+
+
Shares

विद्रोहपछिको डेलिभरीमा चुक्नुहुन्न जेनजी

आन्दोलन गरेर मात्र हुँदैन, विद्रोह पछिको डेलिभरी गर्न भिजन,कार्यक्रम, र प्रबन्ध त्यसै अनुसारको हुनुपर्छ भन्ने कुरामा जेनजी पुस्ता जानकार हुनुपर्छ ।

डा. लोक भट्टराई डा. लोक भट्टराई
२०८२ कात्तिक १६ गते १३:३२

नेपालमा जेनजी आन्दोलनमा ठूलो संख्यामा सर्वसाधारणको समर्थन रह्यो । आन्दोलनको क्रममा जुन अक्षम्य हिंसा भयो । दोस्रो दिन सार्वजनिक सम्पत्तिको अकल्पनीय विनाश भयो । यो भर्त्सना योग्य छ । त्यो नरसंहार र सार्वजनिक सम्पत्ति विनाससँग जोडिएका जो सुकै भए पनि कठघरामा आउनै पर्छ । त्यसमा जेनजीको संलग्नता थियो भने जेनजीले पनि जिम्मेवारी लिनुपर्छ । उपलब्धिमा दाबी गर्नेले जिम्मेवारी लिनुपर्ने प्राकृतिक न्यायको सिद्धान्त नै हो ।

यसबेला जेनजी आन्दोलन एवं नेपाल र नेपालीको भविष्यसँग जोडिएका धेरै प्रश्नहरू अनुत्तरित छन् । यतिबेला जे उपलब्धि भएको छ, त्यसको उपयोग गर्ने कुरामा सबैको र खासगरी जेनजी पुस्ताको ध्यान जान जरुरी छ ।

साथै अर्को के कुरा प्रष्ट हुन जरुरी छ भने आन्दोलन जेनजीले अगुवाइ गरेको भए पनि त्यो समग्र देशको भावना थियो र अरु वर्गको पनि नैतिक समर्थन थियो । जसका कारण यो आन्दोलन सफल हुन सकेको हो । अत: अब गरिने सुधारको कार्यक्रम जेनजी पुस्तालाई मात्र हैन देशका लागि हुनुपर्छ । जेनजी पुस्ताले आफ्नो पुस्ताको भावना व्यक्त गर्न वा माग राख्न सक्छ, झन् अहिले त उनीहरू नै मुख्य स्टेकहोल्डर भएका छन् । तर सँगसँगै ‘हामी मात्रै हौं ‘ भन्ने भावना लिएको भए जेनजीले त्यो त्याग्नु पर्छ ।

विगतमा पार्टीहरुमा बूढा नेताको हालीमुहाली थियो । तसर्थ एक हिसाबले सबैलाई पाको मान्छे चाहिं हरेक हिसाबले निकम्मा र आउट-डेटेड भन्ने भ्रम परेको हो । जुन कुरालाई त्यत्ति सजिलै त्यसरी सामान्यीकरण गर्नु हुँदैन ।

माथि भने झैं अब सबैभन्दा मुख्य कुरा, आन्दोलनको परिणामलाई जनताको चाहना पूरा गर्ने कुरामा प्रयोग गर्नुपर्ने चुनौती खडा छ । त्यो सजिलो छैन, नेपालको सन्दर्भमा त झन् पटक्कै छैन । यसका लागि एउटा कुरा जानेर, बुझेर वा एउटा काम गरेर वा विषयको विज्ञताबाट मात्र त्यो सम्भव छैन ।

भ्रस्टाचार निर्मुल गर्ने व्यवस्था गर्नुछ, कानुनको राज स्थापित गर्नुछ, प्रशाशन र व्यवस्था निकम्मा छ त्यसलाई यु-टर्न गराउन आवश्यक छ । शिक्षा, स्वास्थ्य, रोजगारी उद्ध्यम, कृषि, वातावरण, ऊर्जा, निर्यात व्यापार, उत्पादन, वितरण, यातायात, आदि, गर्नु पर्ने धेरै छ । त्यो सबै गर्न जेनजी पुस्ता मात्र सक्षम छन् भन्ने कदापी हैन । त्यसैले अगाडिको प्रश्न भनेको- अब त्यो सब कसरी गर्ने ? स्रोत कहाँबाट ल्याउने, योजना कसरी बनाउने, लागू कसले, कहाँ, कसरी गर्ने भन्ने हो ।

राजनीतिक प्रणाली, संविधान, कानुन निर्माण र अन्तर्राष्ट्रिय मान्यता र समर्थनको अर्को पाटोको कुरा त झन् बेग्लै पाटो भयो । त्यसमाथि नयाँ सरकारको पहिलो केही दिनको काम हेर्दा आशाभन्दा निराशा गर्ने कुरा नै बढी देखिन्छ । पुरानो पद्दतिभन्दा माथि उठेर काम गर्ने भिजन भएका मान्छे आवश्यक पर्छ भन्ने सोच ल्याउन जरुरी छ ।

असफलताको उदाहरण बनेका देशहरुमा सैनिक संलग्नता र हस्तक्षेप, सुरक्षाको चुनौती, ल एण्ड अर्डर, वैदेशिक हस्तक्षेप, विद्रोहीहरुका बीच मनमुटाव, पुराना एलिटहरुको बोलबाला रहिरहने अवस्था जस्ता चुनौती देखिएका थिए

