+
+
Shares

थोत्रा दलको झोला बिसाउने उत्तम अवसर

पुराना पार्टीका सम्भावना भएका जुझारु युवा, विवेकशील, नयाँ शक्ति, जेनजी अभियानमा उदाएको शक्ति, बालेन शाह, सुमना श्रेष्ठ र कुलमानदेखि महावीर पुनसम्म अटाउने एउटा नयाँ राजनीतिक शक्ति निर्माण हुन सके नेपालले खोजेको परिवर्तनका लागि कोशेढुंगा बन्न सक्ने देखिन्छ।

डा. जगन कार्की डा. जगन कार्की
२०८२ कात्तिक १० गते १०:०१

नेपालमा भएको जेनजी आन्दोलनसँगै राजनीतिक दलका नेता र भातृसंस्थाका नेताहरु चेतना बढेको पाइन्छ । नागरिकहरुमा पनि अब जनताका मुद्दा र गुण-दोषका आधारमा विकसित लोकतन्त्रको अभ्यासलाई प्राथमिकता दिनुपर्ने बहस सुरु भएको देखिन्छ ।

सयौं घाइते हुनुका साथै ७६ जनाले ज्यान गुमाउनु र सिंहदरबार, संसद् भवनदेखि अदालत एवं सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड हुने अवस्था देश नै सखाप बनाउने योजना जस्तो देखियो । २ दिनको आन्दोलनमा भएको आगजनी र लुटपाट हालसम्म नेतृत्वमा रहेकाहरूको सामूहिक असफलता त हो नै, प्रहरीको गुप्तचर र सेनाको गुप्तचरदेखि सम्पूर्ण राज्य संयन्त्र नै फेल भएको नमूना हो । राज्य संयन्त्र कति निरीह र ककम रहेछ भन्ने गतिलो पाठ पनि हो । गलत व्यक्ति र प्रवृतिलाई मलजल गर्नुको बिस्फोट हो । साथै, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मलजल गर्ने हरेकको असफलता हो यो ।

यी तमाम घटनाबाट भ्रष्टाचार र कुशासनले आक्रान्त जनता र दलका सामान्य कार्यकर्तामा ठूलो मानसिक परिवर्तन आएको पाइन्छ । देशको यस्तो हरिबिजोग हुँदा पनि शीर्ष नेतृत्वले पद र सत्ताप्रति देखाएको आशक्ति, नातावाद र कृपावादको पराकास्टा हो- जेनजी आन्दोलन ।

प्रविधिको विकाससँगै देश, जनता र युवामा आएको चेतनासँगै परम्परागत मानसिकता र शैलीले देश अघि बढ़ने अवस्था पटक्कै थिएन । जनतको असन्तुष्टिको चुली सामाजिक सत्र्जाल बन्दको मौक़ामा बिस्फोट भएको मात्र हो ।

विकसित लोकतान्त्रिक मुलुकको राजनीतिक अभ्यासमा सामान्य नेता हुन पनि कति नैतिकताको कसी चाहिन्छ । चुनावमा टिकटदेखि नेतृत्वमा पुग्नसम्म हरेक कार्यकर्ताको मताधिकारका साथै आवश्यक न्यूनतम योग्यता क्षमताको स्पस्ट प्रमाण नभई कुनै ८ कक्षा पास नेतृत्वमा पुग्न नै कठिन छ । नेपालका दलहरुले अभ्यास गरेका गुट र ठुटे नेताको आशिर्वादविना दलको प्रतिनिधि, उम्मेदवार बन्न मुस्किल छ । कांग्रेस, एमालेमा त केही देखावटी अपवादबाहेक आम उम्मेदवारी नेताको निगाह र पैसामा हुने गरेका थिए ।

सन् २०१८ ताका गरेको एक अनुसन्धान अनुसार धेरैजसो विकासशील देशहरूमा राजनीतिक प्रतिस्पर्धाको स्वरूप विचारधारात्मक वा कार्यक्रममूलक प्रतिवद्धताभन्दा बढी दल र मतदाताबीच हुने गैर-कार्यक्रमात्मक लेनदेन हुने गरेका छन्, जस्तै– भोट किनबेच, पक्षपात र संरक्षणवाद । यो प्रवृतिले मतदादालाई ग्राहकका रुपमा चित्रण गरेको छ ।

