+

दाँत सेतो बनाउने भन्दै टिकटकमा देखाइने उत्पादनले हानि गर्न सक्छ (भिडियो)

२०८२ जेठ  २८ गते १०:३६ २०८२ जेठ २८ गते १०:३६

टिकटक वा अन्य प्ल्याटफर्ममा देखाइने विधिहरूले दाँतमा हानिकारक असर पनि गर्न सक्छन् । हानिकारक तत्वले दाँतको इनामेल खिइँदा कालान्तरमा दाँत झन् पहेँलो बनाउन सक्छ ।

दाँत सेतो बनाउने भन्दै टिकटकमा देखाइने उत्पादनले हानि गर्न सक्छ  (भिडियो)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुखको सरसफाइमा ध्यान नदिँदा मुख गन्हाउने, गिजाबाट रगत बग्ने जस्ता समस्या देखा पर्छन्।
  • मुख गन्हाउने कारणहरूमा खराब मौखिक स्वच्छता, पेट र पाचन प्रणालीका समस्या र औषधिको असर रहेका छन् ।
  • दाँत पहेँलो र सेतो हुने कारणहरूमा खानपान, जन्मजात र फ्लोरोसिस जस्ता अवस्थाहरू छन् र उपचारमा स्केलिङ र ब्लिचिङ प्रयोग हुन्छ।

मुखको सरसफाइ (ओरल हाइजिन) मा ध्यान नदिँदा मुख गन्हाउने, गिजाबाट रगत बग्ने, दाँत पहेँलो हुने, दाँत हल्लिने, दाँत फुस्किने वा दाँत मक्किने जस्ता समस्याहरू देखा पर्छन् । यस्ता समस्याहरू र तिनको समाधानका उपायबारे गिजा तथा दाँत रोग विशेषज्ञ डा. नियुक्ति अर्जेलसँग अनलाइनखबरका लागि सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :

मुख गन्हाउने समस्या किन हुन्छ ?

मुख गन्हाउने समस्या मुख्यतया खराब मौखिक स्वच्छताका कारण हुन्छ । सही तरिकाले दाँत नमाझ्ने, जिब्रो सफा नगर्ने वा डेन्टल फ्लस प्रयोग नगर्दा खानाका कणहरू मुखमा रहन्छन्, जसले ब्याक्टेरियाको वृद्धि भई दुर्गन्ध उत्पन्न गर्छ ।

मुख सुख्खा हुँदा पनि दुर्गन्धको समस्या हुन्छ । र्‍यालको कमीले मुख सुख्खा भएमा ब्याक्टेरिया बढ्छन्, जसले गन्ध निम्त्याउँछ । दाँतमा कीरा लाग्ने वा प्वाल पर्नाले, दाँतको बीचमा खाना अड्किएर वा ग्यास्ट्रिक रिफ्लक्स, आन्द्राको समस्या वा पेटमा ब्याक्टेरियल संक्रमणजस्ता पाचन प्रणालीका समस्याले पनि मुख गन्हाउँछ । मधुमेहका बिरामीमा सुगर अनियन्त्रित हुँदा उत्पन्न हुने ‘किटोएसिडोसिस’ले पनि मुखमा गन्ध आउन सक्छ ।

साइनस, टन्सिल वा श्वासप्रश्वाससम्बन्धी समस्याले पनि मुखबाट दुर्गन्ध आउँछ । मिर्गौलाले विषाक्त पदार्थहरू फिल्टर गर्न नसक्दा पनि गन्ध उत्पन्न हुन सक्छ। साथै, केही औषधिले मुख सुख्खा बनाएर दुर्गन्ध निम्त्याउँछन् ।

गिजाबाट रगत बग्नु पनि मुख गन्हाउने अर्को कारण हो । गिजा सुन्निएर रगत बग्छ भने त्यसले पनि मुखमा गन्ध उत्पन्न गर्छ ।

मुख गन्हाउने समस्याबाट कसरी छुटकारा पाउने ?

