+
+
Shares

सन् २०३४ पछि दाँतको फिलिङमा पारोको प्रयोग गर्न नपाइने

१७५ वर्षभन्दा बढी समयदेखि दाँतको फिलिङमा प्रयोग हुँदै आएको ‘डेन्टल अमलगम’ अझै पनि विश्वका धेरै भागमा प्रयोगमा छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा दाँतको फिलिङमा प्रयोग हुने पारोमा आधारित 'डेन्टल अमलगम' लाई २०३४ सम्ममा पूर्ण रूपमा हटाउने निर्णय गरिएको छ।
  • मिनामाटा महासन्धि अन्तर्गत सदस्य राष्ट्रहरूले पारो प्रदूषण न्यूनीकरणका लागि २१ नयाँ निर्णयहरू गरि स्वास्थ्य र वातावरण संरक्षण गर्ने सहमति जनाएका छन्।
  • अमेरिकाका स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले दाँतको फिलिङमा पारोको प्रयोग अस्वीकार्य भएको भन्दै सुरक्षित विकल्पहरू उपलब्ध भएको बताए।

२२ कात्तिक, काठमाडौं । शुक्रबार जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा दाँतको फिलिङका लागि प्रयोग हुने पारोमा आधारित ‘डेन्टल अमलगम’ लाई २०३४ सम्ममा पूर्ण रूपमा हटाउने निर्णय गरिएको छ। यसलाई सदस्य राष्ट्रहरूले ‘पारो प्रदूषण न्यूनीकरणको दिशामा एक ऐतिहासिक कोसेढुङ्गा’ बताएका छन्।

यो निर्णय ‘मिनामाटा महासन्धि (मिनामाटा कन्भेन्सन अन मर्करी)’ का सदस्य राष्ट्रहरूले लिएका हुन् । यो सन्धि मानव स्वास्थ्य र वातावरणलाई पाराको खतरनाक प्रभावबाट बचाउनका लागि सन् २०१३ मा गरिएको थियो र सन् २०१७ देखि लागू भएको थियो।

पारो: १० सबैभन्दा खतरनाक रसायनमध्ये

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लोपारालाई मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिने दश प्रमुख रसायनमा समावेश गरेको छ। डब्ल्यूएचओका अनुसार, पारो शरीरका लागि विषाक्त हुन्छ र यसले स्नायु प्रणाली, मृगौला तथा श्वासप्रश्वास प्रणालीलाई गम्भीर क्षति पुर्‍याउन सक्छ।

यद्यपि, धेरै देशहरूले पहिले नै पारोको प्रयोगमाथि रोक लगाइसकेका छन्, १७५ वर्षभन्दा बढी समयदेखि दाँतको फिलिङमा प्रयोग हुँदै आएको ‘डेन्टल अमलगम’ अझै पनि विश्वका धेरै भागमा प्रयोगमा छ।

सम्मेलनपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘यो वैज्ञानिक आधारमा तय गरिएको समयबद्ध सहमति हो, जसले दन्त चिकित्सामा पारोको प्रयोगलाई पूर्ण रूपमा समाप्त गर्ने र सबै समुदायका लागि सुरक्षित भविष्यको दिशामा निर्णायक कदम चालेको छ।’

२०३० को समयसीमामा विवाद

सन्धिको दायराअन्तर्गत सदस्य राष्ट्रहरूले पारोको प्रयोगलाई बिस्तारै अन्त्य गर्न उपायहरू अपनाउनु पर्ने थियो। तर, यसपटक अफ्रिकी देशहरूको समूहले निश्चित समयसीमाको माग गरेको थियो। यसअन्तर्गत सन् २०३० सम्ममा यसको उत्पादन, आयात र निर्यातमाथि रोक लगाउने माग राखिएको थियो।

सम्मेलनको सुरुवातमा अमेरिकाका स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले प्रश्न उठाएका थिए, ‘जब ब्याट्री, औषधि र कस्मेटिक्समा पारो खतरनाक मानिन्छ, तब दाँतको फिलिङमा यो कसरी स्वीकार्य हुन सक्छ?’

उनले सुरक्षित विकल्पहरू उपलब्ध हुँदाहुँदै पनि सरकारहरूले स्वास्थ्य क्षेत्रमा पाराका यौगिकहरूलाई अनुमति दिनु अस्वीकार्य रहेको बताए।

इरान, भारत र बेलायतले सन् २०३० को समयसीमाको विरोध गरे। उनीहरूले यो कदम हतार हुने बताएका थिए। तर, लामो छलफलपछि सबै देशहरूबीच सन् २०३४ सम्ममा चरणबद्ध रूपमा यसको प्रयोग अन्त्य गर्ने सहमति बन्यो।

मिनामाटा महासन्धिकी कार्यकारी सचिव मोनिका स्टाकिविचले भनिन्, ‘हामीले पाराको इतिहासमा एक नयाँ अध्याय खोलेका छौँ। पारो प्रदूषण मानवताका लागि अभिशाप रहँदै आएको छ, तर आपसी समझदारी र सहयोगले हामी वास्तविक परिवर्तन ल्याउन सक्छौँ।’

कस्मेटिक्स, खानी र उद्योगमा पनि असर

सम्मेलनका दौरान कुल २१ नयाँ निर्णयहरू गरिए, जसको उद्देश्य मानव स्वास्थ्य र वातावरणलाई पारो प्रदूषणबाट बचाउनु हो। सदस्य राष्ट्रहरूले पारोयुक्त स्किन-लाइटनिङ कस्मेटिक्सलाई हटाउने प्रयास तीव्र पार्ने सहमति जनाएका छन्।

यसबाहेक, साना स्तरमा गरिने सुन उत्खननमा पारोको प्रयोग घटाउने र पीभीसी प्लास्टिक निर्माणमा पारो-मुक्त उत्प्रेरकको आवश्यकतामाथि पनि छलफल भयो।

के हो मिनामाटा महासन्धि?

‘मिनामाटा महासन्धि अन मर्करी’ को नाम जापानको मिनामाटा सहरबाट लिइएको हो, जहाँ सन् १९५० को दशकमा पारोबाट भएको विषालु प्रदूषण त्रासदीले सयौँ मानिसको ज्यान लिएको थियो।

(समाचार संस्था एएफपी/एपीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?