+
+
Shares

कांग्रेसमा नीति, नेतृत्व र नियत

इतिहासले दिएको गौरव सधैं स्थायी हुँदैन । त्यो निरन्तर आत्ममूल्यांकन, रूपान्तरण र परिवर्तनको क्षमतामाथि निर्भर गर्छ । जेनजी आन्दोलनपश्चात् आज कांग्रेसले आत्ममूल्यांकन गर्नुपर्ने समय आएको छ ।

भुवन न्यौपाने भुवन न्यौपाने
२०८२ कात्तिक २२ गते १४:१३

नेपालको हरेक आन्दोलन र परिवर्तनको संवाहक र साक्षी नेपाली कांग्रेस हो । तर, यस पटकको जेनजी विद्रोहको कारणमध्ये एक घटक सत्ताधारी नेपाली कांग्रेस पनि हो । सम्भावित तर अकल्पनीय विद्रोहपछि समीक्षामा उत्रिएका छन् कांग्रेसजन । पार्टी सभापति शेरबहादुर देउवा दम्पतीमाथि सांघातिक आक्रमण, पार्टीको केन्द्रीय कार्यालयदेखि दर्जनौं कार्यालयमा आगजनी, दर्जनौं नेताका निवासमा आगजनीको अपूरणीय क्षतिको आलो घाउ सेलाउन पाएको छैन । कांग्रेसमा चर्काचर्की शुरु भइसकेको छ ।

कांग्रेसमा नीति, नेतृत्व र नियतका सन्दर्भलाई लिएर केन्द्रीय समितिमा तात्तातो बहस शुरु भएको छ । मुख्यगरी जेनजी विद्रोहको कारण, सरकारका निर्णय र कार्यसम्पादन, सत्ताको मैमत्त, शासकीय दुस्वप्न, शान्तिपूर्ण आन्दोलनको दमन र बर्बरतापूर्वक हत्या, सरकार र सुरक्षा संयन्त्रको भूमिका, सरकारी, सार्वजनिक, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्ति माथिको आगजनी, राज्यको निरीहता, राष्ट्रपतिको भूमिका, संवैधानिक शून्यता, अन्तरिम सरकार गठन, प्रतिनिधिसभाको विघटन र निर्वाचनको घोषणा जस्ता विषय चर्चामा छन् ।

नेपाली कांग्रेस रूपान्तरणको अनुष्ठान महाधिवेशनको सम्मुखमा छ । केन्द्रीय समितिको कार्यकाल सकिनै लागेको छ । जेनजी विद्रोहपछि विकसित दबाबबाट सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् । बदलिंदो परिस्थितिलाई आकलन गरी ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर सहित विशेष महाधिवेशन माग गरेका छन् । नेपालको ठूलो लोकतान्त्रिक शक्तिको दावा गर्ने नेपाली कांग्रेस आफ्नै पार्टीको नीति, नेतृत्व फेर्न पनि विभिन्न बहानाका नियतहरू देखाउनु लज्जास्पद विषय हो ।

एकातिर, नियमित महाधिवेशनको समय पनि सम्मुखमा छ । अर्कातर्फ, विशेष महाधिवेशनको माग बढेको छ । भुईं तहका कार्यकर्ता र आममानिसको अपेक्षा चुनाव अगाडि नै कांग्रेसले समयानुकूल नीति र नेतृत्व फेरेर मात्र मत माग्न जनतासमक्ष आउनुपर्ने स्पष्ट संकेत गरेका छन् । तर, संस्थापन पक्ष चुनाव अगावै महाधिवेशन गर्ने पक्षमा देखिंदैन । यसको अर्थ कांग्रेसमा शक्ति संघर्ष शुरु भएको छ । महामन्त्रीद्वयद्वारा नियमित महाधिवेशनको कार्यतालिका ल्याउने नियमित नभए विशेष महाधिवेशन गरेर भए पनि कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने एजेण्डा प्रस्तुत गर्ने तयारी छ ।

नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, नेपालको लोकतान्त्रिक चेतनाको ऐतिहासिक संस्थापक मियो पनि हो । नेपाली कांग्रेस देशको विभिन्न इतिहाससँग गाँसिएको पार्टी हो । लोकतन्त्रको बीउ रोप्ने, स्वतन्त्रता र संवैधानिक मूल्य एवं मान्यताको पहिचान बोकेको पार्टी हो । कांग्रेसको नेतृत्वले देशमा लोकतन्त्र ल्यायो । नागरिक स्वतन्त्रताको जग बसायो । शान्ति प्रक्रिया टुंग्याएर संघीय गणतन्त्र स्थापना गर्‍यो । संवैधानिक शासन प्रणालीको बाटो देखायो ।

तर, इतिहासले दिएको गौरव सधैं स्थायी हुँदैन । त्यो निरन्तर आत्ममूल्यांकन, रूपान्तरण र परिवर्तनको क्षमतामाथि निर्भर गर्छ । जेनजी आन्दोलनपश्चात् आज कांग्रेसले आत्ममूल्यांकन गर्नुपर्ने समय आएको छ । किनभने कांग्रेस केवल अतीतको गौरव होइन, वर्तमानको जवाफदेही शक्ति पनि हो । त्यसका लागि कांग्रेसमा सर्वाधिक चर्चाका विषय नीति, नेतृत्व र नियतको पुनर्विचार अत्यावश्यक छ ।

नीतिगत आदर्श र अभ्यास

लोकतान्त्रिक समाजवाद, जनताको स्वतन्त्रता, समावेशी विकास र सुशासन जस्ता कांग्रेसका सैद्धान्तिक नीति हुन् । तर, व्यवहारमा ती सिद्धान्तहरू कमजोर छन् । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेका छैनन् । कांग्रेसको विचारधारात्मक मेरुदण्ड ‘लोकतान्त्रिक समाजवाद’ हो जुन बीपी कोइरालाले प्रतिपादन गरेका थिए । यसले समाजवादी न्याय र व्यक्तिगत स्वतन्त्रता बीच सन्तुलन खोज्छ । यो सिद्धान्त भन्छ– विकासको केन्द्र राज्य होइन, व्यक्ति र समुदाय हुन् । राज्यको भूमिका सहायक, संयोजक र न्यायिक हुनुपर्छ । तर, प्रश्न उठ्छ के आजको कांग्रेसले यो विचार व्यवहारमा उतारेको छ ?

नीति, नेतृत्व र नियतमा रूपान्तरण गर्न सके कांग्रेसले फेरि पनि नेपालको लोकतन्त्रलाई दिशा दिन सक्छ । अब उसले आफैंभित्रको सुधार निर्मम रूपमा आरम्भ गर्न सक्नुपर्छ

बीपी कोइरालाले पूँजीवाद र समाजवाद दुवैको सकारात्मक पक्षलाई आत्मसात् गरेर नेपाली समाजको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक यथार्थसँग मेल खाने विशेष समाजवादी विचार प्रस्तुत गरे । मूलत: व्यक्तिगत स्वतन्त्रता, सामाजिक न्याय, समान अवसर नै यसको आधार हो ।

बहुदलीय व्यवस्था, स्वतन्त्र प्रेस, मानवअधिकारलाई समाजवादको मेरुदण्ड मानिन्छ । सामाजिक समानता वर्गीय शोषण र असमानता अन्त्य गर्दै शिक्षा, स्वास्थ्य, रोजगार सबैलाई समान अवसर दिनुपर्नेमा जोड दिए । सामाजिक–आर्थिक न्याय, गरिबी निवारण, भूमिसुधार, श्रमिक–किसानको अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखे । तर, विभिन्न प्रभावका कारण कांग्रेसले नेपालको माटो सुहाउँदो मौलिक नीतिलाई अंगीकार गर्न सकिरहेको छैन ।

कांग्रेसले विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरे पनि नीतिनिर्माण र संस्थागत विकासमा चुकेको छ । आन्तरिक र बाह्य शक्तिको प्रभावमा बरालिंदा मुलुक मियो विनाको गन्तव्यतिर होमिएको यथार्थ हो । कांग्रेस मुख्य जिम्मेवारीबाट बरालिंदा विभिन्न समस्याको बीजारोपण भएको उदाहरणहरू पनि सत्य हो ।