मुख गन्हाउने समस्याबाट बच्न धेरैले माउथवास, माउथ फ्रेसनर, वा चुइंगम प्रयोग गर्छन्, तर यी केवल अस्थायी उपाय हुन् । यो समस्याको समाधानका लागि पहिले दुर्गन्धको कारण पत्ता लगाउनुपर्छ ।

मुखको दुर्गन्ध हटाउन मौखिक स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । दिनमा दुईपटक बिहान र साँझ फ्लोराइडयुक्त टुथपेस्टले दाँत माझ्नुपर्छ । जिब्रोको पछिल्लो भाग टुथब्रस वा जिब्रो क्लिनरले सफा गर्नुपर्छ । दाँतको बीचमा अड्किएको खाना हटाउन डेन्टल फ्लस प्रयोग गर्नुपर्छ । प्रत्येकपटक खाना खाएपछि मुख राम्ररी कुल्ला गर्नुपर्छ । सुर्तीजन्य पदार्थको प्रयोग त्याग्नुपर्छ ।

यदि गिजाको रोग, दाँतमा, वा अन्य समस्या छ भने दन्त चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । मौखिक स्वच्छतामा ध्यान दिँदा पनि मुख गन्हाइरहेमा अन्य स्वास्थ्य समस्याहरू (जस्तै साइनस, मधुमेह, वा पाचन प्रणालीको समस्या) पत्ता लगाएर उपचार गर्नुपर्छ ।

कसैको दाँत पहेँलो र कसैको सेतो किन हुन्छ ?

जसरी हाम्रो छालाको रङ फरक–फरक हुन्छ, त्यसैगरी दाँत र गिजाको रङमा पनि सामान्य भिन्नता हुन्छ । कतिपय अवस्थामा, जस्तै एमिलोजेनेसिस इम्परफेक्टा वा फ्लोरोसिसका कारण दाँत जन्मजात पहेँलो हुन सक्छ ।

दाँतको बाहिरी तह इनामेल पातलो भएमा पनि दाँत पहेँलो देखिन्छ । फ्लोरोसिस भनेको सानो उमेरमा फ्लोराइडको अत्यधिक प्रयोगले दाँतमा टाटेपाटे, सेतो वा पहेँलो दाग देखिनु हो । खानपानले पनि दाँतको रङमा प्रभाव पार्छ । दाँतको घर्षणको स्तर र उमेर बढ्दै जाँदा इनामेल खिइँदा पनि दाँत पहेँलो देखिन्छ ।

कस्तो खानपानले दाँत पहेँलो बनाउँछ ?

खानपानका कारण दाँत पहेँलो हुने समस्या दुई प्रकारका हुन्छन् बाहिरी दाग र भित्री दाग । बाहिरी दाग चिया, कफी, बेसार, रेड वाइन, धूम्रपान, गुट्खा वा पान खाँदा लाग्छ । यस्ता दाग स्केलिङ र नियमित मुखको हेरचाहले हटाउन सकिन्छ । तर, दाँतको भित्री भागमा पहेँलोपना बढेको छ भने प्रोफेसनल डेन्टल ह्वाइटनिङ आवश्यक पर्छ ।

गुट्खा, सुपारी वा सुर्तीजन्य पदार्थले दाँतमा कालो दाग र फोहोर जम्मा हुन्छ । यस्ता खानेकुराले दाँतमा साना–साना चिरा पनि बनाउन सक्छ । गुट्खा, सुपारी वा छुर्पी खाने व्यक्तिहरूमा यस्ता चिरामा खानेकुरा अड्किएर निकाल्न गाह्रो हुन्छ । कतिपय अवस्थामा दाँतलाई ट्रिम नगरी यस्ता अड्किएका कुरा निकाल्न सकिँदैन ।

बजारमा पाइने दाँत सेतो बनाउने उत्पादनले साँच्चै दाँत सेतो बनाउँछ ?

