News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
- पक्राउ परेकामध्ये होमप्रसाद पौडेल, टिकाराम विक, युवराज क्याप्छाकी, सोनाम तामाङ र अनुयम भण्डारीलाई कारागार चलान गरिएको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सात जना अझै हिरासतमा रहेको र अनुसन्धान अन्तिम चरणमा पुगेको बताए।
१७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका पाँच जना कारागार चलान भएका हुन् ।
असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
त्यसैगरी प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासे घर भएका २१ वर्षीय सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ पक्राउ परेका थिए । उनीहरू पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका कैलालीका अनुयम भण्डारी पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
भण्डारीले काठमाडौंको क्रिकेट एकेडेमीदेखि भारतसम्म पुगेर क्रिकेटको ट्रेनिङ लिएका थिए । कैलालीको लम्मीचुहा नगरपालिका–४ घर भएका १९ वर्षीय भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीबाटै पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।
भण्डारीलगायतका व्यक्तिले जेनजी आन्दोलनको दिन २४ भदौमा सहायक हवल्दार गुरुङको हत्या गरेका थिए ।
जेनजी आन्दोलनमा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।
प्रहरी हत्या आरोपमा अहिले पनि ७ जना हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
उनका अनुसार अहिले हिरासतमा सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, सुमित तितुङ, दिपक मगर, अलिश श्रेष्ठ र सौरभ तामाङ छन् । उनीहरूको अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही दिनमै मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।
प्रतिक्रिया 4