लोकतन्त्रमा एक दल या एक नेतामात्रै गतिलो भएर हुन्न । सबै दलहरु सुध्रिनुपर्छ । साथै नागरिक चेतनाको विकास नभई दिगो विकास र सम्वृद्धि संभव छैन । सबैले नयाँ पुस्ता र समयको मागलाई अङ्गीकार गर्न तयार नभई यी तमाम सुधार सम्भव देखिँदैन । यसर्थ, थोत्रा राजनीतिक दलका झोला बिसाउने उत्तम अवसर यही हो

हालका अध्ययनहरूले यस्ता लेनदेनमा मत आदान-प्रदान हुने प्रणालीहरूमा पनि बिस्तारै दलप्रतिको दृढ निष्ठा वा स्थायी रूपमा दलीय झोलाबाहकहरू विकास हुने गरेको तथ्य पुष्टि गरेको छ । यी तथ्य हाल कांग्रेस-एमाले पार्टीमा देखिएका कट्टर झोलाबाहक र दललाई धर्मजस्तै अपरिवर्तनीय रूपमा लिने कार्यकर्ताको अन्धसमर्थनले पुष्टि गर्दछ । जसमा कुनै समय दलमा लागेको हिसाबले लाभ लिएकाहरू व्यक्तिहरु बढ़ी देखिने गरेका छन् ।

रोचक कुरा के छ भने, विकासशील लोकतन्त्रमा दलीय कट्टरपन रहेको जनसंख्याको ढाँचा उन्नत लोकतन्त्रको ढाँचासँग मिल्दोजुल्दो पाइन्छ। यस्ता सन्दर्भमा दलीय कट्टरपनले मतदाताको रोजाइलाई स्थिर बनाउने, राजनीतिक तर्कलाई आकार दिने र निरन्तर मतदाताको व्यवहारलाई सुदृढ गर्ने कार्य गरेको कुरा हेथ र जिग्फेल्डको अध्यययनले देखाएको छ । यसले पुष्टि गर्छ कि राजनीतिक लेनदेनहरू प्रायः भौतिक प्रोत्साहनहरूमा आधारित भएता पनि भावनात्मक र संज्ञानात्मक सम्बन्धहरूले लोकतान्त्रिक सहभागितालाई अझ स्थायी बनाउन सक्छन्।

तर, दलीय कट्टरपन र प्रलोभनमा भोट हाल्ने प्रथाको सहअस्तित्वले यस्तो निष्ठाको वास्तविक प्रेरणाबारे गम्भीर प्रश्न उठाउँछ। विभिन्न विद्वानहरुका अनुसार पार्टीगत निष्ठा प्रायः विचारधारात्मक विश्वासबाट होइन, बारम्बार हुने लेनदेन र नाफा घाटाको सम्बन्धबाट विकसित हुन्छ।

उदाहरणका लागि, Calvo र Murillo (2004) ले देखाएअनुसार अर्जेन्टिनाको पेरोनिस्ट पार्टीले निरन्तर दलीय सोर्सफोर्सका अधारमा कार्यकर्तालाई जागिर र स्रोत साधन सुनिश्चित गरेर दीर्घकालीन मतदातामा निष्ठा कायम राख्न सफल भयो।

त्यस्तै स्नाइडरले सन् २०२० मा गरेको एक अध्ययनले भारतको गाउँ स्तरको राजनीतिमा मतदाताहरूले गाउँ अध्यक्ष आफैंसँगैको पार्टीका भए निजी फाइदा प्राप्त हुने अपेक्षा राख्ने गरेको देखाएको छ।

दक्षिण एशियाका नृविज्ञानसम्बन्धी अध्ययनहरूले पनि मतदाताको निष्ठा प्रायः पहुँच, प्रभाव, र भौतिक लाभप्रतिको धारणामा आधारित हुने देखाएका छन्।

