News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेशमा गत हप्ताको बेमौसमी वर्षाले ८९६ हेक्टर धानबालीमा १३ करोड ४३ लाख मूल्य बराबरको पूर्ण क्षति पुर्याएको छ।
- क्षति भएका जिल्लामा रुपन्देही २४० हेक्टर, गुल्मी २२२ हेक्टर, नवलपरासी पश्चिम २०१ हेक्टर र कपिलवस्तु १४४ हेक्टर धानबाली पूर्णरूपमा नष्ट भएको छ।
- प्रदेशमा ५६.८२ प्रतिशत धानबाली विना क्षति थन्किएको र ४०.६७ प्रतिशत धान काट्न बाँकी रहेको कृषि निर्देशनालयले जनाएको छ।
२० कात्तिक, बुटवल । गत हप्ताको बेमौसमी वर्षाका कारण लुम्बिनी प्रदेशमा १३ करोड ४३ लाख मूल्य बराबरको धानबालीमा पूर्ण क्षति भएको छ ।
वर्षाले लुम्बिनीका १२ जिल्ला मध्ये ७ जिल्लाका ८९६ हेक्टरमा लगाइएको धानबाली क्षति भएको हो ।
३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा प्रति क्वीन्टल समर्थन मूल्य र ४.३३ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्वका आधारमा यो क्षति भएको प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले जानकारी दिए ।
यो वर्ष लुम्बिनी प्रदेशमा २ लाख ९८ हजार १० हेक्टरमा धान रोपिएकोमा प्रारम्भिकरूपमा संकलन भएको विवरण अनुसार कूल बालीको ०.३० प्रतिशत धान पूर्णरूपमा क्षति भएको अधिकृत गैरेले बताए ।
निर्देशनालयका अनुसार सबैभन्दा बढी रुपन्देहीको २४० हेक्टर र सबैभन्दा कम बर्दियामा ५ हेक्टरको धानबाली पूर्ण क्षति भएको छ ।
बढी क्षति हुने जिल्ला मध्ये दोस्रोमा गुल्मीको २२२ हेक्टर, तेस्रोमा नवलपरासी पश्चिमको २०१ हेक्टर र चौथोमा कपिलवस्तुको १४४ हेक्टरको धानबाली पूर्णरूपमा क्षति भएको छ ।
यस्तै अर्घाखाँचीमा ५३ हेक्टर र पाल्पामा ३२ हेक्टर खेतको धान बालीमा पूर्ण क्षति भएको छ ।
‘प्रतिशतमा हेर्दा थोरै भएपनि किसानको व्यक्तिगत धान खेतीको हिसाब गर्दा किसानका लागि यो पनि ठूलै क्षति हो,’ निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले भने, ‘यो प्रारम्भिक विवरण हो, अब प्रदेशका पालिका र किसान समेतको यकिन तथ्यांक केही दिनमा आउँछ ।’
प्रदेशमा एक लाख ६९ हजार ३ सय १५ हेक्टर अर्थात् ५६.८२ प्रतिशत धानबाली विना क्षति थन्काइएको र एक लाख २१ हजार २ सय १५ हेक्टर अर्थात् ४०.६७ प्रतिशत धान काट्न बाँकी रहेको निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले जानकारी दिए ।
काटेर खेतमा राखेका मध्ये ७ हजार २५० हेक्टर अर्थात २.४३ प्रतिशत धानबाली भिजेको उनले बताए । प्रदेशका दाङ, बाँके, रोल्पा, प्युठान र रुकुमपूर्वमा धान बालीमा हालसम्म क्षति नभएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया 4