नेपालमा लोकतन्त्र त आएको छ तर; समानता, पारदर्शिता र न्याय अझै अधुरो छ । बीपीको ‘गरीबमुखी आर्थिक नीति, शिक्षा–स्वास्थ्यमा पहुँच, भ्रष्टाचार विरुद्ध सशक्त लोकतन्त्र’ आज पनि उत्तिकै उपयोगी देखिन्छ । अहिले दलहरू नाममात्रका समाजवादी देखिन्छन् तर बीपीको आदर्श अझै पूरा भएको छैन । बीपीको आदर्शमुखी नीति न त कांग्रेसले अंगीकार गर्न सकेको छ न मुलुकमा अन्य दलले अभ्यास गरेका छन् ।

गणतन्त्रको घोषणा र संस्थागत विकास, शान्ति प्रक्रिया र समानताको वकालत, संविधान निर्माण र कार्यान्वयन, सुशासन र समुन्नति जस्ता नीतिगत व्यवस्थामा मात्र होइन खास कार्यान्वयनमा कांग्रेसको भूमिका कस्तो रह्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । गणतन्त्रपछि कांग्रेस सरकारको नेतृत्व र सत्ता सहकार्यको विभिन्न भूमिकामा छ । सरकार सञ्चालन, संसदीय भूमिका कस्तो रह्यो भन्ने विषयमा मिहिन छलफल र सुधारको बाटो पहिल्याउन अझै सकेन ।

सत्ता सहकार्य र गठबन्धनको संस्कृतिले कांग्रेसलाई कहाँ पुर्‍यायो, लोकतान्त्रिक मूल्यमान्यतालाई कस्तो प्रभाव पारेको छ भन्ने विषयको समीक्षा गर्न कांग्रेसजन तयार हुँदैनन् । समसामयिक र ज्वलन्त विषयमा जनताले कसरी बुझिरहेका छन् भन्ने दोहोरो संवाद गर्न कांग्रेसजनहरू जाँगर चलाउँदैनन् । पार्टीमा हितकारी नीतिहरूको गहन समीक्षा भन्दा पनि स्वार्थकेन्द्रित गतिविधि हावी देखिन्छ ।

कांग्रेस मुलुकको लोकतान्त्रिक पार्टी, ऐतिहासिक पृष्ठभूमि र ठूलो पार्टी भएको जिम्मेवारीले पार्टीको रूपान्तरण मात्र होइन कि देशको रूपान्तरणको मियो बन्नुपर्ने विषम परिस्थितिमा उभिएको छ । आम मानिसमा मुलुकमा भ्रष्टाचारको नियन्त्रण र सुशासन, सन्तुलित विकासको जनअपेक्षा चुलिएको छ । कांग्रेसको अति उदारवादी र सत्ता केन्द्रित सोचका कारण जनतामा सबै दल एउटै हुन् भन्ने भ्रम सिर्जना भएका छन् ।

सामाजिक सञ्जालको प्रभाव, कम्युनिस्टहरूसँगको प्रतिस्पर्धा, लोकप्रियतावादीहरूको लहर भूराजनीतिक चलखेलबाट राजनीतिक मूल्य–मान्यताको संरक्षण गर्न कांग्रेस जिम्मेवार हुनुपर्ने विषम घडी आएको छ । मानिसहरू गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग र उद्यमशीलता, कृषिमा विकास, विज्ञान प्रविधिको विकास, जलवायु परिवर्तन सम्बन्धी नीति, अर्थ नीति, विदेश नीति जस्ता गहन विषयमा राजनीतिक कौशलता खोजिरहेका छन् ।

सुशासन र भ्रष्टाचार विरुद्ध भाषणले मात्र हुँदैन । कांग्रेसले अब विचारलाई व्यवहारमा उतार्ने पार्टी बन्नुपर्ने बेला आएको छ । नीति किताबमा मात्र होइन, जनजीवनमा देखिनुपर्छ । हाल कांग्रेसको नीतिहरू घोषणापत्र र भाषणमा राम्रा सुनिन्छन् । नीतिगत सुधार कम छ । कार्यान्वयनमा नदेखिने परम्परा गहिरिंदै गएको छ । तर, कांग्रेसको नीतिले जनजीवनमा प्रभाव पार्न सकेन भने जनता विकल्प खोज्न बाध्य हुन्छन् । त्यसैले नीति अब केवल विचार होइन, कार्यान्वयनको नक्शा हुनुपर्छ । परिष्कृत नीति मार्फत नतिजा देखिनुपर्छ ।

