‘मलाई स्यालले टोक्यो । घाउमा लगाउने रेबिजविरुद्धको खोप त्यहाँ नभएकोले काठमाडौँ आएको हुँ ।’ काठमाडौँ बाहिरको जिल्लाबाट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा (टेकु अस्पताल) आइपुगेका एक घाइतेले मसँग गरेको संवाद हो यो ।
उहाँलाई जीवन रक्षक मानिने ‘रेबिज इमुनोग्लोबुलिन’ खोप लगाउन त्यहाँको अस्पतालले यहाँ पठाएको थियो। रेबिजविरुद्ध दिइने नियमित खोपबाहेक विशेष परिस्थितिमा यो खोपको अनिवार्यता पर्छ । यो खोप घाउको वरिपरि दिने गरिन्छ।
माथि उल्लेखित सम्वाद एक प्रतिनिधि उदाहरण मात्र हो। यसरी मोफसलका जिल्लाहरूबाट हप्तामा दर्जनौं घाइते बिरामीलाई रेबिज इमुनोग्लोबुलिन खोपका लागि टेकु अस्पतालसम्म धाउनुपर्ने बाध्यता रहेको छ । यसको अर्थ रेबिज इमुनोग्लोबुलिन खोपको उपलब्धता सबै स्वास्थ संस्था (केन्द्र) मा छैन भन्ने हो।
टेकु अस्पतालले सबैलाई रेबिज इमुनोग्लोबुलिन खोपको सहज सेवा प्रदान गर्दै आइरहेको भए तापनि घाइते बिरामीले तय गर्नुपर्ने लामो यात्रा, मानसिक तनाव र कहिलेकाहीँ बसोबास समेतको समस्याको सामना गर्नुपर्ने हुन्छ।
काठमाडौँ नजिकैका जिल्लाहरूबाट टेकु अस्पताल आउँदा पनि यातायातमा देखिने जामलगायत अरू विभिन्न कारणले पूरै दिन खर्चिनुपर्ने बाध्यता छ।
हाल टेकु अस्पतालमा दैनिक औसतमा ३० देखि ३५ जनाले रेबिज इमुनोग्लोबुलिन लगाउने गर्छ्न भने यसमा आधाभन्दा बढी अस्पतालभन्दा बाहिरबाट रिफर भएर आउनेहरू छन्। अर्थात्, वार्षिक औसतमा ५ हजारभन्दा बढी घाइते बिरामी रेबिज इमुनोग्लोबुलिन खोप लगाउन मात्र पनि बाहिरबाट (काठमाडौँ बाहिरका जिल्लाहरूबाट समेत) रिफर भएर टेकु अस्पताल आउन बाध्य हुने गरेका छन्।
जनावरले टोकेपछि ‘एन्टी रेबिज’ (दिने तरिकाको आधारमा तीन वा चार पटक पाखुरामा दिने गरिन्छ) र रेबिज इमुनोग्लोबुलिन गरी दुई प्रकारको रेबिजविरुद्धको खोप दिइन्छ।
एन्टी रेबिज खोप सामान्यतया जनावरले टोक्ने बित्तिकै दिने गरे पनि रेबिज इमुनोग्लोबुलिन भने घाउको प्रकृति हेरेर स्वास्थकर्मीले आवश्यकता ठाने लगाउनको लागि सिफारिस गर्ने गर्छ्न।
विश्व स्वास्थ संगठनको निर्देशिकाले घाउलाई पहिलो, दोस्रो र तेस्रो श्रेणी (क्याटेगरी १,२ र ३) गरी ३ भागमा वर्गीकरण गरेको छ। निर्देशिकाले तेस्रो श्रेणीमा पर्ने घाउलाई (गम्भीर प्रकृतिको) रेबिज इमुनोग्लोबुलिन दिन सिफारिस गरेको छ।
रेबिज इमुनोग्लोबुलिन खोपको मुख्य उद्देश्य घाउमा भएको रेबिज भाइरसलाई तत्काल निष्क्रिय पार्नु हो। खासगरी पाखुरामा दिने एन्टी रेबिज खोपलाई भाइरसविरुद्ध आवश्यक पर्ने एन्टीबडीको स्तर विकशित हुन एक हप्ता लाग्ने भएकोले यो समय अवधिभित्र रेबिज इमुनोग्लोबुलिन खोप दिनुपर्ने हुन्छ। तर कसैले एन्टी रेबिज खोप (पहिलो खोप लगाएको) लगाएको एक हप्ता भइसकेको छ भने दिने गरिँदैन। कहिलेकाहीँ कतिपय घाइतेहरू विभिन्न कारणले खोप लगाएको एक हप्तापछि पनि आउने गरेका छन्।