अनलाइन र सामाजिक सञ्जालमा देखिने ह्वाइटनिङ ट्रेन्डहरू सबै विश्वसनीय हुँदैनन् । टिकटक वा अन्य प्ल्याटफर्ममा देखाइने विधिहरूले दाँतमा हानिकारक असर पनि गर्न सक्छन् । कतिपय ह्वाइटनिङ टुथपेस्टमा रहेका हानिकारक तत्वले दाँतको इनामेल खिइँदा कालान्तरमा दाँत झन् पहेँलो बनाउन सक्छ । त्यसैले, चिकित्सकको सल्लाहबिना बजारमा पाइने यस्ता उत्पादनहरू प्रयोग गर्नु हुँदैन ।

दाँत सेतो, चम्किलो र उज्यालो बनाउन सम्भव छ तर त्यसका लागि चिकित्सकको सल्लाहमा सुरक्षित विधि अपनाउनुपर्छ । बाहिरी फोहोर र दाग हटाउन स्केलिङ र पोलिसिङ गर्न सकिन्छ । दाँतलाई थप उज्यालो बनाउन ‘एट अफिस डेन्टल ब्लिचिङ’ वा ‘एट होम डेन्टल ब्लिचिङ’ गर्न सकिन्छ ।

एट अफिस डेन्टल ब्लिचिङ प्रक्रियामा चिकित्सकले डेन्टल चेयरमा राखेर विशेष केमिकल प्रयोग गरी दाँत सेतो बनाउँछन् । यो विधि सुरक्षित र आरामदायी हुन्छ, जसले गिजालाई हानि गर्दैन ।

एट होम डेन्टल ब्लिचिङमा चिकित्सकले घरमा प्रयोग गर्न मिल्ने ब्लिचिङ उत्पादनहरू उपलब्ध गराउँछन्, जुन सही तरिकाले प्रयोग गर्न सकिन्छ ।

दाँतमा अड्कने वा कडा खानेकुरा खाँदा के हुन्छ ?

नेपाली सँस्कृतिमा सुपारी, छुर्पी, र पुष्टकारी जस्ता कडा खानेकुराहरू सामान्य रूपमा खाइन्छ र उपहारका रूपमा पनि दिइन्छ । तर, यस्ता खानेकुराले दाँत र मुखको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । सुपारी, छुर्पी, वा पुष्टकारी चपाउँदा दाँतमा साना चिरा (क्र्याक) पैदा हुन्छन् । बारम्बार यस्ता कडा चिज खाँदा दाँत कमजोर हुन्छन्, जसले नरम खानेकुरा खाँदा पनि दाँत भाँचिने जोखिम बढ्छ ।

यदि दाँतमा फिलिङ, क्राउन वा अन्य उपचार गरिएको छ भने यस्ता कडा खानेकुराले तिनलाई फुटाउने वा बिगार्ने सम्भावना हुन्छ । यस्ता खानेकुरा दाँतमा अड्किएर किटाणु जम्मा भई दाँतमा कीरा लाग्ने वा गिजाको समस्या निम्त्याउँछ ।

सुपारीमा हुने केमिकल र सुर्तीजन्य पदार्थसँग मिसाएर खाँदा मुखको क्यान्सरको जोखिम बढ्छ, जुन अध्ययनहरूले पनि पुष्टि गरेका छन् । त्यसैले, यस्ता कडा खानेकुरा खाँदा विशेष सावधानी अपनाउनुपर्छ ।

पुष्टकारीलाई टोकेर खानुको सट्टा मुखमा राखेर चुसेर पगाल्न सकिन्छ र स्वाद लिएपछि थुक्नु उपयुक्त हुन्छ । बजारमा नरम खालका छुर्पी पनि उपलब्ध छन्, जसले दाँतमा कम असर गर्छ । यस्ता खानेकुरा खाएपछि मुख कुल्ला गर्ने र राति सुत्नुअघि दाँत माझ्ने बानीले समस्याबाट बच्न सकिन्छ । सुपारी र गुट्खा जस्ता सुर्तीजन्य पदार्थको प्रयोग पूर्णरूपमा बन्द गर्नुपर्छ ।

रातमा दाँत दुखेमा तत्काल के गर्ने ?

