासले समेत यस विषयमा ह्यातसँग चासो राखेको थियो ।
एकातर्फ भौतिक क्षति र अर्कोतर्फ मानवीय क्षतिको मारमा परेको ह्यात भदौ २४ गतेदेखि नै बन्द छ । तर व्यवस्थापन पक्षले कात्तिक २ गते मात्रै होटल बन्द भएको औपचारिक जानकारी दिएको छ ।
होटलमा भएको क्षति कस्तो छ ?
जेनजी प्रदर्शनको क्रममा आगजनीका कारण ह्यात होटलको लबी र क्यासिनो पूर्णरूपमा ध्वस्त भएको छ । पहिलो तलामा रहेका कोठाहरू पनि जलेका छन् ।
झण्डै ७० वटा कोठा पूर्णरूपमा क्षतिग्रस्त भएको व्यवस्थापन पक्षको भनाइ छ । ह्यातमा रहेको क्यासिनोमा पनि क्षति पुगेको छ ।
विभिन्न तलाहरूमा वितरण गरिएको पानी, बिजुली, टेलिफोन, इन्टरनेट, एसी लगायतका पूर्वाधार पुरै नष्ट भएको छ ।

प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले बोलाएको बैठकमा पनि होटल व्यवस्थापनका प्रतिनिधिहरूले क्षतिबारे जानकारी गराएका थिए ।
उनीहरूले सो बैठकमा भनेका थिए, ‘हिल्टन होटल बाटो छेउमै भएकाले र अग्लो भएकाले त्यसको मात्र चर्चा भयो, तर हाम्रो होटल सडकबाट टाढा, फराकिलो र होचा भवन भएकाले बाहिरबाट झट्ट हेर्दा क्षति भएको देखिँदैन । तर भित्र नराम्रोसँग क्षति भएको छ ।’
उनीहरूका अनुसार जेनजी आन्दोलनको क्रममा भारतीय नागरिक गोलाको मृत्यु मात्रै होइन, ह्यातमा बसेका एक एयरलाइन्सका क्रु–मेम्बरहरूमाथि समेत प्रदर्शनकारीबाट आक्रमण भएको थियो । ‘जेनजी आन्दोलनको क्रममा क्रु–मेम्बरहरूलाई एअरपोर्ट जाने क्रममा आक्रमण भयो’ होटल स्रोत भन्छ, ‘पाहुनाको मृत्यु, आक्रमण र भौतिक क्षति एकैपटक भयो ।’
पुनर्निर्माण गर्न २ वर्ष लाग्ने अनुमान
जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको पाँचतारे होटल ह्यात रिजेन्सी मर्मत गरी पुरानै अवस्थामा सञ्चालनमा ल्याउन कम्तीमा पनि १८ महिनादेखि दुई वर्षसम्म लाग्ने दाबी व्यवस्थापकको छ ।
त्यतिन्जेलसम्म तलब दिएर कर्मचारी तथा मजदुरलाई राख्न नसक्ने होटल व्यवस्थापकले बताएको एक प्रहरी अधिकारीले बताए । ‘होटल पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउन कम्तिमा दुई वर्षसम्म लाग्ने भएकाले कर्मचारी र मजदुरलाई बिदा गर्न लागेको उहाँहरूको भनाइ छ,’ एक प्रहरी अधिकारीले अनलाइनखबरसँग भने ।

स्थायी कर्मचारीको हकमा भने त्यतिन्जेलसम्मको तलब दिने र बाँकीलाई बेतलबीमा राख्न लागिएको होटल व्यवस्थापक पक्षले बताएको छ ।
जेनजी आन्दोलनको क्रममा भएको मानवीय र भौतिक क्षतिबारे प्रहरी वृत्त बौद्धबाट घटनास्थल मुचुल्का गरिएको थियो । प्रहरी मुचुल्कामा होटलमा पुगेको आर्थिक क्षतिबारे रकम तोकेर केही पनि उल्लेख गरिएको छ्रैन । त्यसैले कति रकम बराबरको क्षति भयो भनेर भन्न नसकिने प्रहरी अधिकारीहरू बताउँछन् ।
अहिलेसम्म छैन जाहेरी
प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतहरूका अनुसार अहिलेसम्म होटल पक्षबाट जाहेरी आएको छैन । जेनजी घटना छानबिनका लागि बनेको उच्चस्तरीय जाँचबुझ आयोगमा पनि ह्यातको तर्फबाट उजुरी परेको छैन ।
ह्यातको तर्फबाट उजुरी नआएको जाँझबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा र जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले अनलाइनखबरसँग बताए ।
बौद्ध प्रहरी वृत्तसँग भएको छलफलको क्रममा भने आजभोलिमै होटल व्यवस्थापकले जाहेरी दिने बताएका छन् । जाहेरीमा क्षतिको विवरणसमेत उल्लेख हुने भएकाले जाहेरी आएपछि मात्र कति आर्थिक नोक्सान भयो भनेर भन्न मिल्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
प्रहरी मुचुल्का अनुसार होटलको पहिलो तलामा धरै क्षति भएको छ । त्यहाँका अधिकांश संरचनाहरू जलेर नष्ट भएका छन् । लबीदेखि अन्य संरचनाहरू पनि ध्वस्त भएको बताइएको छ ।
मजदुर–कर्मचारीको असन्तुष्टि
होटल अनिश्चितकालीन रुपमा बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर तथा कर्मचारीहरूले विरोध जनाएका छन् । आज आइतबार पनि केही मजदुर तथा कर्मचारी ह्यात होटल पुगेका थिए । तीमध्ये केहीलाई गेटबाट भित्र प्रवेश गर्नै दिइएन भने केही भित्र छिरेका थिए । कर्मचारी तथा मजदुरहरूले विरोध गरेपछि प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली ह्यात पुगेको थियो ।
त्यसपछि होटल व्यवस्थापकसँग छलफल भएको थियो । सो क्रममा होटल पुनर्निर्माण गरेर पुरानै अवस्थामा ल्याउन कम्तीमा पनि १८ महिनादेखि २ वर्षसम्म लाग्ने होटल व्यवस्थापकले बताएको प्रहरी स्रोतले बतायो ।
ह्यात अन्तर्राष्ट्रिय ब्राण्डको पाँचतारे चेन होटल रहेकाले एक्लैको निर्णयले पुनर्निर्माण तथा सञ्चालन गर्न गाह्रो हुने होटल व्यवस्थापकको भनाइ छ । निर्णय प्रक्रिया लगायतका कारण पुनर्निर्माण सुरु गर्नै समय लाग्ने र कतिपय सामानहरू विदेशबाटै मगाएर प्रयोग गर्नुपर्ने हुँदा सञ्चालनमा ल्याउन समय लाग्ने दाबी गरिएको छ ।
प्रतिक्रिया 4