कमजोर संस्थागत संरचना, चरम जातीय विभाजन र अनौपचारिक राजनीतिक अभ्यास विद्यमान भएका सन्दर्भहरूमा अध्ययनहरूले देखाएअनुसार, चुनावी लेनदेनका सम्बन्धहरूले पार्टीगत पहिचानलाई अझ बलियो बनाउने सम्भावना रहेको अर्को अध्ययनले देखाएको छ ।

विभिन्न अध्ययन अनुसार समष्टिगत रूपमा विकासशील लोकतन्त्रहरूमा दलीय कट्टरपना विचारधारात्मक एकरूपताको अभिव्यक्तिभन्दा बढी यस्तो राजनीतिक प्रणालीको व्यावहारिक अनुकूलन हो, जहाँ नागरिक र राज्यबीचको सम्बन्ध ठोस लाभको आदान प्रदानमा आधारित हुन्छ।

नेपालका दलहरुको अभ्यास अनुसार गुट र ठुटे नेताको आशिर्वादविना दलको प्रतिनिधि वा उम्मेदवार बन्न मुस्किल छ । कांग्रेस, एमालेमा त केही देखावटी अपवादबाहेक आम उम्मेदवारी बिक्रीमा हुने गरेका छन् । मालदार नियुक्ति, संवैधानिक पददेखि राजदूतसम्म बेचिन थालिउका यावत अभ्यास लेनदेन र सट्टावाजीको राजनीतिमा आधारित छन् ।

पछिल्लो अवस्थामा शिक्षा, चेतना र रेमिट्यान्समा आधारित आर्थिक निर्भरता राजनीतिले मतदातासँग गर्ने बजार व्यवस्थामा फेरिएको छ । मानिसहरु लोभमा परेर नेतासँगै सती जान छोडे । २०४६ साल वरिपरि जन्मिएको पुस्ताले ३५-४० वर्ष पुगेर सचेत र गुणात्मक परिवर्तनको चाह राख्न थाले । राजनीतिक बजारको हिसाब-किताब बिग्रिन थालेर हालको जेनजी बिद्रोहले यो परिदृश्य बिस्फोटको अवस्थासम्म आइपुगेको हो । एक देशभक्त नागरिकले फ़लानो दल फ़लानो नेता भानेर कुल देवता थपना गरनु, देशप्रति धोका हो।

नयाँ बन्ने वैकल्पिक राजनीतिमा नयाँ परीक्षित नभएका र राजनीतिक चरित्र नसिकेका व्यक्तिहरु आउने हुँदा त्यसले मात्र देशको राष्ट्रिय तथा अन्तर्रास्ट्रिय मुद्दाहरुलाई बोक्न कठिन देखिन्छ । बेलाबेला नयाँ बनेर आएका माओवादी, मधेसी फोरम, साझा, विवेकशील र नयाँ शक्तिदेखि रास्वपासम्मको प्रयोगले यो पुष्टि गरेको छ

अब देशमा द्वन्द्व र हिंसा अन्त्य गरी सबैमा सद्भाव, विवेक र सहअस्थित्व कायम गर्दै नवनिर्माण, विकास र प्रगतिपथमा लम्किने सामुहिक चेत तथा संस्कार विकास हुन जरूरी देखिन्छ । संरचना खरानी भए पनि हाम्रो सकारात्मक सोच, सामुहिक प्रयास र विषम परिस्थितिमा एकता नडमगाओस् ।

मेरा बाजे, बाऊ फ़लानो पार्टीमा थिए, म पनि यो पार्टी आजीवन छोड़दिनँ भन्ने हठले ओली-देउवा जस्ता शासकले जरा गाड़ने स्थान पाएका थिए । बाउ बाजेको समयअनुसार स्वतन्त्रता र लोकतन्त्रका लागि लडेका दल र नेता त्योबेला उपयुक्त रहे पनि अहिले समय सान्दर्भिक नरहेको हालको बिस्फोटले देखाइसकेको छ । यसर्थ, सक्षम नेता र उम्मेदवारलाई खोजीखोजी मतदान गर्ने बेला आएको छ ।