अहिले कांग्रेस आफ्नै विधानको व्यवस्थालाई कुल्चिएर नियमित महाधिवेशन गर्न चाहँदैन । ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर मार्फत विशेष महाधिवेशन माग गरिरहेका बेला कार्यवाहक सभापति चलाइरहेका संस्थापन पक्षले गुटको भेला राखेर चुनाव पछाडि मात्र महाधिवेशन गर्ने निर्णय गर्छन् । कांग्रेसको ठालुवादले भुईं तहका कार्यकर्ताको आवाज सुन्न किन चाहँदैन भन्ने विषय लोकतन्त्रका लागि नै गम्भीर हो ।

आन्तरिक लोकतन्त्र केका लागि हो ? चुनाव किन गर्नु परेको हो ? समाजका आवाज सुन्छौं, समयानुकूल नीति फेर्छौं, सक्षम नेतृत्व ल्याउँछौं, जनताका काम गछौं भन्न होइन ! यज्ञपछिको अनुष्ठान के काम ? चुनावपछिको नीति र नेतृत्वको के काम ? आन्तरिक लोकतन्त्रबाट नै डराउँछ भने कांग्रेसले लोकतान्त्रिक मूल्यमान्यतालाई कसरी अगाडि बढाउँछ !

कुशल नेतृत्वको आम अपेक्षा

कांग्रेसमा नेतृत्वको प्रश्न सधैं संवेदनशील रहँदै आएको छ । तर, कांग्रेसले नेतृत्वमा कहिल्यै अभाव देखेको छैन । बीपी कोइरालाको दृष्टि, गणेशमान सिंहको इमानदारी, कृष्णप्रसाद भट्टराईको सरलता, गिरिजाप्रसाद कोइरालाको दृढता र सुशील कोइरालाको निष्ठा यी सबै उदाहरण कांग्रेसको नेतृत्वको गौरव हुन् । तर, आजको नेतृत्वमा त्यी गुणहरू क्रमश: दुर्लभ बन्दै गएका छन् ।

कांग्रेसमा अब आत्मसुधारको बाटो चाहिएको छ । नीति, नेतृत्व र नियत यी तीन शब्द केवल नारा मात्र होइनन्; कांग्रेसको भविष्यको दिशानिर्देश हो ।

वर्तमानमा नेतृत्वको मापन केवल पद वा पहुँचले हुन थालेको छ । साँचो नेतृत्व त्यो हो, जसले सुन्न सक्छ । सिक्न सक्छ । साझा दृष्टि निर्माण गर्न सक्छ । आजको युवा पुस्ता, किसान, महिला र स्थानीय स्तरका कार्यकर्ताहरूले यस्तो नेतृत्व खोजिरहेका छन् । जसले उनीहरूको आवाजलाई नीतिमा रूपान्तरण गर्न सकोस् । संवाद, सहकार्य र आत्मसमीक्षा गर्न सकोस् । मुलुकमा जनविश्वास सिर्जना गर्न सकोस् ।

नेतृत्व संकटको स्वरूप आज पार्टीभित्रको नेतृत्वमा प्रश्न पद, पहुँच र स्वार्थमा सीमित भएको छ । आन्तरिक लोकतन्त्र कमजोर पार्न खोजिंदैछ । उम्मेदवार चयन, निर्णय प्रक्रिया, सरकारमा कार्यसम्पादन र संसदीय अनुशासनमा पारदर्शिता देखिंदैन । कांग्रेसको नेतृत्व अब वंश वा वफादारीमा मात्र होइन, योग्यता र जवाफदेहितामा आधारित हुनुपर्छ । यदि पार्टीले आन्तरिक लोकतन्त्र बलियो बनायो भने नेतृत्वको पुनर्जागरण सम्भव छ । नत्र, पार्टी क्रमश: संरचनागत र मानसिक थकानको चपेटामा पर्न सक्छ ।

नयाँ पुस्तामा पनि अवसर र चुनौती दुवै छन् । नेतृत्व हस्तान्तरण केवल उमेरको प्रश्न होइन, सोचको प्रश्न हो । समयको माग हो । नयाँ पुस्ताले आधुनिक प्रविधि, विश्व दृष्टिकोण र नीति–निर्माण क्षमतामा दक्षता देखाइरहेको छ । तर, पुरानो पुस्ताले नयाँ सोचलाई विश्वास पनि नगर्ने, अवसर पनि नदिने कारण असन्तुष्टि बढ्दो छ । यदि कांग्रेसले यो ऊर्जा समेट्न सकेन भने पार्टीले समयसँग प्रतिस्पर्धा गर्न सक्दैन । नेतृत्वले अब गुट होइन, दृष्टि निर्माण गर्नुपर्ने बेला आएको छ ।

कांग्रेसमा शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुरलाई सुम्पिसकेका छन् । अब फेरि शक्ति संघर्षमा आउनु व्यक्तिगत प्रतिष्ठाको क्षयीकरण मात्र हो । कार्यवाहक सभापतिले चुनाव अगावै नियमित महाधिवेशन गराउनुपर्छ । नियमित महाधिवेशन गर्न सकिंदैन भने विशेष परिस्थितिमा विशेष महाधिवेशनको मागलाई अगाडि बढाएर जनताको आवाज सुन्ने माध्यम बन्नुपर्छ । अनावश्यक महत्वाकांक्षा राखे पार्टी जोगिन सक्दैन ।

आम मानिसले अबको कांग्रेस नेतृत्वमा एजेण्डा, ऊर्जा र जनविश्वास खोजेका छन् । सात भाइ हुन् कि सभापतिका प्रतिस्पर्धी शेखर हुन् कि संस्थापनका सजिला पूर्णबहादुर अब यो पुस्तामाथि जनविश्वास छैन । कांग्रेसमा साँच्चिकै पुन: जनविश्वासको लहर ल्याउने हो भने लोभीपापी मानसिकता छोडेर युवा पुस्ताले अपेक्षा गरेको गगन, विश्व, प्रदीप, गुरुराजको पुस्ताले निर्णायक हस्तक्षेप वाहेकको विकल्प छैन ।

नियतले धमिल्याएको कांग्रेस

राजनीतिक नियत भनेको पार्टीको आन्तरिक नैतिकता हो । राजनीति सत्ता प्राप्तिको साधन मात्र होइन, प्रणाली सुधारको माध्यम हो । संस्थागत विकासको संकल्प हो । जनसेवाको मार्ग हो । नीति र नेतृत्व बलियो भए पनि नियत कमजोर भयो भने पार्टीले जनताको विश्वास जित्न सक्दैन ।

कांग्रेसको नियत सधैं राष्ट्रियता, लोकतन्त्र र जनसेवाको निष्ठामा आधारित रहनुपर्छ । तर, पछिल्ला वर्षहरूमा कांग्रेसको नियतमाथि अनेक प्रश्न उठेका छन् । सत्ता स्वार्थ, गुटगत प्रतिस्पर्धा, व्यक्तिगत लाभ र अवसरवादले कांग्रेसको नैतिक पहिचान धमिलो बनाएको छ । पार्टीले पुन: जनविश्वास आर्जन गर्न चाहन्छ भने यो नियतमै स्पष्टता ल्याउनुपर्छ ।

सुशासन, समृद्धि, सदाचारी र समानताका आदर्श कुरा गर्ने तर व्यवहारमा लागू नगर्ने प्रवृत्ति बढ्दो छ । कांग्रेसको नियतमाथि उठेका गम्भीर प्रश्नहरूमा जवाफदेहिताको खाँचो छ । कांग्रेसले यदि आफ्नो नियतलाई जनताको विश्वास पुनर्निर्माणतर्फ मोड्न सक्यो भने त्यो केवल पार्टीको पुनर्जागरण मात्र होइन लोकतन्त्रकै पुनर्जागरण हुनेछ । लोकतन्त्र मार्फत देशको समृद्धिमा मार्गचित्रको मियो बन्न सक्छ । राजनीति पदका लागि होइन, परिवर्तनका लागि हो । कांग्रेस सत्ताको लागि मात्र होइन, सेवाको लागि हो भन्ने फेरि एकपटक जनताको मनमा त्यो भावना जगाउन सक्छ ।

