१६ कात्तिक, काठमाडौं । नेपाली नागरिक शाम्भवी अधिकारीलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको घटनामा आफ्नो भूमिका नरहेको भारत सरकारले स्पष्ट पारेको छ ।
अधिकारी काठमाडौंबाट नयाँदिल्ली हुँदै जर्मनीको बर्लिन जाँदै गर्दा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो ।
भारतको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो घटनामा भारतीय अध्यागमनका कर्मचारीको भूमिका नरहेको बरु उनले टिकट काटेको सम्बन्धित एयरलाइन्सले नै फर्काएको प्रष्टीकरण दिएको हो ।
‘यस सन्दर्भमा स्पष्ट पारिन्छ कि यस सम्पूर्ण घटनामा भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका छैन’, भारतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उनी एयर इण्डियाको विमानमार्फत काठमाडौंबाट दिल्ली आइपुगेकी थिइन् र त्यसपछि कतार एयरवेजको अर्को विमानमार्फत बर्लिन जान लागेकी थिइन् । उनलाई यात्रा गर्न नदिने निर्णय एयरलाइन्सले नै गरेको हो ।’
शाम्भवीको भिसा वैधता हेरेर जर्मनीको गन्तव्य देशका नियम तथा आवश्यकताका आधारमा उनलाई बोर्डिङ अनुमति नदिएर एयरलाइन्सले नै काठमाडौं फर्काएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा थप लेखिएको छ, ‘यस्तो प्रक्रिया प्राय: गन्तव्य देशका कानुनी प्रावधानअनुसार नै गरिन्छ । उनले पछि आफ्नो यात्रा मिति फेरि तय गरी काठमाडौंबाट अर्को मार्ग प्रयोग गरेर जर्मनी गएकी थिइन् ।’
शाम्भवीलाई भारतबाट काठमाडौं फर्काइएको घटना सार्वजनिक भएपछि भारतीय पक्षले नेपालका नागरिकहरूप्रति पूर्वाग्रह वा भेदभाव गरेको भन्दै आलोचना भएको थियो । तर भारतको गृह मन्त्रालयले त्यसलाई गलत रूपमा प्रस्तुत गरिएको जनाएको छ ।
‘अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुहरूलाई आफ्नो अगाडिको यात्राका लागि भारतीय अध्यागमनसँग सम्पर्क गर्नुपर्ने हुँदैन । यो यात्रु र एयरलाइन्सबीचको मामिला हो, जसमा भारतीय अध्यागमन अधिकारीहरूको कुनै संलग्नता हुँदैन,’ भारतको गृह मन्त्रालयले भनेको छ ।
मन्त्रालयले नेपालका नागरिकहरूप्रति कुनै पनि भारतीय निकायको पूर्वाग्रह वा भेदभाव नरहेको पनि प्रष्ट्याएको छ ।
के भएको थियो ? हेर्नुहोस् शाम्भवीको अनुभव उनकै शब्दमा-
दिल्ली एयरपोर्टमा नेपाली पासपोर्ट बोक्दाको पीडा
‘नेपाली पासपोर्ट कमजोर छ’ भनेर मानिसहरूले भन्ने कुरा म वास्तवमै बुझ्दिनथेँ। त्यो कुरा मैले आफैंले अनुभव नगरेसम्म, नदुखेसम्म, नदेखेसम्म बुझिनँ, बुझ्न चाहिन।
केही हप्ता अघि म जर्मनीको बर्लिनमा हुन गइरहेको वर्ल्ड हेल्थ समिटमा सहभागी हुन जानुपर्ने थियो।
म अत्यन्त उत्साहित थिएँ यो मेरो जीवनकै सबैभन्दा गज्जब क्षणहरु मध्ये एक थियो किनकि म मेरो देश र मेरो संस्थाको प्रतिनिधित्व गर्दै युवा प्रतिनिधिको रूपमा जर्मनी जाँदै थिएँ।
मसँग सबै आवश्यक कागजपत्र थिएः
निमन्त्रणा र स्पोन्सर लेटर, भिसा, पासपोर्ट, फ्लाईटको जाने र फर्किने टिकट, होटेलको विवरण, सबै ठीक र वास्तविक।
मैले काठमाडौँबाट दिल्लीसम्म एयर इन्डियाको फ्लाइट लिएकी थिएँ र त्यहाँबाट कतार एयरवेज हुँदै बर्लिन पुग्ने योजना बनाएकी थिएँ।
यो मेरो लागि सबैभन्दा सस्तो मार्ग थियो, किनभने टिकटको खर्च मैले आफैं व्यहोर्नु परेको थियो। तर मलाई थाहा थिएन, यो ‘सस्तो’ बाटोले मलाई धेरै ठूलो कुरा गुमाउन बाध्य पार्नेछः
मेरो आत्मसम्मान, मेरो शान्ति, र मेरो सुरक्षाको अनुभूति।
मलाई दिल्ली बिमानस्थलमा ढ्याक्क रोकियो। एउटा संदिग्ध अपराधीजस्तै।
विमानस्थलमा अधिकारीहरूले मलाई प्रश्नै प्रश्न सोधे:
‘तिमीलाई कसले बोलाएको?’
‘किन जाँदैछौ?’
‘के तिमी साँच्चिकै विद्यार्थी हौ?’
‘तिमीसँग पर्याप्त पैसा छ?’