तसर्थ, स्वास्थकर्मीले जो कोहीलाई रेबिज इमुनोग्लोबुलिन खोपको आवश्यकता देखेमा र आफू कार्यरत स्वास्थ केन्द्र वा अस्पतालमा उपलब्ध नभएको अवस्थामा पहिलो खोप लगाएको एक हप्ताभित्र यो खोप लगाउन सल्लाह/परामर्श दिनुपर्छ। किनभने, कतिपयले घाइतेले आफूलाई त्यस्तो परामर्श नदिएको भन्ने गरेको पाइन्छ ।
हाल रेबिजविरुद्धको खोप छालामुनि र मासुभित्र गरी दुई प्रकारले दिने गरिन्छ। छालामुनि दिने खोप दुई पाखुरामा ३ मात्रा (०, ३ र ७ दिनमा) दिइन्छ भने मासुभित्र दिने खोप एउटा पाखुरामा ४ मात्रा (०, ३, ७ र १४ दिनमा) दिइन्छ। यद्यपि, निजी क्लिनिक वा अस्पतालमा भने अहिले पनि ५ मात्रा दिने गरेको पाइन्छ।
कतिपयले पहिला रेबिज इमुनोग्लोबुलिन लगाएर मात्र एन्टी रेबिज खोप लगाउने गरेको पनि पाइन्छ। यदि घाउको प्रकृति तेस्रो श्रेणीको हो भने दुवै खोप सँगै लगाउन सकिन्छ।
केही वर्ष अगाडि तराईमा स्यालको टोकाइबाट ५० भन्दा बढी घाइते भएका थिए। तीमध्ये केहीमा टोकाइको प्रकृति अति गम्भीर किसिमको थियो। उनीहरूले एन्टी रेबिज खोप लगाए पनि रेबिज इमुनोग्लोबुलिन तत्काल लगाउन नपाउँदा मृत्युवरण गर्नुपरेको थियो।
उनीहरूको नाक, मुख र हातका औंलाहरूमा गम्भीर चोट देखिएको थियो। सम्भवत: उनीहरूले तत्काल रेबिज इमुनोग्लोबुलिन खोप लगाउन पाएको भए मृत्युवरण गर्नुपर्ने अवस्था हुने थिएन। यसबाट पनि रेबिज इमुनोग्लोबुलिन खोपको महत्व देख्न/महसुस गर्न सकिन्छ।
यदि घाइतेको घाउ तेस्रो श्रेणीको देखिन्छ तर उसले पहिले कुनै समयमा एन्टी रेबिज खोपको मात्रा पूरा गरेको थियो भने रेबिज इमुनोग्लोबुलिन खोपको आवश्यकता पर्दैन। तसर्थ स्वस्थाकर्मीले पनि घाइते बिरामीले पहिले कुनै समयमा एन्टी रेबिज खोपको पूरा मात्रा लगाए/नलगाएको बारेमा सोध्नु महत्वपूर्ण हुन्छ ।
अन्त्यमा, यो लेखको मुख्य उद्देश्य जीवन रक्षक मानिने रेबिज इमुनोग्लोबुलिन खोप काठमाडौँ बाहिर तथा मोफसलका जिल्लाहरूमा पनि सहज उपलब्ध होस्/हुनुपर्छ भन्ने हो।
विगतमा यो खोप तत्काल/छिटो लगाउन नपाउँदा घाइतेले मृत्युवरण गर्नुपरेको मेरो अनुभव छ। विशेषत: तराईका जिल्लाहरूमा अहिले पनि रेबिज इमुनोग्लोबुलिन खोपको सहज पहुँच देखिँदैन। यद्यपि, त्यहाँ रेबिज संक्रमित स्याल, कुकुर जस्ता जनावरको टोकाइको जोखिम उच्च देखिँदै आइरहेको छ।
यो खोप तेस्रो श्रेणीको घाउमा जति चाँडो लगाउन सकियो उति नै रेबिज रोगबाट बिरामीलाई बचाउन सक्ने सम्भावना बलियो हुन्छ । तसर्थ, रेबिज इमुनोग्लोबुलिन खोप सेवा कम्तीमा पनि प्रदेश अस्पतालहरूसम्म विस्तार गर्न सके र सो बारेमा स्वस्थाकर्मीहरूलाई जानकारी दिन सके रेबिजबाट हुनसक्ने मृत्युबाट धेरैलाई बचाउन सकिने थियो।
स्मरण रहोस्, रेबिज रोगबाट अहिले पनि वर्षेनी दर्जनौं नेपालीले मृत्युवरण गर्नुपर्ने बाध्यता छ।
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
प्रतिक्रिया 4