+
+
Shares

जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

‘केही जेनजी बरालिए, केही उग्र छन्’

आफूसँग पनि कतिपय जेनजीहरू आएर चर्का कुरा गरेर जाने, कतिपय चाहीँ बाहिर गएर मनोमानी बोल्ने गरेको गुनासो गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते २०:४०

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई दल खोजेर जनताबाट अनुमोदित हुनका लागि आग्रह गरेको बताएकी छिन् ।

आइतबार बालुवाटारमा भएको सात प्रदेशका मुख्यमन्त्रीसँगको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।

स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिने उल्लेख गर्दै निर्वाचन र राजनीतिक दल एक अर्काका परिपूरक भएको जिकिर गरिन् ।

‘स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्तिहरू पनि चुनाव लड्न दल खोल्दै छन् । जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौं ।’

उनले केही जेनजीहरू बरालिएको र केही उग्र हुँदै गएको पनि जिकिर गरिन् ।

‘कोहीकोही बरालिएका छन्, कोही उग्र पनि छन् । उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ,’ उनले भनिन् ।

आफूसँग पनि कतिपय जेनजीहरू आएर चर्का कुरा गरेर जाने, कतिपय चाहीँ बाहिर गएर मनोमानी बोल्ने गरेको गुनासो गरिन् ।

‘कतिपय जेनजी यहीँ आएर चर्का कुरा गरेर जान्छन् । कतिपय यहाँ भित्र ठिकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन् । जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन् । सिक्दै छन्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन् । हामीलेभन्दा धेरै कुरा उनीहरूले जानेका छन् ।’

कतिपय कुरा लेख्दा, बोल्दा तलमाथि भएको भए पनि नियतमा खराब नभएको जिकिर गरिन् ।

‘तर, हाम्रो नियत खराब छैन । कसैले आशंका पाल्नुपर्ने कारण छैन। हामी तपाईँहरूसँग सहकार्य गरेर नै अघि बढ्ने हो । संविधानले दिएको परिधिभित्रै रहेर काम गर्ने हो । संविधानले बनाएका संरचनाको सम्मान गर्नु नै पर्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?