रातको समयमा अचानक दाँत धेरै दुखेमा सुरक्षित पेनकिलर खान सकिन्छ तर खाली पेटमा पेनकिलर खानु हुँदैन । तातो पानीले कुल्ला गर्नुहुँदैन, किनभने जराको संक्रमणमा तातोले दुखाइ बढाउन सक्छ । तकियालाई अलिकति ठाडो राखेर सुत्दा रक्तसञ्चारको दबाब कम हुन्छ, जसले दुखाइ घटाउन मद्दत गर्छ । ल्वाङको तेलले तत्काल दुखाइ कम गर्न सक्छ, तर यो स्थायी समाधान होइन र धेरै प्रयोगले गिजा पोल्न सक्छ ।

गिजा सुन्निएको वा हल्का समस्यामा नुनपानीले राहत दिन सक्छ, तर जराको संक्रमणमा तातो नुनपानीले दुखाइ बढाउन सक्छ । त्यसैले, चिकित्सकको सल्लाहबिना तातोपानी प्रयोग गर्नु हुँदैन । यी सबै अस्थायी उपाय मात्र हुन् । स्थायी समाधानका लागि दन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

दाँतमा कीरा लाग्नै नदिन के गर्ने ?

चकलेट, चिप्स, बिस्कुट जस्ता प्याकेटका खानेकुरा कम खानुपर्छ किनभने यिनले पोषण दिँदैनन् र दाँतलाई हानि गर्छ । मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । दिनमा दुईपटक बिहान र साँझ दाँत माझ्ने, डेन्टल फ्लस प्रयोग गर्ने, जिब्रो सफा गर्ने र प्रत्येक ६ महिनामा दन्त चिकित्सककहाँ जाँच गराएर स्केलिङ गर्नुपर्छ ।

बच्चाको दाँतमा कीरा लागेमा निकाल्नुपर्छ कि पर्दैन  ?

धेरै अभिभावकहरू बच्चाको दाँत फेरिन्छ भन्ने सोचेर दाँतमा कीरा लाग्दा उपचार गर्दैनन् । तर, बच्चाको दाँतमा कीरा लागेमा तत्काल उपचार गर्नु अत्यावश्यक हुन्छ ।

कीराले दुखाइ र असुविधा निम्त्याउँछ, जसले बच्चालाई खान, सुत्न र स्कूल जानमा समस्या हुन्छ । कहिलेकाहीँ गिजा सुन्निने वा बाहिर देखिने गरी फुल्ने पनि हुन सक्छ ।

कीराले दाँतको संरचना नष्ट गर्दा जरासम्म संक्रमण (पल्पाइटिस) हुन सक्छ, जुन गम्भीर हुन सक्छ ।

दूधे दाँत झर्छ भन्दै बेवास्ता गर्ने गरिन्छ नि ?

दूधे दाँत समयअगावै झरेमा वा उखालिएमा छेउका दाँत सरेर स्थायी दाँतका लागि ठाउँ कम हुन सक्छ । यसले स्थायी दाँत बाङ्गोटिङ्गो वा खप्टिने समस्या निम्त्याउँछ, जसले पछि अर्थोडन्टिक उपचार आवश्यक पर्न सक्छ । दुखाइ र असुविधाले बच्चाको दैनिक जीवनमा कठिनाइ हुन्छ, जस्तै खान नसक्ने, रुने, वा स्कूल जान नसक्ने हुन्छ ।

उपचार के गर्ने ?

यदि कीराको समस्या सुरुको अवस्थामा छ र सानो छ भने फिलिङ गरेर दाँत जोगाउन सकिन्छ । यो प्रक्रिया सजिलो र प्रभावकारी हुन्छ । यदि कीराले जरासम्म असर गरेको छ भने पल्पोटमी वा पल्पेक्टोमी बच्चाको दाँतमा गरिने रुट क्यानाल ट्रीटमेन्ट गरिन्छ ।

यसमा संक्रमण हटाएर औषधि राखिन्छ र आवश्यक परेमा क्राउन राखेर दाँतको आयु बढाइन्छ । यदि दाँत उखेल्नुपरेमा, स्थायी दाँतका लागि ठाउँ जोगाउन स्पेस मेन्टेनर प्रयोग गरिन्छ ।

 

दन्त उपचार दाँत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय