News Summary
Generated by OK AI. Editorially reviewed.- मानवअधिकार आयोगले व्यवसायी दुर्गा प्रसाईंलाई बोलाएर चैत १५ र भदौ २३/२४ को हिंसात्मक आन्दोलन नहोस् भनी छलफल गरेको छ।
- प्रसाईंले आगामी मंसिर ७ गतेदेखि देशै ठप्प पार्ने आन्दोलन थाल्ने र सुरक्षाकर्मीलाई घरमै बस्न आग्रह गर्ने बताएका छन्।
- आयोगले प्रसाईंको मागमा ऐक्यबद्धता नजनाएको खण्डन गर्दै हिंसात्मक आन्दोलन नहोस् भनी सचेत गराउने तयारी गरेको छ।
१२ कात्तिक, काठमाडौं । मानवअधिकार आयोगले व्यवसायी दुर्गा प्रसाईंलाई बोलाएर छलफल गरेको छ ।
प्रसाईंले आन्दोलन सुरु गर्ने बताइरहेका बेला आयोगले चासो राख्दै बुधबार बोलाएर छलफल गरेको हो ।
२०८१ चैत १५ मा राजावादी समूह तथा पछिल्लो भदौ २३ र २४ को जेनजी आन्दोलन हिंसात्मक बनेको भन्दै त्यसो हुन नदिन सम्बन्धित पक्षलाई सचेत गराउन छलफल थालिएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।
व्यवसायी प्रसाईंसँग बुधबार बिहान साढे ११ बजेदेखि झण्डै एक घण्टा छलफल भएको उनले बताए ।
प्रसाईंसँगको छलफलमा आयोगका अध्यक्ष तप बहादुर मगर, सचिव मुरारी प्रसाद खरेलसहितका पदाधिकारी समेत सहभागी थिए ।
चैत १५ र भदौ २३/२४ को आन्दोलनमा ठूलो मानवीय तथा भौतिक संरचनामा क्षति पुगेकाले त्यसो हुन नदिन आयोगले सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफलको तयारी गरेको प्रवक्ता पोखरेलले बताए ।
प्रवक्ता पोखरेलका अनुसार छलफलमा व्यवसायी प्रसाईंले आफ्नो समूहले आह्वान गर्ने आन्दोलन हिंसात्मक नहुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तर, छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले भने मानव अधिकार आयोगले पनि आफूले उठाउँदै आएका मागमा ऐक्यबद्धता जनाएको दाबी गरेका छन् ।
प्रसाईंले भनेका छन्, ‘तपाईंको आन्दोलन के हो कसो हो ? चैत १५ गते र भदौ २४ जस्तो हुन्छ कि हुँदैन ? उहाँहरूले सोध्नुभयो मैले हाम्रो आन्दोलन त्यो खालको होइन भनें ।’
वैदेशिक रोजगारीमा जाँदा मृत्युवरण गर्नुपर्ने, लघुवित्तको मानसिक यातनाले आत्महत्या गर्नुपर्ने जस्ता मानवअधिकारको विषय हो कि होइन भन्दा आयोगले त्यसमा ऐक्यबद्धता जनाएको प्रसाईंको दाबी छ ।
प्रसाईंले आगामी मंसिर ७ गतेदेखि देशै ठप्प पार्ने गरी आन्दोलन थालिने बताएका छन् । प्रसाईंले त्यसलाई व्यवस्था बदल्ने आन्दोलन भनेका छन् ।
उनले आन्दोलनका दिन सुरक्षाकर्मी र निजामती कर्मचारीलाई घरमै बस्न आग्रह गरेका छन् ।
‘यो व्यवस्था परिवर्तन गरौं, यो अवस्था परिवर्तन गरौं भनेर हामीले मंसिर ७ गतेलाई आन्दोलनको तयारी गरेका छौं,’ प्रसाईंले भनेका छन् ।
आन्दोलनका दौरान संकट आउन सक्ने संकेत गर्दै उनले त्यसअघि नै दैनिक उपभोग्य वस्तुको जोहो गर्न आग्रह गरेका छन् ।
‘कस्तो हुन्छ भन्दैहुनुहुन्थ्यो, आन्दोलन भनेको त्यस्तै हुन्छ, पूर्व मेचीदेखि पश्चिम महाकाली बन्द हुन्छ, बन्द हुँदै गरेको बेला कसैले बन्द उल्लघंन गर्छ, दोकान खोल्छ भने तोडफोड भयो, आगजनी भयो, गाडी फुटायो भने त्यसको जवाफदेही हाम्रो अभियान हुँदैन,’ उनले आयोगलाई दिएको जवाफ सुनाए ।
आयोगका पदाधिकारीले छलफलमा भनेको भन्दै प्रसाईंको दाबी छ, ‘यी तपाईंले उठाउनुपर्ने माग हाम्ले उठाउनुपर्ने हो दुर्गा जी, आज हाम्रा पनि कान खुले, तपाईंले दिनहुँ भन्दै आउनु भएको कुरा कस्तोकस्तो हावा जस्तो लाग्थ्यो तर, सबै कुरा पुगे । हामी पनि तपाईंलाई साथ दिन तयार छौं ।’
तर, आयोगका प्रवक्ता पोखरेलले भने त्यस्तो कुनै कुराकानी र प्रसाईंले उठाएका मागमा ऐक्यबद्धता नजनाइएको भन्दै खण्डन गरे ।
‘कसैले उठाउने मागमा हामीले समर्थन गर्ने, ऐक्यबद्धता जनाउने कुरै हुँदैन, त्यो सत्य होइन, हामीले जसले जे जे माग राखेर आन्दोलन गरेपनि हिंसात्मक हुनुहुँदैन भन्नेमा सचेत गराउने हो, प्रसाईं जी पछि सुरक्षा निकायसँग पनि छलफल गर्ने तयारीमा छौं, उहाँले बाहिर बोल्नुभएको विषयमा आयोग जवाफदेही हुँदैन,’ उनले भने ।
प्रतिक्रिया 4