‘त्यहाँ कहाँ बस्छौ?’
‘तिमी जस्तो नेपालीले यस्तो सम्मेलनमा किन जानुपर्यो?
‘त्यहाँ को को को वक्ता छन् र तिमी कुन–कुन सत्रमा सहभागी हुन्छौ?’
त्यतिबेलासम्म म शान्त रहेँ।
मैले आफूसँग भएका सबै प्रमाण देखाएँ। हरेक प्रश्नको जवाफ दिएँ।
तर मेरा उत्तरले उनीहरू सन्तुष्ट भएनन्।
निरन्तर आधा घण्टाको सोधपुछपछि पनि मलाई जान दिईएन। मलाई फोनबाट अर्को अधिकारीले अपराधीलाई जस्तै झैँ सोध्दै थियो। न कुनै आदर न कुनै सम्मान। निरन्तर प्रश्नै प्रश्न।
अन्त्यमा ती अधिकारीले भने, ‘तिम्रो यो यात्रा शंकास्पद छ।’
त्यसपछि उनले मेरै अगाडि मेरो बोर्डिङ पास च्यातिदिए।
त्यसपछि मलाई ८ घण्टा विमानस्थलभित्रै नजरबन्द गरियोः
पासपोर्ट बिना, झोलाबिना, खाना–पानी वा इन्टरनेट बिना।
मलाई कतै हल्लिन दिईएन। बाथरूम जान, केही खान समेत दिइएन।
मैले अत्यन्त अपमानित महसुस गरेँ। चारैतिर अँध्यारो थियो।
म असहाय भएँ।
एक जना दयालु नेपाली यात्रुको सहायताले मात्रै म नेपाली दूतावाससँग सम्पर्कमा पुग्न सकेँ। दूतावासले नेपाल एयरलाइन्समार्फत मलाई फर्काउने प्रयास गर्यो।
तर, एयर इन्डियाले अन्य एयरलाइन्सबाट समेत फर्कन नदिँदा, मलाई रातभर विमानस्थलमै रोकियो मानौं मैले ठूलो अपराध गरेकी थिएँ।
एक अधिकारीले म तिर नराम्रो नजरले हेर्दै भने,
‘तिम्रो प्रोफाइल क्लिन छैन, तिमी युरोपका कुनै देशमा पनि सजिलै पुग्न सक्दैनौ।’
त्यो सुनेर म भित्रभित्रै टुटेँ। डरले भरिएँ।
त्यो रात, म चुपचाप रोएँः डर, आक्रोश र पीडामा।
म त केवल एउटा विद्यार्थी थिएँ, जसलाई सम्मेलनमा बोलाइएको थियो।
अन्ततः नेपाल एयरलाइन्सले हस्तक्षेप गर्यो र मलाई नेपाल फर्काईयो।
भोलिपल्ट म काठमाडौंस्थित कतार एयरवेज र जर्मन दूतावास दुवैमा गएँ।
उनीहरूले मलाई एकपटक पनि प्रश्न गरेनन्।
सबै कागजात हेरे, मुस्कुराए अनि भनेः
‘तपाईँको सबै कुरा ठीक छ, हामीलाई कुनै आपत्ति छैन।’ तपाईप्रति भएको ब्यवहारको हामी क्षमायाचना गर्छौँ।’
जब अन्ततः म कतार एयरवेज हुँदै दोहा ट्रान्जिट लिएर बर्लिन पुगें, जर्मनीको बर्लिनमा इमिग्रेशन अफिसरले मुस्कुराउँदै भनेः
‘ह्याभ र नाइस स्टे, मिस अधिकारी । गुड लक विथ योर कन्फरेन्स ।’
किनभने मसँग नेपाली पासपोर्ट थियो, मलाई शंका गरियो।
किनभने म सानो देशको नागरिक थिएँ, मलाई सम्भावित जोखिमको रूपमा हेरियोः
न त युवा प्रतिनिधिको रूपमा,
न त सिक्ने उत्साहीको रूपमा,
न त स्वप्नदर्शीको रूपमा।
अहिले म देश फर्किएर सोचिरहेकी छुः
यसमा के गल्ती मेरो थियो?
कि मैले केही दिन मेरो र परिवारको ईच्छा अनुसार युरोप हेर्न/घुम्न चाहेँ, जसका लागि म सक्षम थिएँ।
के मेरो देशको प्रतिनिधित्व गर्नु अपराध थियो?
नेपाली पासपोर्ट बोक्नु मेरो गल्ती हो?
त्यो अनुभवले मलाई भित्रभित्रै भत्कायो,
तर आँखासमेत खोलिदियो।
जब हामी यात्रा गर्छौं, हामी पासपोर्ट मात्र बोक्ने रहेनछौँ
हामी त हाम्रो देशको छवि, हाम्रा संघर्ष, र संसारले हामीलाई कसरी हेर्छ भन्ने भारी पनि बोकेर हिँडिरहेका हुने रहेछौँ।
र कहिलेकाहीँ, त्यो भारी असह्य रूपमा भारी लाग्ने रहेछ।
कसरी होला यो भारी हलुका? हाम्रो राजनीति बिग्रेर त यसो भएको होला नि !
(अधिकारीले सामाजिक सञ्जालमा शेयर गरेकी पीडादायी अनुभव नेपाली भावानुवाद)
प्रतिक्रिया 4