नेपालदेखि बाहिर बसेर प्रतिष्टित डिग्री र अनुभव भएका नेपालीको ठूलो समुदाय रहेको छ तर त्यतातिर सोच र दृष्टि पुगेको देखिएन । संसारमा यस्तै जन-विद्रोह पछि उल्लेख्य प्रगति गर्ने देशहरु पनि छन्, परिस्थिति झन् बिग्रेका देशहरु पनि छन् । जहाँ विद्रोहले अभूतपूर्व सुधारको बाटो लियो चाहे त्यो अर्मेनिया होस्, या जर्जिया होस्, या दक्षिण कोरिया । ती देशले विदेशमा रहेका आफ्ना नागरिकको क्षमताको प्रयोग गर्ने कुरालाई महत्व दियो, दिएको देखियो ।

अर्मेनियाले ‘डायस्पोरा मन्त्रालय’ नै स्थापना गर्‍यो । जर्जियाले त्यहाँको चर्चित ‘रोज रिभोलुसन’ पछि ‘मिनिस्ट्री फर रिफर्म को-अर्डिनेसन’ स्थापना गरेको थियो ।

तर, सबै कुरा दिन वा गर्न जेनजी अहिल्यै र आजै सफल हुनु पर्छ भन्ने हैन । मलाई थाहा छ, जसरी जेनजीको आन्दोलन उठ्यो त्यस हिसाबले हेर्दा यसको कुनै संगठन र अधिकारिक नेता नहुनु अनौठो पनि हैन ।

उदाहरण धेरै देशको हुन सक्छ, तर म मुख्य गरि यहाँ ४ वटा देशको बारेमा कुरा गर्नेछु । इजिप्ट, सुडान, युक्रेन र लिबिया ।

अफ्रिकी मुलुक इजिप्टमा २०११-२०१३ का बीच ‘अरब स्प्रिङ’ भनेर जानिने विशाल विद्रोह भएको थियो । विद्रोहका क्रममा आर्थिक वृद्धि, बेरोजगारी, भ्रस्टाचारको मुद्दा जोडतोडले उठेको भए पनि मोर्सि सरकारले विद्रोहको भावना अनुसार कामै गर्न सकेन ।

त्यस्तै २०११ मा लिबियामा उठेको ठूलो विद्रोहले कर्नेल गद्दाफीको शासन ढालेको थियो । विद्रोह पछिको सरकारले पुनर्निर्माण, मिलिसिया आतंकको अन्त, प्रजातान्त्रिक वातावरण दिने कुरामा प्रतिबद्धता गरे पनि त्यो हुन सकेन । बरु दैनिक आवश्यकताको कुरामा कटौती, राष्ट्रिय विखन्डन, भ्रष्टाचार जस्ता कुरा बढेर गए । त्यस्तै अर्को उदाहरण हुन सक्छ सुडानको ।

सन् २०१८-१९ ताका अफ्रिकी मुलुक सुडानमा ओमार बसिर सरकार प्रति भयङ्कर विद्रोह भड्केको थियो । सुरुवात दैनिक उपभोग्य वस्तुमा भएको अचाक्ली मूल्य वृद्धिको कुरालाई लिएर भएको थियो । त्योसँगै आर्थिक सुधार, भ्रस्टाचार नियन्त्रण, जन-उत्तरदायी सरकार जो विद्रोहीले चाहेका थिए, त्यो विद्रोहबाट जन्मेको सरकारले दिनै सकेन । त्यसै गरि २००४-२००५ ताका सोभियत संघ टुक्रिएर बनेको मुलुक युक्रेनमा व्यापक जन-विद्रोह भड्केको थियो ।

‘अरेन्ज रिभोलुसन’ भनेर चिनिने त्यो विद्रोह मार्फत जनताले भ्रस्टाचारको अन्त्य, आर्थिक बृद्धि, रुसी हस्तक्षेपको अन्त्य हुनु पर्ने जस्ता माग राखेका थिए । तर जनताको चाहना त पूरा भएन नै, देश झन् अस्थिर दिशा तिर मोडियो, आन्दोलनकारी नेताहरु बीचमै तानातानी र संघर्ष हुन थाल्यो ।

यी प्राय सबै असफलताको उदाहरण बनेका देशहरुमा सैनिक संलग्नता र हस्तक्षेप, सुरक्षाको चुनौती, ल एण्ड अर्डर, वैदेशिक हस्तक्षेप, विद्रोहीहरुका बीच मनमुटाव, पुराना एलिटहरुको बोलबाला रहिरहने अवस्था जस्ता चुनौती देखिएका थिए । नेतृत्व छनवट, नीति, कार्यक्रम, योजना, संस्थागत सुधार, संचार र समन्यव लगायत तमाम कुरामा कमजोरी त भएकै थिए । तसर्थ यी चार वटा मात्रै उदाहरणले पनि हाम्रो देशको जेनजी विद्रोह र त्यसपछि काम गर्न अघि सर्नेहरुलाई सावधान र सचेत गराउन सक्छ ।

आन्दोलन गरेर मात्र हुँदैन, विद्रोह पछिको डेलिभरी गर्न भिजन, कार्यक्रम, र प्रबन्ध त्यसै अनुसारको हुनुपर्छ भन्ने कुरामा जेनजी पुस्ता जानकार हुनुपर्छ ।

डा. भट्टराई, विकासविद् एवं उच्च शिक्षा र उद्यमशीलता प्रवर्धनमा क्रियाशील छन् ।

लेखक
डा. लोक भट्टराई

(विकासविद् डा. भट्टराई उच्च शिक्षा एव् उद्यमशीलता प्रवर्धनको क्षेत्रमा क्रियाशील छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?