वि.सं.२०४६ पछि शासन सत्तामा आएका राजनीतिकर्मी आफैं अभिजात वर्गमा परिणत भए । 0६३-0७३ पछि उदाएका कम्युनिस्ट क्रातिकारीहरू यसरी नै नवसामन्तमा रूपान्तरण भए । लोकतन्त्रको छहारीमा युवा र मध्यम वर्गले ओत नपाएर वैदेशिक रोजगारी र पलायनको बाध्यात्मक परिस्थिति सिर्जना भएको हो । हालयस्तो परिस्थिति बनेको छ कि आम मानिसमा नेताको अविश्वसनीयता र राजनीतिको चरम भ्रष्टीकरणले केही देला, होला भन्ने आश मरेको छ । विशेष गरेर स्थापित भनिएका दलहरूका सन्दर्भमा ।

लोकतन्त्रमा एक दल या एक नेतामात्रै गतिलो भएर हुन्न । सबै दलहरु सुध्रिनुपर्छ । साथै नागरिक चेतनाको विकास नभइ दिगो विकास र समृद्धि सम्भव छैन । सबैले नयाँ पुस्ता र समयको मागलाई अङ्गीकार गर्न तयार नभइ यी तमाम सुधार सम्भव देखिँदैन । यसर्थ, थोत्रा राजनीतिक दलका झोला बिसाउने उत्तम अवसर यही हो ।

अगाडिको बाटो

बालेन, हर्क, गोपी हमालहरुमा गरिएको प्रयोग सफल भएको संसदीय व्यवस्थामा एकाध स्वतन्त्रले जितेर सरकार बन्दैन । यसपालि नयाँ दल भनेर व्यक्तिलाई हिरो बनाएर आए सफल नहुने अनि वैकल्पिक भन्ने राजनीतिक चरित्र नभएकाबाट पनि नहुने देखियो ।

पुराना दलहरु कांग्रेस, एमाले, राप्रपाका पुराना नेताहरुका कारणले गर्दा यी दलहरुको जमानत जफत हुने निश्चित प्राय: देखिएको छ । पुराना दलका पुराना नेता मात्र हैन, हाल कायम नेतृत्वमा दलहरु चुनावमा गए दलमा रहेका युवा र आश लाग्दा नेताहरु सबैको जमानत जफत हुने देखिएको छ ।

कांग्रेस, एमाले र माओवादीमा तात्विक भिन्नता रहेन । विशेष गरेर २०७२ को संबिधान बनेर नयाँ अवस्था स्वीकार गरेका यी दलहरु कोरा सैद्दान्तिक रुपमा जे-जे जामा लगाएर छुट्टै दल भएको नाटक गरे पनि व्यवहारिक र चरित्रमा अब फरक रहेनन् । यो अवस्थामा नेपालमा एउटा गतिलो सामाजिक लोकतान्त्रिक धारको गतिलो नयाँ दल उदाए पुराना दलका गतिला नेता-कार्यकर्ताहरु एक ठाउँमा उभिने जमिन तयार हुन सक्ने देखिन्छ ।

नयाँ बन्ने वैकल्पिक राजनीतिमा नयाँ परीक्षित नभएका र राजनीतिक चरित्र नसिकेका व्यक्तिहरु आउने हुँदा त्यसले मात्र देशको राष्ट्रिय तथा अन्तर्रास्ट्रिय मुद्दाहरुलाई बोक्न कठिन देखिन्छ । बेलाबेला नयाँ बनेर आएका माओवादी, मधेसी फोरम, साझा, विवेकशील र नयाँ शक्तिदेखि रास्वपासम्मको प्रयोगले यो पुष्टि गरेको छ ।

यो अवस्थामा हाल पुराना पार्टीका सम्भावना भएका जुझारु युवाहरु, विवेकशील, नयाँ शक्ति, जेनजी अभियानमा उदाएको शक्ति, बालेन शाह, सुमना श्रेष्ठ र कुलमानदेखि महावीर पुनसम्म अटाउने एउटा नयाँ राजनीतिक शक्ति निर्माण हुन सके नेपालले खोजेको परिवर्तनका लागि एउटा कोशेढुंगा बन्न सक्ने देखिन्छ।

लेखक
डा. जगन कार्की

बेलायतमा प्राध्यापनरत डा. कार्की रेमिट्यान्स र वित्तीय समावेशिता सम्बन्धी अनुसन्धाता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?