बदलिंदो परिस्थिति र अवसरमा नियत सफा राख्छौं कि उस्तै परम्परागत जस्तै हुन्छौं । अब अग्रगमन कि पश्चगमन कांग्रेसजनमा निर्भर रहन्छ । अझै पनि, संकुचित सोच राखेर महाधिवेशन पनि गरिन्न, चुनाव मैले भने जस्तै हुनुपर्छ, मेरा मान्छेले मात्र टिकट र अवसर पाउनुपर्छ, जनताको आवाज सुन्नुपर्दैन, संख्यामा हामी शक्तिशाली छौं भन्ने भ्रम राखियो भने क्षति स्वाभाविक छ । बीपी, किसुनजी र गणेशमानका आदर्श भजाउने, समाजको मागलाई बेवास्ता गरेर आफैं सर्वेसर्वा हुने हो भने परिणाम के हुन्छ ? सबैलाई थाहा छ ।

कांग्रेसमा अबको बाटो

कांग्रेसमा अब आत्मसुधारको बाटो चाहिएको छ । नीति, नेतृत्व र नियत यी तीन शब्द केवल नारा मात्र होइनन्; कांग्रेसको भविष्यको दिशानिर्देश हो । यदि कांग्रेसले नीतिमा स्पष्टता, नेतृत्वमा नवप्रवर्तन र नियतमा शुद्धता ल्याउन सक्यो भने देशमा आशाको पुनर्जागरण हुनेछ । नीति र नेतृत्व बलियो भए पनि नियत कमजोर भयो भने सबै प्रयास अर्थहीन हुन्छ । कांग्रेसले नीति, नेतृत्व र नियत मार्फत फेरि स्पष्ट सन्देश दिनुपर्छ ।

वास्तवमा अहिले कांग्रेसको अनुहारमा हिलोले पोतिएको छ । नेतृत्वमा पारदर्शिता र जवाफदेहिता ल्याउन कांग्रेसले केही ठोस सुधार गर्न आवश्यक छ । उम्मेदवार छनोटमा आन्तरिक प्राथमिक निर्वाचन लागू गर्ने, नीतिगत छलफलमा तल्लो तहका प्रतिनिधिलाई प्रत्यक्ष सहभागी गराउने, कार्यभार र नेतृत्वको कार्यकाल तोक्ने स्पष्ट नीति लिनुपर्दछ । कांग्रेसलाई धनवाद र डनवादबाट मुक्त गरी प्रशिक्षण र विचारमुखी पार्टी बनाउन सके कांग्रेस फेरि चुनावमा जनतासमक्ष लोकप्रिय बन्न सक्छ ।

कांग्रेसको आत्मा पुनर्जागृत गर्न यही नै मुख्य शर्त हो । आत्मसुधार नै पुनर्जागरणको बाटो हो । पारदर्शी निर्णय प्रक्रिया, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति, आचरण र आस्थामा इमानदारी, विचारमा स्पष्ट, संगठनमा अनुशासित, नेतृत्वमा उत्तरदायी, नियतमा राजनीति संस्कृतिको खाँचो छ । यस कारण पनि राजनीति, समाज र संवैधानिक अभ्यासलाई लयमा ल्याउन कांग्रेसभित्रको रूपान्तरण अपरिहार्य छ ।

निष्कर्ष

कांग्रेसको इतिहास गौरवशाली छ । तर, भविष्य त्यसले मात्र निर्धारण गर्दैन । अबको कांग्रेसले आफूलाई पुन: परिभाषित गर्नुपर्छ । त्यो सम्भव छ यदि पार्टीले बीपीको त्यो दृष्टि सम्झियो भने– ‘राजनीति सेवा हो, प्रतिस्पर्धा होइन । विश्वास हो, व्यापार होइन ।’

नीति, नेतृत्व र नियतमा रूपान्तरण गर्न सके कांग्रेसले फेरि पनि नेपालको लोकतन्त्रलाई दिशा दिन सक्छ । अब उसले आफैंभित्रको सुधार निर्मम रूपमा आरम्भ गर्न सक्नुपर्छ । अन्तत: कांग्रेसको साँचो शक्ति न नारामा छ, न इतिहासमा । त्यो नियतमा छ, जसले जनताको विश्वास जित्न सुधारको प्रयत्न गर्नै पर्छ । जुन केन्द्रीय समितिमा छलफलबाट निस्कने निर्णयको पर्खाइमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?