१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलामा बहुसंख्यकले प्रतिनिधिसभाको चुनावपछि मात्रै महाधिवेशन हुनुपर्ने धारणा राखेका छन् ।
ललितपुरमा बुधबार बसेको संस्थापन पक्षको बैठकमा चुनाव अघि महाधिवेशन गर्नुपर्ने विचार न्यून रहेको नेताहरूले जानकारी गराएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहेको बेला दुई महामन्त्रीले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलनको अगुवाइ गरेको भन्दै आपत्ति जनाएका थिए ।
नेता विमलेन्द्र निधिले महाधिवेशन प्रतिनिधिका बारेमा आफूले बोलेका विषयमा नेताहरूलाई जानकारी गराएका थिए ।
पार्टीका औपचारिक तथा अनौपचारिक बैठकमा महामन्त्री गगन थापा स्वयंले वर्तमान समितिको अवधि नथप्ने पटक-पटक भनेको जनाउँदै त्यही विषय आफूले राखेको बताएका थिए ।
नेता मोहन बस्नेतले महामन्त्री थापाको सचिवालयसहित दैनिक खर्चको आर्थिक स्रोत के हो ? भन्दै प्रश्न उठाएका थिए ।
बैठकमा सहभागीहरूले क्रियाशील सदस्यताको टुंगो लगाउने मूल जिम्मेवारी लिएका महामन्त्री थापाले आफ्नो कार्य नसक्ने तर महाधिवेशनको रटान लगाएको आरोप लगाएका थिए ।
क्रियाशील सदस्यताको टुंगो नलागेको हुँदा नियमित महाधिवेशन चुनाव अघि हुनै नसक्ने नेताहरूको जोड थियो ।
संस्थापन पक्षका एक नेताले भने, ‘नियमित महाधिवेशन चुनावपछि गर्ने धेरैको विचार छ । विशेष महाधिवेशन हुनै नसक्ने र त्यसले पार्टी विभाजन गर्ने दृष्टिकोण आएका छन् ।’
२८ असोजदेखि सुरु भएर पर्वहरूका कारण रोकिएको केन्द्रीय समितिको बैठक बिहीबारदेखि सुरु हुँदैछ ।
महामन्त्री थापा र विश्वप्रकाश शर्माले भोलिको बैठकमा नियमितको महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने पक्षमा छन् ।
तर, संस्थापन पक्ष चुनाव अघि महाधिवेशन हुन नसक्ने अडानमा छ । संस्थापन पक्षका नेताले भने, ‘महामन्त्रीको नियमितको कार्यतालिका आउने अवस्था रहे संस्थापन पक्षबाट काउन्टर प्रस्ताव आउन पनि सक्छ ।’
प्रतिक्रिया 4