News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फलफूल थोक व्यवसायी महासंघका अनुसार तिहारपछि फलफूल बिक्रीमा ५० प्रतिशतको गिरावट आएको छ।
- महासंघ अध्यक्ष अमर बानियाँले नेपाली केराको गुणस्तरमा कमी र भारतीय केरासँग प्रतिस्पर्धाले केराको माग घटाएको बताए।
- बानियाँले सरकार र व्यवसायीले केराको गुणस्तर सुधार, प्याकेजिङ, ग्रेडिङ र ढुवानीमा अनुदान र सहयोग दिनुपर्ने बताए।
१२ कात्तिक, काठमाडौं । दशैं र तिहारजस्ता ठूला चाडपर्व सकिए लगत्तै नेपालको फलफूल बजारमा कारोबार घटेको छ ।
नेपाल फलफूल थोक व्यवसायी महासंघका अनुसार तिहारअघिको तुलनामा फलफूल बिक्रीमा ५० प्रतिशतको गिरावट आएको छ ।
महासंघ अध्यक्ष अमर बानियाँले तिहारपछि लगत्तै छठ पर्व परे पनि विगतका वर्षहरूमा जस्तो यसपालि काठमाडौं उपत्यकाको बजारमा अपेक्षित कारोबार नभएको बताए ।
अध्यक्ष बानियाँका अनुसार तिहारमा उपभोक्ताले ठूलो मात्रामा फलफूल किनेर स्टक राखेका कारण तिहारपछि व्यापारमा कमी आएको हो ।
उनले विगतका वर्षहरूमा छठका लागि तराईका जिल्लामा ४–५ ट्रक फलफूल पठाइने गरेको स्मरण गर्दै यसपालि तराईबाट कुनै पनि फलफूलको माग नआएको बताए ।
‘यस वर्षको छठमा केराको माग अपेक्षा गरिएभन्दा निकै कम रह्यो,’ उनले भने ।
अध्यक्ष बानियाँका अनुसार छठ पर्वमा विशेषगरी तराई क्षेत्रमा केराको माग उच्च हुने गर्दछ । तर, यसपालि उपत्यका सहित समग्र बजारमा केराको कारोबार सुस्त रह्यो ।
‘केराको माग घट्नुमा नेपाली केराको गुणस्तरमा कमी, भारतीय केरासँगको प्रतिस्पर्धा र व्यवस्थित उत्पादन प्रक्रियाको अभाव प्रमुख कारणका रूपमा देखिएका छन्,’ उनले थपे ।
यसपालि दशैंदेखि छठसम्म स्वदेशी केराले नै धान्ने र आयात नगर्ने भनिएको थियो । तर, केराको आयात रोक्ने प्रयास सफल हुन नसकेको उनको भनाइ छ ।
बानियाँले आफूले नै टीकापुरबाट ल्याएको केरामा करिब ८ लाख रुपैयाँ घाटा लागेको बताए । जबकि, त्यही परिमाणको केरा भारतबाट ल्याउँदा ५/७ लाख रुपैयाँ नाफा हुने गरेको थियो ।
‘नेपाली केरा ढुवानीका क्रममा चाँडै पाक्ने, राम्रोसँग रङ नबस्ने र क्षति हुने समस्या देखियो,’ अध्यक्ष बानियाँले भने, ‘यसको प्रमुख कारण नेपाली किसानले केरामा युरिया मलको अत्यधिक प्रयोग गरेको हुन सक्ने आशंका छ ।’
भारतबाट आयात गरिएका केरा चार–पाँच दिनसम्म टिक्ने र प्याकेजिङ तथा ढुवानीमा पनि राम्रो हुने भएकाले व्यवसायीहरू नेपाली केरामा लगानी गर्न हिचकिचाएको बानियाँको तर्क छ ।
नेपाली केरामा प्याकेजिङ, ग्रेडिङ र ढुवानीको उचित व्यवस्थापन नहुँदा बजारमा यसले राम्रो मूल्य पाउन नसकेको उनले बताए ।
उनका अनुसार मुस्ताङको स्याउले गुणस्तर, ग्रेडिङ र प्याकेजिङमा ध्यान दिएकाले बजारमा यसको माग उच्च छ र प्रतिकिलो २ सय २० देखि ३ सय ५० रुपैयाँसम्म बिक्री भइरहेको छ । जुम्लाको स्याउले भने गुणस्तर र प्याकेजिङमा ध्यान नदिएकाले बजार पाउन नसकेको उनले उल्लेख गरे ।
नेपाली फलफूल बजारमा आत्मनिर्भर हुनका लागि सरकार र व्यवसायी दुवैले पहल गर्नुपर्ने देखिन्छ । विशेषगरी केराको गुणस्तर सुधार, प्याकेजिङ, ग्रेडिङ र ढुवानीमा राज्यले अनुदान र सहयोग प्रदान गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष बानियाँले जोड दिए । गुणस्तरमा सुधार नआएसम्म व्यवसायीहरू भारतीय केरामा निर्भर रहन बाध्य हुने उनको भनाइ छ ।
समग्र फलफूलको कारोबारमा कमी आउनुमा चाडपर्वपछिको स्वाभाविक मन्दी, बढ्दो चिसो र उपभोक्ताको बदलिँदो किनमेलको ढाँचा मुख्य कारण रहेको उनले उल्लेख गरे ।
प्रतिक्रिया 4